Comments Add Comment

क्रिकेट संघ विवाद: सल्लाहकार समितिको संयोजक तोकियो, असारभित्र नयाँ चुनाव गर्ने लक्ष्य

basanta-chaudhari-and-binayaraj-pande

३० कात्तिक, काठमाडौं । आगामी असार दोस्रो साताभित्र नेपाल क्रिकेट संघको नयाँ नेतृत्व चयन गरिसक्ने लक्ष्यका साथ सल्लाहकार समितिले काम सुरु गर्ने भएको छ ।

सल्लाहकार समितिमा रहेका नेपाली पक्षको असन्तुष्टिलाई अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सम्बोधन गरेको छ र, समितिका सदस्यहरु अब काम गर्न सहमत भएका छन् ।

कार्यविधि स्वीकार्य नभएको भन्दै नेपालले आपत्ति जनाएपछि आईसीसीले नेपालमा प्रतिनिधि पठाएको थियो । र, आईसीसी प्रतिनिधि इमरान ख्वाजा र अमेर शेखको उपस्थितिमा मंगलबार सल्लाहकार समितिको बैठक बसेर संयोजक समेत चयन गरेको छ ।

सल्लाहकार समितिको संयोजकमा वसन्त चौधरी र विनयराज पाण्डे तोकिएका छन् भने पवन अग्रवाल सदस्य सचिव छन् । उद्योगपति चौधरीलाई कानुनी र सरकारी निकायसँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ भने क्रिकेट संघका पूर्व अध्यक्ष पाण्डेले विधान र क्रिकेट संरचना विकासबारे योजना बनाउने जिम्मेवारी पाएका छन् ।

साथै सदस्य सचिव अग्रवाललाई बैठक आहृवान गर्ने अधिकार समेत दिइएको छ । अब आईसीसीका प्रतिनिधि शेखको अनुपस्थितिमा पनि सल्लाहकार समितिको बैठक बस्न सक्नेछ ।

सल्लाहकार समितिले क्रिकेट गतिविधि गर्न नपाउने

बैठकमा आईसीसी प्रतिनिधिले नेपाली पक्षले उठाएका असन्तुष्टि सम्बोधनको प्रयास गरेका छन् ।

आईसीसीले दिएको कार्यविधिमा सदस्यहरुलाई कुनै पनि बेला हटाउन सक्ने प्रावधानमा नेपालको आपत्ति थियो । आईसीसीले यसलाई संशोधन गर्न सकिने बताएको छ ।

बैठकमा नेपाली पक्षले नेपाली क्रिकेटका गतिविधि सल्लाहकार समितिबाटै गर्न माग गरेको छ । तर, आईसीसीले यसलाई अस्वीकार गरेको छ । नेपाल अझै निलम्बनमा रहेकाले नियमित गतिविधि गर्न दिन नसकिने आईसीसीका प्रतिनिधिहरुले बताएका छन् । उनीहरुले विधान बनाएर छिटो चुनावमा जान सुझावका दिएका छन् ।

सल्लाहकार समितिका सदस्य दीपक कोइरालाका अनुसार जुन २७ अर्थात आगामी असार १३ भित्र निर्वाचन गरी सक्न आईसीसीले भनेको छ । उनले भनेका छन्, ‘आईसीसीको अबको मिटिङमा नेपालको प्रतिनिधित्व हुने गरी काम गर्नुस् भन्नु भएको छ ।’

क्रिकेट संघलाई निलम्बन गरेपछि नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्ने क्रममा आईसीसी आफैंले व्यवस्थापन गर्दै आएको छ । व्यवस्थापनका लागि भने स्थानीय प्रतिनिधिका रुपमा क्रिकेट संघका पूर्व सीईओ भावना घिमिरे तोकिएकी छन् ।

बोर्ड कि संघ आफैं निर्णय गर्नुस्

नेपाल सरकारले अब क्रिकेट संघलाई बोर्डका रुपमा अघि बढाउन चाहेको छ र आईसीसीका सीईओ नेपाल आएको बेलामा बोर्ड गठन गर्ने समझदारी समेत भएको थियो ।

तर, सल्लाहकार समितिका सदस्यहरुलाई दिएको कार्यविधिमा भने यसबारे केही उल्लेख गरिएको छैन ।

मंगलबारको बैठकमा यसबारे पनि कुराकानी भएको छ । आईसीसीले खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् लगायतसँग सन्वयन गरेर आफैं निर्णय गर्न सल्लाहकार समितिलाई भनेको सदस्य कोइरालाले बताए । उनका अनुसार नयाँ चुनाव गराउँदा मतदाता को हुने, प्रदेश तथा जिल्ला संगठन बस्ने हुने भन्नेबारे पनि प्रारम्भीक छलफल भएको छ ।

यसबारे सल्लाहकार समितिको आगामी बैठकबाट निरन्तर छलफल हुने सदस्य कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment