Comments Add Comment

ओलीको गर्जनः मधेसमा माधव नेपाल पहिलो कि राजेन्द्र महतो ?

'दरबारको टाट्नामा घाँस खाने'देखि मधेसका 'वृद्धभत्ता खोस्ने'सम्म

kp-oli-uml

९ मंसिर, काठमाडौं । राजधानीको प्रज्ञा भवनमा एमालेका युवा विद्यार्थीहरुको आयोजनामा बिहीबार एउटा अन्तरक्रिया आयोजना गरिएको थियो, जहाँ फोरम, तमलोपा, माओवादी, राप्रपा र कांग्रेसका नेतालाई पनि बोलाइएको थियो । त्यहाँ संविधान संशोधनका विषयमा बहस गरिएको थियो । मधेसवादी नेताहरुले एमाले नेतालाई जिम्मेवार बन्न आग्रह गरेका थिए । कमल थापाले समेत एमालेलाई मधेसका विषयमा ‘लिँडेढिपी’ छाड्न आग्रह गरेका थिए ।

तर, एमालेका नेताहरु केही नरम बन्लान् कि भन्ने अनुमान गरिरहेका गैर एमालेहरुका लागि पार्टी उपाध्यक्ष भीम रावल र अध्यक्ष केपी ओलीले आश्चार्यचकित बनाइदिए ।

एमाले अध्यक्ष ओलीले संविधान संशोधनमा नरम हुनु त परैजाहोस् युवा विद्यार्थी र देशैभरिका कार्यकर्तालाई आन्दोलनका लागि तयार रहन उक्साए । निकै लामो भाषण गरेका ओलीले राप्रपा, मधेसवादी र माओवादीको यसरी धज्जी उडाएः

माधव नेपाल पहिलो कि राजेन्द्र महतो ?

कार्यक्रममा वक्ताका रुपमा सहभागी तमलोपा नेता हृदयेश त्रिपाठीले बोलेका विषयको खण्डन गर्नेक्रममा पूर्वप्रधानमन्त्री ओलीले राजेन्द्र महतोको नाम लिए ।

हृदयेशले आफ्नो मन्तव्यका क्रममा माधव नेपाललाई रौतहटका जनताले चुनावमा जिताए र पठाउने गरेको भन्दै लालबाबु पण्डितलाई ताप्लेजुङबाट र विमलेन्द्र निधिलाई काभ्रेबाट उम्मेदरवार बनायन र जिताउन किन हुँदैन भन्ने प्रश्न गरेका थिए ।

त्रिपाठीको यही प्रश्नको जवाफ दिँदै ओलीले भने- ‘माधव नेपाल रौतहटकै हो त उहाँलाई त्यहाँबाट नजिताएर कहाँबाट जिताउने त ? माधव नेपालमा रौतहटमा पहिलेदेखि बस्न थालेको हो कि हृदयेश त्रिपाठी नवलपरासीमा पहिलेदेखि बसेको हो ?’

बोल्दाबोल्दै ओलीले राजेन्द्र महतोको नाम लिए । उनले भने- ‘माधव नेपालजी मधेसमा पहिलेदेखि बस्नुभएको हो कि राजेन्द्र महतो ?’

ओलीले थपे- ‘मैले झापाबाट चुनाव जितें । म झापामा ५५ वर्षदेखि बसिरहेको छु, त्यहाँबाट नलडे कहाँबाट लड्ने ?’

हृदशेय त्रिपाठीलाई पहाडमा निम्तो

बोल्दै जाँदा एमाले अध्यक्ष ओलीले हृदयेश त्रिपाठीलाई तेह्रथुमको पहाडमा घडेरी किन्न र कम्तिमा १० वर्ष बस्न आग्रहसमेत गरे । उनले भने-‘उहाँ बस्न सक्नुहुन्छ ? कि उकालो-ओरालो हिँड्दा गाह्रो हुन्छ ?’ भीमरावलजीले अछाममा चुनाव लड्न निम्तो गर्नुभयो, त्यहाँ जाने हो भने त उहाँ अग्लो पहाड देखेर वीचैबाट फर्कनुहुन्छ ।’

केपी ओलीभन्दा पहिले बोलेका एमाले उपाध्यक्ष रावलले हृदयेश त्रिपाठीलाई अछाममा गएर सूर्यचिन्हबाट चुनावमा भाग लिन आग्रह गरेका थिए ।

‘तिमीहरु वृद्धभत्ता पनि खोसेर खान्छौ, इनार छुन पनि दिँदैनौ’

[sam_list]  केपी ओलीले मधेसी नेताका हजुरबा-हजुरआमाका हातमा आफूले दुईहजार रुपैयाँ राखिदिएको भन्दै वृद्धभत्ताको प्रशंग कोट्याए । उनले भने- मैले तपाईहरुका हजुरबा हजुरआमालाई हातमा दुई हजार रुपैयाँ दिएँ, तपाईहरुले त त्यो पाए पनि खोस्नुहुन्छ ।’

केपी ओलीलाई मधेसविरोधी देखाउन खोजिएको गुनासो गर्दै ओलीले एमालेलाई सामाजिक न्यायबारे पाठ नसिकाउन मधेसी नेतालाई चुनौती दिए । उनले मधेसी नेताहरु १८ वर्षसम्म मन्त्री बनेको बताउँदै ओलीले सोधे- ‘म जम्माजम्मी २७ महिना मन्त्री बनेको छु, तपाइहरु १८ वर्षसम्म विभिन्न मन्त्रालयमा मन्त्री बन्नुभयो । मन्त्री हुँदा मधेसमा के गर्नुभयो ?’

आफूले मधेसमा हुलाकी राजमार्ग आफैं बनाउने निर्णय गरेको, उत्तर-दक्षिण राजमार्गमा बजेट छुट्याएको र मधेसको विकासमा ध्यान दिएको दाबी गर्दै ओलीले मधेसका जमिन्दारको साटो अब त्यहाँ जनताको शासन स्थापना हुने दाबी गरे ।

आफ्नै आमालाई बोक्सी भन्ने, दाइजो नल्याउनेलाई जलाउने र छिमेकीलाई इनार छुन नदिनेहरुविरुद्ध एमालेले सामाजिक जागरण अभियान चलाउने ओलीले बताए ।

आँप र माखे साङ्लोको प्रशंग

कार्यक्रममा ओलीभन्दा केही अगाडि बोलेका हृदयेशले भनेका थिए- मधेसका सहिदलाई दुईचारवटा आँप नभन्नुहोला, मानव साङ्लोलाई माखे साङ्लो नभन्नुहोला भन्ने सुझाव दिएका थिए । त्यसको जवाफमा ओलीले भने -‘कसले भन्यो आँप ? कहाँको सहिद, कहाँको आँप ।’

त्यसैगरी आफूले तराईको मानव साङ्लोलाई माखे साङ्लो नभनेको स्पष्टीकरण दिँदै फरक प्रशंगमा माखेसाङ्लो भनेको बताए । उनले भने- ‘त्यो फरक प्रशंगमा भनेको हो । तर, माखेसाङ्लो भनेको के हो ? नेपाली नजाने हामीलाई सोध्नु, नभए डिक्सनरी हेरे पनि हुन्छ ।’

दरबारको टाट्नामा मुन्टा खाने गणतन्त्रवादी !

एमाले अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीले सुरुदेखि नै लोकतन्त्र र गणतन्त्रका लागि लडेको बताउँदै यसका लागि आफू जेलमा रहँदा दरबारको टाट्नामा मुन्टा चुँड्नेहरु अहिले खुब गणतन्त्रबाट बनेर एमालेलाई सिकाउनेतिर लागिरहेको बताए ।

ओलीले कुनै दल वा नेताको नाम नलिई दिएको यो अभिव्यक्ति राप्रपाका अध्यक्ष कमल थापातिर लक्षित थियो ।

टोपबहादुर अप्ठ्यारोमा छन्

कार्यक्रममा अघि बोलेका माओवादी नेता टोपबहादुर रायमाझीको नाम लिँदै ओलीले भने- उहाँ अप्ठयारोमा हुनुहन्छ । उहाँ साँच्चै अप्ठ्यारोमा हुनुहन्छ । तपाई तन्दुरुस्त हुनोस् ।

भाषणकै क्रममा अहिले फरक प्रशंगमा ओलीले यो पनि भन- ‘यहाँ केही साथीहरुले छाती तन्काएर यति मान्छे मारियो, रगतको होली खेलियो पनि भन्नुभयो ।’ ओलीको यो भनाइ माओवादी नेता रायमाझीतिर लक्षित थियो ।

टोपबहादुर रायमाझीले कार्यक्रममा प्रधानमन्त्री प्रचण्डबाट ल्याउन लागिएको संशोधन प्रस्तावको विरोध गरेकोमा ओली खुशी देखिन्थे ।

प्रचण्डलाई एक्लै भेट्दिँन, भेटेपछि बाहिर अर्कै कुरा गर्छन्

एमाले अध्यक्ष ओलीले आफूले एक्लै प्रधानमन्त्री प्रचण्डसँग भेट नगर्ने बताए । एक्लै भेटेपछि प्रचण्डले बाहिर अर्कैर् प्रचार गर्ने गरेकाले आफूले साथीसँग मिलेर मात्रै प्रचण्डसँग भेट गर्ने बताएका छन् ।

युवा विद्यार्थीले आयोजना गरेको अन्तरक्रियामा बोल्ने क्रममा घडी हेर्दै ओलीले भने- ‘पाँच बजिसकेछ, पाँच बजेपछि प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम छ, अब यताबाट सीधै भेट्न जान्छु, तर उहाँलाई एक्लै भेट्दिँन ।’

उनले थपे-‘एक्लै भेटेपछि उहाँले बाहिर निस्कनासाथ अनेक थोक भनिदिनुहुन्छ, त्यसैले उहाँलाई भनेको छु, एक्लै भेट्दिँन, साथीसँग मात्रै भेट्छु ।’

पूर्वप्रधानमन्त्री ओली कार्यक्रममा निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए । सरकारले निर्वाचनको तयारीका लागि सिन्कोसमेत नभाँचेको आरोप लगाए । निर्वाचन कानून निर्माण गर्नुपर्नेमा सरकारले केही पनि काम नगरेको उनले आरोप लगाए । उनले युवा विद्यार्थीलाई आन्दोलनका लागि तयार रहन आग्रहसमेत गरे ।

एमाले अध्यक्ष ओलीको विहीबारको यो प्रस्तुती हेर्दा एमाले संविधान संशोधनको प्रश्नमा लचिलो नहुने बरु आन्दोलनमा उत्रिने तयारीमा रहेको अनुमान लगाउन सकिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment