Comments Add Comment

शहरमा मुसा र उडुस मार्नेहरूको कथा

२५ सय बढेर हेर्दाहेर्दै करोड

२४ कात्तिक, काठमाडौं । आफ्नो घर वा कतै पाहुना लाग्दा उडुस, साङ्ला, मुसा, झिंगा, लामखुट्टेको हैरानी नभोग्ने सायदै कोही नेपाली होलान् ।

यस्ता किराको हैरानी नेपालीका लागि सामान्य नै हो । काठमाडौंको वसुन्धारामा खुलेको ‘ओरेन्ज बल कम्पनी’ले यस्ता किराहरु निर्मूल पार्ने काम गर्छ, त्यो पनि ग्यारेन्टी दिएर । अत्याधुनिक उपकरणका साथ तालिमप्राप्त व्यक्तिहरु संलग्न ओरेन्ज बल प्रालिकोे नारा नै छ– ‘भुसुनादेखि सर्पसम्म, साङ्लादेखि मुसासम्मका समस्यामा हामीलाई सम्झनुहोस् ।’

१८ वर्षे केटोले जन्माएको व्यवसाय

कदाचित पाहुनाको अगाडि उपिया, साङ्ला देखिए प्रायः सबैको एउटै मुख हुन्छ– ‘ओहो ! घरमा त थिएन, कहाँबाट आएछ ?’

यथार्थचाहिँ के हो भने, घर होस् वा अफिस, हरेक नेपाली हर दिनजसो मौसम अनुसार साङ्ला, उडुस, उपियाँ, लामखुट्टे, मुसा, सर्प लगायतसँग माथापच्ची गरिरहेका हुन्छन् । यो समस्या समाधानका लागि धेरैले गर्ने सरल कर्म भनेको पसल जाने, विषादी किन्ने र घरमा छर्कने वा राख्ने हो ।
वसुन्धराका विद्यानन्द झा (१९)ले आम मानिसको यही समस्यामा एउटा गजबको बिजनेस देखे । सप्तरीको राजविराजका स्थायी बासिन्दा झाका बाबुआमा काठमाडौंमा जिविकोपार्जनका लागि मजदुरी गर्छन् । बाबुआमा जेठो छोरो विद्यानन्द धेरै पढोस् र सरकारी जागिर खाओस् भन्ने चाहन्थे ।

प्लस टु पढ्दै गर्दा विद्यानन्दले भोटाहिटीको एउटा मोबाइल पसलमा काम सुरु गरे । त्यहाँ उनले बिग्रेका मोबाइल मर्मत गर्ने काम सिके । मोबाइल पसलको अघिल्लतिर एउटा विषादी पसल थियो, जहाँ उडुस, उपियाँ, घुन, साङ्ला, मुसा, धमिरा लगायतले दुःख दिएको भन्दै मानिसहरु आउँथे । त्यहाँ एक पटक किनेर लगेकोे विषादीले समस्या समाधान नभएको भन्दै दोहोर्याएर आउनेहरु विद्यानन्दले प्रशस्त देख्थे ।

त्यो दृष्यले दिमागमा विषादीलाई कसरी व्यवसाय नबनाउने भन्ने कुरा घुम्न थाल्यो । विद्यानन्द सम्झन्छन्, ‘लाग्न थाल्यो, मैले विषादी छर्केर घर, अफिस किरामुक्त बनाइदिएँ भने कसो पैसा नकमाइएला ?’

न लगानी न ग्राहक

विषादीको काम गर्ने ‘आइडिया’ बुबाआमालाई सुनाउँदा सुरुमा हप्की खान पर्‍याे । झा दम्पत्ती छोरालाई जसरी पनि सरकारी जागिरे बनाउन चाहन्थे । त्यसैले भनिदिए, ‘विषादी व्यवसाय तेरो बसको बात हैन, खुरुखुरु पढ् ।’

त्यसपछि नजिकका केही आफन्तलाई आफ्नो ‘आइडिया’ सुनाउँदा पनि लगानीका लागि कसैले नपत्याएपछि विद्यानन्दले त्यही पसलबाट उधारोमा विषादी र त्यसलाई छर्कने पम्प लिए । मोबाइल पसलमा आफूसँगै काम गर्ने भाइलाई ‘पार्टनर’ बन्न राजी बनाए । तर ग्राहक खोई ?
त्यसमाथि विद्यानन्दले विषादीबारे पढेका पनि थिएनन् । तर त्यही काम गर्ने तीव्र इच्छा भएपछि उनले इन्टरनेटलाई ज्ञानको स्रोत बनाए । गुगल सर्च गरी–गरी व्यवसायको ढोका खोले । इन्टरनेटमा भेटेको पेष्ट कन्ट्रोल कम्पनीहरु अकल्यान्ड अमेरिका र ब्रिटिस पेष्ट कन्ट्रोललाई उनले मेल लेखे । ती कम्पनीहरुले तीन महिनाको अनलाइन कोर्स गर्ने अनुमति दिएपछि २०६८ सालमा उनी भारतको चण्डीगढ गए ।

कोर्ष सकेर पूर्णरुपमा तयार भएर फर्किएपछि पनि उनलाई साथीभाइ र आफन्तले ‘विष व्यावसाय’का लागि पत्याएनन् । लगानी जुटाउन केही नलागेपछि उनले आफ्नो योजना (सेवा)बारे सबै कुरा खुलाएर वर्डप्रेसमा एउटा बल्ग लेखे । ब्लगमा भनिएको थियो– घर, होटल, कार्यालय, रेष्टुँरा, अस्पताल जस्ता कुनै पनि ठाउँमा उडुस, उपियाँ, घुन, साङ्ला, मुसा, धमिरा, सर्पको आतंकबाट हुने अप्ठ्यारो समाधान गर्न सक्छु ।

ग्राहकको पहिलो फोन

ब्लग छापिएको केही दिनपछि आएको एउटा फोन कलमा विद्यानन्दलाई सोधियो, ‘म अमरावती ट्राभल्सबाट बोल्दैछु । वर्डप्रेसमा ब्लग लेख्ने तपाईं नै हो ?’

हो भनेपछि पहिलो ग्राहकले समस्याको बेलिबिस्तार लगाए, ‘हाम्रो कार्यालयमा मुसाले हैरान बनाएको छ, यसको समाधान तपाईंसँग छ ?’

विद्यानन्दले समाधान गरिदिने बताउँदै ट्राभल्सको ठेगाना लिएर फोन राखे । अर्को दिन अमरावती ट्राभल्स पुगेर उनले आफ्नो ज्ञान प्रयोग गरे । त्यसबाट प्रभावित भएको ट्राभल्सले एक महिनाको पैसा दिएर तीन महिनाको सम्झौता गरिदियो । अर्को दिन अमरावतीबाट फोन आयो–मुसाले सर्भरको तार काटेछ । तह लगाइयो भनेको मुसाले बर्बाद गरेछ !’

विद्यानन्दलाई तनाव भयो । उनले विषादी किन्ने पसलको काकालाई समस्या सुनाए । निचोड निस्क्यो, ‘अहिले तार काट्ने मुसो फरक हो ।’ र, त्यही अनुसारको जुक्ति लगाएर काम गरेपछि अमरावतीको मुसा खत्तम भयो ।

अरेन्ज बलका संस्थापक कार्यकारी अधिकृत विद्यानन्द झा अहिले २४ वर्षका भए । २८ वर्षका सिजन कार्की कम्पनीका अप्रेसन म्यनेजर र ३० वर्षीय अमर श्रेष्ठ बजार तथा मानव स्रोत व्यवस्थापक छन् । उनीहरु तिनैजना धापासीको एउटै टोलका हुन् । तीमध्ये विद्यानन्द र सिजन ‘कलेज ड्रपआउट’ हुन् ।

कम्पनीका सबभन्दा पाको पार्टनर अमर टोले भाइ विद्यानन्दको आइडियाबाट प्रभावित भएर रेष्टुराँ व्यवसाय छाडेर आए । उनले ग्राहक र कर्मचारी व्यवस्थापनमा ध्यान दिएपछि कम्पनी चम्किएको छ ।

अरेन्ज बलको कार्य शैली

बसुन्धारा चोकको यात्रु प्रतिक्षालय अगाडिबाट सुरु हुने टोखा सडकतर्फ एक सय मिटर उत्तर लागेपछि अरेन्ज बलको कार्यालय पुगिन्छ । स्टोरसहित जम्मा दुई वटा कोठामा कम्पनी सञ्चालनमा छ । अनौपचारिक सयौं काम गरिसकेपछि २०७२ पुस २१ मा कानुनी रुपमा दर्ता भएको यो कम्पनीमा अहिले १७ जना फिल्ड कर्मचारी छन् ।

कम्पनी २४ घण्टे सेवा दिन जुटेको छ । सबै कर्मचारी सामाजिक सुरक्षा कोषमा जोडिएका छन् । सबैको बीमा सुनिश्चित गरिएको छ । विषादीमा काम गर्ने भएकाले कर्मचारीहरु भरपर्दो सुरक्षा कवज लगाएर काम गर्छन् ।
कम्पनीको आफ्नै वेबसाइट छ । यसका अलावा मुखैले हुने प्रचार ‘माउथ पब्लिसिटी’ बाट ग्राहकको फोन आउँछ । ग्राहकको समस्या सुनेपछि कम्पनीले फिल्ड भिजिट गरेर कामको प्रक्रिया तथा लाग्ने खर्चको कोटेसन तय गर्छ । त्यसमा ग्राहकको मञ्जुरीपछि तोकिएको समयमा आवश्यक उपकरण र औषधीसहित कम्पनीको टोली खटिन्छ ।

गत आर्थिक वर्षमा मात्र कम्पनीले पाँच हजार ग्राहकलाई सेवा दिएको देखिन्छ । ग्राहकमा व्यक्तिका कोठा, घरदेखि स्कुल, कलेज, होटल, होस्टल, बैंक, दूतावाससम्म छन् । केही ठूला संस्थाले अरेन्ज बलसँग केही वर्षका करार सम्झौतासमेत गरेको कार्यकारी अधिकृत विद्यानन्दले बताए ।

भविष्यको सुनौलो बाटो
मोबाइल पसल छोड्दाको २५ सय रुपैयाँ नै अरेन्ज बलको सुरुवाती पूँजी भएको संस्थापक कार्यकारी अधिकृत झा बताउँछन् । भर्खरै गराएको कम्पनी भ्यालुएसनमा अरेन्ज बलको भ्यालु एक करोड तोकिएको छ ।

कम्पनी दिनप्रतिदिन फस्टाउँदो छ । आफूहरुसँग चाडपर्व मानेर बस्ने फुर्सद नभएको झा बताउँछन् । ‘उडुसले टोक्यो, बिहानै आइदिनुस्’ भनेर राति १२ बजे फोन गर्ने ग्राहकहरुले चौबिसै घन्टा आय आर्जन गराएको झा बताउँछन् । उनी भन्छन्, ‘हाम्रोलागि यही नै भविश्यको सुनौलो बाटो हो ।’

सन् २०२५ सम्ममा अरेन्ज बलले पाँच हजारलाई रोजगारी दिने लक्ष्य लिएर अगाडि बढेको अर्का म्यानेजर अमर श्रेष्ठ बताउँछन् । सफलताबाट हौसिएको कम्पनीले काठमाडौंको न्यूरोड र ललितपुरको पुल्चोकमा शाखा खोल्न लागेको छ । श्रेष्ठ भन्छन्, ‘त्यसपछि पोखरामा शाखा खोल्छौं ।’

र, दुःखका कुरा…

एउटा बैंकमा मुसाले दुखः दिएको भन्दै एक दिन अरेन्ज बलमा फोन आयो । कम्पनीका बजार व्यवस्थापक अमर श्रेष्ठ आफैैं बैंक पुगेर ड्रयरको भित्री कुनामा मरेको मुसाको दुर्गन्ध हटाइदिए । काम सकिएपछि बैंकका कर्मचारीले उनलाई धन्यवाद दिँदै फोन नम्बर मागेर ‘मुसा भाइ’को नाममा सेभ गरे । त्यो देखेर श्रेष्ठलाई नमजा लाग्यो ।

अर्का म्यानेजर सिजन कार्की ग्राहकहरुले कम्पनीका कर्मचारीहरुलाई ‘कक्रोज भाइ’, ‘मुसा भाइ’, ‘उडुस भाइ’ भनेर बोलाउने गरेको गुनासो गर्छन् । पढालिखाहरुले समेत त्यसरी बोलाइदिँदा कर्मचारीहरु हतोत्साही हुने गरेको उनले बताए । ‘मानिसलाई मेहनेतको कमाइले मात्र पुग्दैन, मिठो बोली पनि चाहिन्छ’, कार्की भन्छन्, ‘काम गरेर सहयोग पुर्‍याउने मान्छेलाई राम्रो बोलीले हौसला बढाउँदा के हानी हुन्छ र !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment