Comments Add Comment

पैंचोका ग्रामीण कृषिजन्य ‘अर्ग्यानिक’ उत्पादन काठमाडौंको बजारमा

paincho-pasal
५ पुस, काठमाडौं । पैंचो पसल प्रालिले आफ्ना अर्ग्यानिक उत्पादनलाई काठमाडौंमा पनि भित्र्याएको छ । पैंचो पसल प्रालिले उत्पादन गरेका प्रांगारिक खाद्यपदार्थहरुको बिक्री मंगलबारदेखि काठमाडौंमा सुरु भएको हो ।

काठमाडौंमा एक कार्यक्रम गरी पैंचोका विभिन्न उत्पादनहरु सार्वजनिक गरिएको छ । झण्डै ३० वटा डिलरमार्फत २३ प्रकारका उत्पादनको बिक्री काठमाडौंमा थालिएको कम्पनीका प्रवन्ध निर्देशक ध्रुव न्यौपानेले जानकारी दिए ।

आठ प्रकारका अचार, होल क्यान कर्न, आटो, कोदोको पिठो, टोमेटो केचअप, जामसहित विभिन्न प्रकारका जुसहरु, परम्परामा सीमित सिन्की मस्यौरा लगायतका उत्पादनहरु कम्पनीले बजारमा ल्याएको छ ।

जुम्लाका सिमी, पहाडी जिल्लाका मकैको आटो (च्याँख्ला)सहित पहाडी जिल्लाका खाद्य वस्तुहरु प्याकेजिङ गरी बजारमा ल्याइएको छ ।

होल कर्न कर्नर नेपालकै पहिलो उत्पादन हो भने मस्यौरा, सिन्की पैचोले पहिलो पटक व्यवसायिक उत्पादन गरेको छ ।

शहरमा बसोबास गर्नेलाई पहाडी र उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कषि उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले स्थापित पैँचो पसल प्रालिले ‘बसेपनि शहर, गाँउकै खाने रहर’ भन्ने मुल मन्त्रलाई आत्मासाथ गरेको न्यौपानेले जानकारी दिए ।

२ वर्ष पहिले गुल्मीको बलेटक्सार गाउँबाट सुरु गरिएको पैंचो पसल आफ्नै उत्पादनसहित राजधानीमा प्रवेश गरेको हो ।

झण्डै १० हजार किसानले उत्पदन गरेका ग्रामीण खाद्यान्न, तरकारी तथा फलफूलाई पैचोले बजारीकरण गरिरहेको छ । यसबाट हजारौं किसान र उपभोक्ता आफ्ना उत्पादन गाउँमा नै बेच्न पाएर लाभाविन्त भएका छन् ।

उपयुक्त बजारको अभावमा खेर गैरहेका गाँउका उत्पादनहरूलाई बजारको पहुँचसम्म पुर्‍याउने मुख्य उद्देश्यका साथ खोलिएको पैचो पसलले विगत एक वर्षदेखि गुल्मीको रिडीमा पैचो प्रशोधन उद्योग स्थापना गरेर स्थानीय उत्पादनलाई प्रशोधन गर्न सुरु गरेको थियो ।

स्थापनाकालदेखि नै हाते प्रविधि प्रयोग गरेर अचार, चुक दाल लगायतका खाद्य वस्तुको परीक्षण उत्पादन गरी बुटवलमा बिक्रि गर्दैआएको पैचो पसलले गत बैशाखदेखि अत्याधुनिक प्रशोधन कारखानामार्फत २३ प्रकारका खाद्य वस्तु उत्पादन गर्दै आएको छ । यिनै उत्पादित खाद्य वस्तुको बिक्री अब काठमाडौंमा थालिएको हो ।

गुल्मी , पाल्पा, जुम्ला, रुकुम, कालीकोट, रोल्पा र अर्घाखाँचीमा अहिले पनि ५० बढी संकलन केन्द्रहरु मार्फत किसानहरुको कृषि उत्पादन पैचोले किनिरहेको छ ।

आगामी दिनमा सेवा बिस्तार गर्दै बागलुङ, पर्वत, स्याङ्जा लगायतका जिल्लाका किसानसँग समेत पैचोको परियोजन पुर्‍याउने लक्ष रहेको प्रवन्धक निर्देशक न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment