Comments Add Comment

जंक फुड खाँदै हुनुहुन्छ ? कुपोषण होला !

junk-foods

४ पुस, काठमाडौं । शहरी क्षेत्रका किशोर-किशोरीमा कुपोषणको समस्या धेरै रहेको एक अध्ययनले देखाएको छ । हामीमध्ये धेरैलाई भ्रम छ, कुपोषण दुब्लाहरुलाई मात्र हुन्छ । तर, अध्ययनले मोटाहरुमा पनि कुपोषण देखिने गरेको औंल्याएको छ ।

स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले किशोर-किशोरीको पोषण स्थितिबारे हालै सार्वजनिक गरेको अध्ययनले शहरमा बसोबास गर्ने ६३ प्रतिशत किशोर-किशोरीमा कुपोषणको समस्या बढी भएको देखाएको छ, जुन गाउँघरको तुलनामा दुई प्रतिशतले मात्र न्यून छ ।

जे मन लाग्यो त्यही खाने, पौष्टिक तत्व नभएको खाना खाने, जंक फुड तथा प्याकिङ गरिएका खानेकुराको अधिक प्रयोगले किशोर-किशोरीमा कुपोषणको समस्या देखिएको अध्ययनले जनाएको छ ।

किशोरीहरुको तुलनामा किशोरहरुमा कुपोषणको समस्या बढी देखिएको छ । अध्ययनका अनुसार, ७१ प्रतिशत किशोर र ५९ प्रतिशत किशोरीमा कुपोषण पाइएको छ । कुपोषणको मापन खासगरी व्यक्तिको तौल, उँचाइ तथा रगतमा हेमोग्लोविनको मात्राको आधारमा गरिन्छ ।

असन्तुलित खाना तथा पेट भर्नको लागि मात्र खाने परिपाटीले कुपोषण बढेको अध्ययनले जनाएको छ

कुपोषण भएका मानिसमा डिप्रेसन, हाइपोथर्मिया (रक्तचापको समस्या), रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने, धेरै जाडो लाग्ने, घाउ निको हुन समय लाग्ने, थकान महसुस हुने, छाला पातलो हुने र कपाल सुख्खा हुने गर्छ ।

शरीरमा क्यालोरीको मात्रा कम भएमा फोक्सो र कलेजोले काम गर्न छाड्नुका साथै मुटु फेल हुन्छ । त्यस्तै बालबालिकाको शारीरीक तथा मानसिक विकासमा समस्या हुने र पाचन प्रक्रियामा समस्या उत्पन्न हुने गर्छ ।

विज्ञ भन्छन्, जंक फुड त्याग्नुस्

असन्तुलित खाना तथा पेट भर्नको लागि मात्र खाने परिपाटीले कुपोषण बढेको अध्ययनले जनाएको छ ।

शहरी जनसंख्यामा देखिएको यस्तो कुपोषण विशेषगरी जंक फुडको प्रयोग तथा प्याकेज्ड फुडका कारण बढ्दो क्रममा छ । त्यस्तै, फलफूल, सागपात, आइरन, भिटामिन, मिनरल्स लगायतका पौष्टिक आहारको कमीका कारण कुपोषणको समस्या बढेको छ ।

केही समुदायमा ‘डाइटिङ’ गर्ने नाममा समयमा खाना नखाने समस्याले पनि किशोर-किशोरीहरु कुपोषणतर्फ धकेलिँदै गएको राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य-सचिव डा. खेमबहादुर कार्की बताउँछन् ।

उनी भन्छन्, ‘गाउँमा अज्ञानता, पौष्टिक आहारको कमी र जुकाको संक्रमणले कुपोषण हुन्छ, शहरी क्षेत्रमा भने शहरिया गरिबको संख्या बढ्दै जानुका साथै जंक फुड, प्याकेटका खानेकुराको अधिक प्रयोग र पोषणयुक्त खानाको कमीले कुपोषण गएको छ ।’

स्वास्थ्य सेवा विभागका पूर्व पोषण शाखा प्रमुख गिरीराज सुवेदी भने यसलाई नै कारक मान्न नसकिने बताउँछन् ।

स्थानीय उत्पादनलाई कम प्राथमिकता दिने चलन, खानपानको शैलीमा आएको परिवर्तन र बजारिया खानाको सेवन जस्ता कारणले कुपोषणलाई असर पारे पनि यही नै सम्पूर्ण कारक मान्न नसकिने सुवेदी बताउँछन् ।

कुपोषणबाट बच्न अभिभावक तथा विद्यालयहरुले समयमै ध्यान पुर्‍याउन जरुरी रहेको डा. अरुणा उप्रेती सुझाव दिन्छिन् । उनी भन्छिन्, ‘डायटिङ गर्ने र जंक फुड खाने चलनले पार्ने दीर्घकालीन प्रभावबारे अभिभावकहरुले पनि त्यति ध्यान दिएको पाइँदैन, जबकि यही कुराले उनीहरुलाई भोलि समस्या निम्त्याउँछ ।’

उनले बालबालिका तथा किशोर-किशोरीमा कुपोषणको जोखिम कम गर्न सकेसम्म घरमै बनेका खानेकुरा, सागपात, फलफूल लगायतमा बढी जोड दिन सुझाव दिएकी छिन् । त्यसैगरी, कुपोषण तथा यसका असरबारे सरकारले जनचेतना फैलाउनुपर्ने उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment