Comments Add Comment

बोझो : बहुगुणी घरेलु ओखती

बोझो निकै उपयोगी वनस्पति हो । हुन त कतिलाई यसको बास्ना र स्वाद मन नपर्न सक्छ । टर्रो र आशिंक पीरो स्वादको बोझो स्वास्थ्यका लागि भने निकै लाभदायक मानिन्छ । आयुर्वेदमा बोझोको खास महत्व छ । पौराणिक शास्त्रहरुमा समेत यसको उल्लेख छ । यसलाई गुणी वनस्पति मानिएको छ । बोझोलाई संस्कृतमा ‘बचा’ भनिन्छ । संस्कृति भाषामा अभिलेख रहनुले पनि यो सदियौंदेखि प्रयोगमा आएको भन्ने अनुमान गरिन्छ ।

बोझो एरियसी फेमेली अन्र्तगत पर्छ । यसको बैज्ञानिक नाम, अकोरस कालामस हो । यसको जरालाई हामी बोझो भन्छौ । पात चुप्पी जस्तै वा ग्लाडिओल्स प्रजातिका फूल जस्तै हुन्छ ।

घर-आँगनमा पाइन्छ

बोझो सामान्यत घर-आँगनमा उत्पादन गर्न सकिन्छ । यसको जरा वा डाँठ सजिलै उमार्न सकिन्छ । यसका लागि पानीको दलदल वा चिस्यन भएको ठाउँ आवश्यक हुन्छ । खासगरी पहाडी क्षेत्रमा बोझो पाइन्छ ।

त्यसो त काठमाडौंमा समेत कतिपयले आफ्नो घर बगैंचामा बोझो रोप्ने गर्छन् । बोझो कति ठाउँमा यो आफै उम्रन्छ । कतिपय ठाउँमा भने आफैले रोप्नुपर्छ । बोझो रोपेको एक बर्षपछि प्रयोग गर्न मिल्छ । यसको जराबाट बोट फैलन्छ । एक पटक राम्ररी फस्टाएको बोझो अक्सर मासिएर जाँदैन । जरा टुक्राएर प्रयोग गरेपछि, अर्को भागबाट पुन बोट पलाउँछ ।

बोझो प्रयोग गर्ने काइदा

बोझोको जरा वा भनौ कान्डलाई उखेलेर पखाल्ने । त्यसलाई टुक्रा बनाएर त्यतिकै चपाउन सकिन्छ । लामो समय राखेर खानका लागि चाहि टुक्रा बनाएर सुकाउन सकिन्छ । यसरी सुकाएको बोझोलाई सिसाको बोत्तलमा राखेर आवश्यक्ता अनुसार प्रयोग गर्न सकिन्छ ।

स्वास्थ्य लाभ

बोझोको फाइदा अनेकौ छन् । घाँटी दुखेको निको पार्नदेखि भोक जगाउन समेत बोझो उपयोगी हुन्छ । यो पिनासको समस्यामा पनि लाभदायक हुने बताइन्छ । आयुर्वेदविज्ञहरुका अनुसार बोझोले स्नायु प्रणालीमा प्रभाव पार्छ । मेडिकल रिसर्चले समेत यो पुष्टि गरिसकेको बताइन्छ । शरीर लठ्याउनका लागि बोझो प्रयोग गरिन्छ ।

१. घाँटी दुखेको ठिक हुन्छ ।

२. शरीर वा जोर्नीको दुखाई निको पार्न काम गर्छ ।

३. पेट दुखेको अवस्थामा बोझो सेवन गर्न सकिन्छ । यसले आरम दिन्छ ।

४. मानसिक तनाव कम गर्न बोझो सेवन गर्न सकिन्छ ।

५. हिस्टेरिया, अनिन्द्रामा समेत यो उपयोगी हुन्छ ।

६. यसले स्मरणशक्ति बढाउन काम गर्छ ।

७. उच्च रक्तचाप नियन्त्रणमा बोझो प्रभावकारी मानिन्छ ।

८. बोझोले श्वासप्रश्वासको गति सामान्य तुल्याउन सहयोग गर्छ । दम रोगमा यसले प्रभावकारी काम गर्छ ।

९. पेटको समस्या भएमा बोझो सेवन गर्नुपर्छ ।

१०. पेटको ग्यास निकाल्न, दिसा खुलाउन, बान्ता गराउन पनि बोझो उपयोगी हुन्छ ।

कति सेवन गर्ने ?

कुनैपनि औषधीको मात्रा हुन्छ । राम्रो काम गर्छ भन्दैमा धेरै वा जथाभावी सेवन गर्दा त्यसको नकारात्मक असर पर्न सक्छ । नेपाली समाजमा उखान नै छ, धेरै खायो भने अमृत पनि बिष हुन्छ ।

चूर्ण वा धुलो बनाएर सेवन गर्ने हो भने २५ देखि ५ सय मिलिग्रामसम्म सेवन गर्न सकिन्छ । बढी सेवन गर्दा कतिपय असर गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment