Comments Add Comment

भारतीय लगानीमै आयो अर्को क्रेडिट रेटिङ कम्पनी

rateing-compony
२६ मसिंर, काठमाडौं । नेपालमा दोस्रो रेटिङ कम्पनी सञ्चालनमा आउने भएको छ । भारतीय रेटिङ कम्पनी केयर इण्डियाको ५१ प्रतिशत सेयर स्वामित्व रहने गरी केयर रेटिङस् नेपाल लिमिटेडले धितोपत्र बोर्डबाट सञ्चालन अनुमति पाएको हो ।

‘हामी अब कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुनेलगायतका काम गर्ने छौं । त्यसपछि पुनः धितोपत्र बोर्डबाट अनुमती लिनुपर्ने हुन्छ, यस आधारमा अबको ३ महिनामा कम्पनी सञ्चालनको अवस्थामा आउने छ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिनोद आत्रेयले बताए ।

नेपालमा सञ्चालनमा आउन कुनै पनि रेटिङ कम्पनीमा न्युनत्तम ५१ प्रतिशत सेयर स्वामित्व बिदेशी रेटिङ कम्पनीको हुनैपर्ने व्यवस्था रहेको छ । यही प्रावधान अनुसार केयर इण्डियाको लगानी रहेको हो ।

कसको कति लगानी ?

कम्पनीमा नेपाली साझेदारको रुपमा निजि सार्वजनिक साझेदारी मोडलमा सञ्चालन भइरहेको इमर्जिङ नेपालको १० प्रतिशत लगानी रहने छ । ५ करोड चुक्ता पुँजी रहेको यस कम्पनीमा नेपालको बिशाल ग्रुप, पुनर्बीमा कम्पनी, ग्लोबल आइएमई, प्रुडेन्सियल इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लगायतको पनि लगानी रहने छ ।

कम्पनीले अहिले तोकिए अनुसार नै धितोपत्र, ऋणपत्र लगायतको रेटिङबाट काम थाल्ने उल्लेख गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा ऋणीहरुको पनि रेटिङ गर्ने व्यवस्था मिलाउने उल्लेख गरेकोले यो व्यवस्था भएमा यस्तो रेटिङ समेत गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत आत्रेयले स्पष्ट पारे । अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने देशहरुको पनि रेटिङ हुने गरेको पाइन्छ ।

नेपालमा पहिलो रेटिङ कम्पनी स्थापना भएको ४ वर्षपछि भारतीय मुल संस्थाकै लगानीमा दोस्रो रेटिङ कम्पनी आउन लागेको हो । यसअघि भारतीय रेटिङ एजेन्सी इक्रा (इण्डियन क्रेडिट रेटिङ एजेन्सी) को लगानीमा इक्रा नेपाल सञ्चालनमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment