Comments Add Comment

रातो किताबमा हुलाकीमार्ग मेटेर गोर्खा प्लटिङ !

पराजित सांसदले विजयी सांसदलाई झुक्याए

red-book

६ मंसिर, मोरङ । नेपाल सरकारले रातोकितावमा उल्लेख गरेको विकास आयोजना र व्यवस्थापिका संसदले पारित गरेको बजेटमा कुनै व्यक्तिले हेराफेरी गर्न सक्छ ? यसको सहज उत्तर छ- सक्दैन ।

तर, हेर्नुहोस् एउटा रोचक उदाहरण-

नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले ‘संविधानसभाको उम्मेदवार’ का हैसियतमा (यो कुनै पद होइन) मोरङको कोशी हरैंचा नगरपालिका र सुन्दरदुलारी नगरपालिकामा दुईवटा निवेदन दिए । ती दुबै निवेदनमा रातो कितावमा परेका ११ वटा योजनाहरु संशोधनका लागि माग गरियो ।

दुबै नगरपालिकाले विधिवत पारित गरेर केन्द्रमा दर्ता भइसकेका सडक आयोजनाहरु रायमाझीको व्यक्तिगत चाहना र स्वार्थअनुसार ‘डाइभर्ट’ गर्नका लागि जिविस मोरङलाई पत्राचार गरे ।

स्थानीय तहबाटै विकास आयोजनाहरुको छनौट गर्ने एउटा निश्चित विधि, प्रक्रिया र समय निर्धारण गरिएको भएता पनि यो समायावधि सकिएपछि कात्तिक महिनामा यस्तो खेल खेलियो ।

नगरपालिकाका कर्मचारीबाट एकजना नेताको व्यक्तिगत प्रभावमा परेर ‘चोरबाटो’बाट सिफारिस मोरङ जिविसमा पठाइयो ।

हेर्नुहोस् नगरपालिकाको सिफारिस

municipality-letter

त्यसरी नगरपालिकाबाट ‘संविधानसभाका उम्मेदवार’ले सिफारिस बनाएर ल्याएको भोलिपल्टै मोरङ जिल्ला विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई पत्र लेखेर ९ वटा स्थानीय सडक आयोजनाहरु संशोधन गर्न सिफारिस गर्‍यो ।

जिविसको यो सिफारिसमा रातो कितावमा परेको हुलाकी सडक जोड्ने आयोजनालाई फेरेर गछिया सुन्दरदुलारी ८ को ‘गोरखा प्लटिङ’ तिर बाटो बनाउन भनिएको छ ।

रातो कितावमा गछिया बजार दक्षिण हुँदै मृगौलिया बजारसम्मको हरैंचा सडक उल्लेख छ, जुन हुलाकी सडक हो । तर, गोर्खा प्लटिङ भनेको केही जग्गा व्यवसायीहरुको स्वार्थसँग जोडिएको स्थल हो ।

त्यसैगरी सुन्दरदुलारीबाट केराबारीको डाँगीस्थित दाहाल चोक जाने सडकलाई पनि सुन्दरदुलारी ११ तर्फ मोड्न जिविस मोरङले मन्त्रालयमा सिफारिस गरेको छ ।

हेर्नुहोस् राजमाझीको निवेदनका आधारमा मोरङ जिविसले लेखेको पत्र

ddc-morang-letter
मन्त्रालयमा कांग्रेसको ‘लाइन’

स्रोतका अनुसार नगरपालिका र जिविसबाट सिफारिस बनाएर ल्याएपछि कांग्रेस नेता रायमाझीले भौतिक पूर्वाधार मन्त्रालयमा मन्त्री रमेश लेखकमार्फत् रातो किताबका यी आयोजनाहरु फेर्ने योजना बनाएका छन् । तर, मोरङ ८ का सांसद चन्द्रबहादुर गुरुङले रायमाझीको यो योजना वीचैमा चाल पाएर रोक्नका लागि मन्त्रालयमा निवेदन दिएका छन् ।

‘जनताले स्थानीय निकायमा पारित गरेर रातो कितावमा छापिइसकेको योजना एउटा व्यक्तिले फेरबदल गर्नु भनेको लोकतन्त्रको उपहास हो’ मोरङ ८ का सांसद गुरुङले अनलाइनखबरसँग भने- ‘मलाई थाहै नदिई गलत सिफारिस बनाइएको रहेछ, त्यहाँका जनताको जनप्रतिनिधि म हुँ कि रायमाझी हुन् ?’

रातो कितावमा उल्लेख गरिएको आयोजना फेरबदल गर्न खोजिएको विरोधमा आफूले कांग्रेस नेता एवं मन्त्री रमेश लेखकलाई भेट्दा उनले खासै रेस्पोन्स नगरेको सांसद गुरुङले बताए । उनले भने-‘ कांग्रेसको मिलेमतो भएकाले हुनसक्छ, उनले मलाई मेरो कुरा रेस्पोन्स गरेनन्, मेरो निवेदनमा ‘सचिव’ लेखेर तोक लगाइदिए ।’

सांसद गुरुङले राष्ट्रिय योजना आयोगलाई समेत पत्र लेखेर मन्त्रालय र विभागबाट सिफारिस भएका आयोजनाहरु व्यक्तिको निवेदनका आधारमा फेरबदल नगर्न आग्रह गरेका छन् ।

त्यसैगरी स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई समेत भेटेर सांसद गुरुङले कांग्रेस नेता रायमाझीको निवेदनका आधारमा गलत सिफारिस गर्ने जिविस मोरङलाई कारवाही गर्न आग्रह गरेका छन् ।

letter-of-chandra-bahadur-gurung
सांसद गुरुङले स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई लेखेको पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment