Comments Add Comment

कालापानीबारे छलफल गर्न संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो

२४ कात्तिक, काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ ।

सांसदहरुले भारतले जारी गरेको नयाँ नक्साबारे प्रधानमन्त्री ओलीसँग छलफलको माग गरेपछि सोमबार प्रधानमन्त्रीलाई समिति बैठकमा आमन्त्रण गरिएको समिति सचिवालयले जनाएको छ ।

भारतीय नयाँ नक्सामा नेपाली भूभाग (लिपुलेक, कालापानी) परेको भन्दै नेपालमा सर्वत्र विरोध भइरहेको छ । तर, भारतले नेपाली भूभाग नपरेको दाबी गर्दै आएको छ ।

यस विषयमा राज्य ब्यवस्था समितिले चासो देखाएको हो ।

समिति सदस्य एवं नेकपाकी सांसद पम्फा भुसालले नेपालको भूभागलाई आफ्नो देशको नयाँ नक्सामा भारतले समावेश गरेको विषयमा प्रधानमन्त्री ओलीसहित सम्बद्ध सरोकारवाला पक्षसँग समेत छलफल गरिने बताइन् ।

यस विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले शनिबार सर्वदलीय, सर्वपक्षीय बैठक बोलाएका थिए । सर्वदलीय बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको निष्कर्ष निकाल्दै नेपाली भूभाग फिर्ता ल्याउने पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्रीलाई आमन्त्रण

यस्तै, प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि भारतीय नयाँ नक्साका विषयमा उठेका प्रश्नबारे छलफल गर्न सोमबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई बोलाएको छ ।

यसअघि पनि परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत भारतले जारी गरेको नयाँ नक्सा नेपाललाई अस्वीकार्य भएको बताइसकेको छ ।

तर, परराष्ट्र मन्त्रालयले भारतीय नयाँ नक्साका विषयमा जारी गरेको विज्ञप्तिमा प्रयोग भएका भाषा र हस्ताक्षरका सम्बन्धमा कतिपयले प्रश्न उठाएका छन् ।

यो पनि पढ्नुहोस बालुवाटारमा राष्ट्रिय सहमति: लिम्पियाधुरासम्मै नेपाली भूमि हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment