Comments Add Comment

अब चीनमा पनि फेसबुक चल्ने ! तर सेन्सरसिपसहित

facebookविश्वका झण्डै पौने दुई अर्ब मानिस प्रयोगकर्ता रहेको सबैभनदा ठूलो सोसल नेटवर्किंग साइट फेसबुक विश्वको सबैभन्दा धेरै जनसंख्या रहेको देश चीनमा प्रतिबन्धित छ । तर अब भने चीनमा पनि फेसबुक खुल्ला हुने संकेत देखिएको छ ।

न्युयोर्क टाइम्समा छापिएको एक रिपोर्ट अनुसार फेसबुकले एउटा यस्तो विशेष सफ्टवेयर तयार गरिरहेको छ जसमा खास क्षेत्र तथा देशहरुका मानिसहरुको न्यूजफिडमा आउने पोष्टहरुलाई कम महत्व दिएर दबाउन तथा सेन्सर गर्न सकिन्छ ।

यो खबरलाई विशेषगरी चीनसँग जोडेर हेरिएको छ जहाँ सेन्सरसिपको विषय बारम्बार उठ्ने गर्दछ ।

न्युयोर्क टाइम्सका अनुसार उसलाई यस विषयमा फेसबुकका तिनजना कार्यरत तथा पूर्व कर्मचारीहरुबाट यो जानकारी प्राप्त भएको हो । चिनिया बजारमा पुनरागमन गर्ने आफ्नो रणनीतिलाई सफल बनाउन फेसबुकले यस्तो प्रयास थालेको बताइएको छ ।

फेसबुकले यस विषयमा केही पनि बोलेको छैन । तर आफुले चीनलाई बुझ्ने तथा सिक्ने प्रयासमा लागिरहेको भने यसअघि नै बताइसकेको छ ।

फेसबुकका प्रवक्ताले भने कम्पनीले चीनसँग जोडिएको विषयमा विद्यमान नीतिमा कुनैपनि नयाँ निर्णय नगरेको प्रष्ट  पारेका छन् ।

अनलाइन गोपनियताको पैरवी गर्ने समूह इलेक्ट्रोनिक फ्रन्टियर फाउन्डेसनले बीबीसीसँग भनेको छ की यो परियोजना सुन्नमा निकै अनौठो छ ।

इएफएफका विश्व नीति विश्लेषक इवा ग्यालपरिनले यस्तो महत्वपूर्ण जानकारी प्रदान गर्ने फेसबुकका कर्मचारीलाई बधाई दिएकी छिन् । उनले भनेकी छिन्, सिद्धान्तमा चल्ने केही मानिस अझैपनि छन् भन्ने जानकारी पाउनु सुखद हो ।

स्मरण रहोस् चीनमा फेसबुक प्रतिबन्धित छ । तर सन् २००९ देखि यता भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भिपिएन प्रयोग गरी फेसबुक चलाउन सकिन्छ । यो एउटा यस्तो सफ्टवेयर हो जसले वास्तविक लोकेसन लुकाइदिन्छ र इन्टरनेटसँग जोडिएका स्थानीय पाबन्दीहरुलाई नजरअन्दाज गरिदिन्छ ।

फेसबुकका अहिले विश्वमा १ अर्ब ८० करोड सक्रिय प्रयोगकर्ता छन् । फेसबुक कम्पनी अहिले आफ्नो पहुँच नभएका विश्वका अन्य क्षेत्रहरुमा पनि पुग्ने कोसिस गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment