Comments Add Comment

विभाजनको संघारमा प्रगतिशील लेखक संघ

प्रलेसमा सत्तापक्षमा साथीहरु हुनुहुन्छ : विष्णु भण्डारी

२३ कात्तिक, काठमाडौं । नेपालका कम्युनिष्टहरुको साझा सांस्कृतिक मोर्चाका रुपमा स्थापित प्रगतिशील लेखक संघ (प्रलेस) विभाजनको संघारमा पुगेको छ । प्रलेसभित्र सत्तापक्ष र प्रतिपक्षको वैचारिक धु्रवीकरण तीव्र बनेको छ ।

साठी वर्ष पुरानो इतिहास बोकेको प्रगतिशील लेखक संघ २०४४ सालमा वामपन्थी लेखकहरुको साझा मोर्चाका रुपमा पुनगर्ठित भएको हो । अहिले यो संगठनमा पूर्वएमाले, पूर्वमाओवादी र मसाल समर्थित लेखकहरु समावेश छन् ।

अघिल्लो १० औं राष्ट्रिय सम्मेलनबाटै चर्केको विचारधारात्मक द्वन्द्व  ११ औं राष्ट्रिय सम्मेलनमा जीवेन्द्र देव गिरीको नेतृत्वसम्म आइपुग्दा विभाजनकै तहमा पुग्न लागेको छ ।

काठमाडौंमा प्रलेसको ११ औं राष्ट्रिय सम्मेलनका बेला ८० प्रतिशत सदस्यहरुलाई नवीकरण र सम्मेलनबारे पत्तै नदिई २० प्रतिशतले मात्रै सम्मलेन गरेको भन्दै गत चैत्रमै ३८ जना लेखकहरुले संयुक्त वक्तव्य जारी गरेका थिए । अहिले असन्तुष्टहरुले नयाँ विकल्पमा लागि गृहकार्य गरिरहेको प्रलेसका पूर्वनेताहरु बताउँछन् ।

तत्कालीन माओवादीसमर्थित अखिल नेपाल लेखक संघका केन्द्रीय नेता एवं प्रलेसका पूर्वकोषाध्यक्ष विष्णु भण्डारी अब प्रलेसको औचित्य सकिएको बताउँछन् । अहिले प्रलेसको विकल्पमा नयाँ सांस्कृतिक मोर्चा निर्माणका लागि अवधारणामा काम भइरहेको भण्डारीले जानकारी दिए ।

यसै सन्दर्भमा हामीले  भर्खरै ‘सुनको पहाड’ उपन्यास लेखेका प्रगतिशील लेखक भण्डारीसँग प्रलेस छाडेर दुईवर्ष अगाडि नै तपाईले ‘समाजवादी लेखक संघ’ किन खोल्नुभएको थियो भनेर प्रश्न गर्‍यौं । साथै हामीले भण्डारीसँग पशुपति शर्मा र भिटेनका बारेमा पनि सोध्यौं ।

भण्डारीसँग अनलाइनखअबरले गरेको कुराकानी-

यहाँले करिब २ वर्ष पहिले नै नेकपा माओवादी केन्द्र, उसको सांस्कृतिक मोर्चा र प्रलेस  छाड्नुको कारण के थियो ?

प्रलेस एउटा युगको सांस्कृतिक आन्दोलनको अगुवाइ गरेको संगठन हो । यसको अवधारणामै के प्रष्ट छ भने साम्राज्यवाद र सामन्तवाद विरोधी कला साहित्यको जगेर्ना गर्ने । तर, अहिलेसम्म आइपुग्दाखेरि सामन्तवाद धरासायी भएको अवस्थामा अब प्रलेसको अवधारणामा पुनर्मुल्यांकन गर्नुपर्छ भन्ने मेरो भनाइ थियो । हिजैको मूल्यांकनले मात्र अब प्रलेस अगाडि बढ्न सक्दैन । जुन उद्देश्यका लागि यसको स्थापना गरिएको थियो, त्योमध्ये एउटा काम पूरा भयो, अब नयाँ कामका लागि नयाँ अवधारणाको निर्माण गर्नुपर्छ भन्ने मेरो धारणा थियो ।

मेरो अर्को भनाइ के थियो भने प्रलेस स्थापनाका बेला राजनीतिक पार्टीको कोटाबाट निर्माण गर्ने भन्ने थिएन । तर, पछिल्लो चरणमा आइपुग्दा प्रलेस पार्टीका सदस्यहरुको मात्रै लेखक संघ भयो । पार्टी बाहिरका प्रगतिशील लेखकलाई ढोका बन्द गरिएको मैले कार्यकारी ठाउँमा गएर काम गर्दाखेरि महसुस गरें ।

अहिले प्रलेसमा जानका लागि राम्रो, प्रगतिशील लेखक हुनुपर्दैन, पार्टीको कार्यकर्ता भए पुग्छ भन्ने अवस्था सिर्जना भएपछि मैले यसको संगठनात्मक संरचनाको कुरा पनि उठाएँ ।

यीनै दुईवटा सैद्धान्तिक र सांगठानिक प्रश्नहरु उठाउँदै अबको प्रगतिशील सांस्कृतिक आन्दोलनको नेतृत्व यो प्रलेसले गर्न सक्दैन र अब प्रलेसको औचित्य छैन भनेर मैले घोषणा गरें । त्यसपछि म माओवादी पार्टीको सांस्कृतिक मोर्चाबाट अलग भएको केही समयपछि प्रलेसबाट अलग भएको हुँ । मैले त्यत्तिकै रुञ्चे भएर, आँशु बगाएर प्रलेस छाडेको होइन ।

तपाईले प्रलेसमाथि लगाएका आरोपहरु अहिले २ वर्षपछि फर्केर हेर्दा प्रमाणित भए त ?

एकदमै पुष्टि भएको छ । अहिले जीवेन्द्रजी पार्टीकै कोटा, एमालेबाट प्रलेसको अध्यक्ष हुनुभएको छ । महासचिव मसालबाट हुनुहुन्छ । केन्द्रीय नेतृत्व दलको कोटाबाटै छ । सबै दलहरुवीच भागवण्डा छ । एमाले, माओवादी र मसालका एकै ठाउँमा हुनुहुन्छ । विप्लव र मोहन वैद्य किरणको पार्टीका लेखकहरु चाहिँ प्रलेसबाट अलग हुनुहुन्छ ।

यसको ११ औं सम्मेलनपछि अरु स्वतन्त्र साथीहरु पनि प्रलेसबाट अलग भइसक्नुभएको छ । यसले गर्दा हामीले दुई वर्ष पहिले भनेका कुराहरु पुष्टि भएका छन् । अहिलेको प्रलेसमा सत्तापक्षका मात्रै साथीहरु हुनुहुन्छ । त्यसैले अब यो संगठन प्रगतिशील रहेन भन्ने हो मेरो भनाइ  ।

पार्टीका नेताहरुले आँखा छोपिने गरी माला लगाएका छन्, त्यसलाई प्रलेसका लेखकले तपाईले ठीक गर्नुभएछ नभनेसम्म राम्रो व्यवहार हुँदैन । देख्दादेख्दै महराजीको काण्ड बाहिर आइसक्यो

हामीले त्यतिखेरै  प्रलेसको पुनःव्याख्या गर्नुपर्छ, नयाँ अध्ययन गर्नुपर्छ भनेर घोषणा गरेको २ बर्ष पछाडि त्यो पुष्टि भयो । मलाई खुसी केमा लाग्यो भने मैले  जे उठाएको थिएँ, म गलत थिइनँ ।

मैले लेख्दै, बोल्दै गएँ र मलाई विस्तारै धेरै साथीहरुले सपोर्ट गर्नुभयो । मेरो भनाइ पुष्टि हुँदै गयो । ११ औं सम्मेलनमा स्वतन्त्र स्रस्टाहरु बाहिर निस्कनुभयो ।

म त्यहाँबाट बाहिर निस्केपछि मैले बोलेको कुरामा तत्कालीन अध्यक्ष मात्रिका पोखरेलजीले के भन्नुभयो भने पटक-पटक प्रलेसलाई गाली गर्ने धेरै साहित्यकारहरु राजावादी भए ।

तर, सत्तापक्षबारे हाम्रो प्रष्ट बुझाइ के हो भने सत्तारुढ नेकपा सही कम्युनिस्ट पार्टी होइन । हिजो माओवादीले हजारौको बलिदानपछि  र जनताको ठूलो त्यागपछि सैद्धान्तिकरुपमा  कता गएको छ, प्रष्ट देखिएको छ । पार्टी सत्तामा जाँदैमा  त्यहाँ किन केही पनि परिवर्तन ल्याउन सकेन ? सत्तामा गएर प्रगतिशील हुने भनेदेखि यो कुराहरुलाई लागु गर्न पनि त सक्नुपर्‍यो नि ।

के प्रलेसमा रहेका लेखकले सत्ताको आलोचना नै गरेका छैनन् त ? त्यहाँ आलोचनात्मक चेत नै सकियो भन्न मिल्छ ?

पछिल्लो चरणमा आइपुग्दा के देखिन्छ भने, जस्तो – गोहीको आँशु भन्छन् नि, लेखक हुनुका नाताले केही आलोचनात्मक हुनपर्छ है भनेर प्रलेसले प्रेस विज्ञप्तिसम्म जारी गर्ने गरेको छ ।

तर, विज्ञप्ति जारी गर्नु र व्यवहारिकरुपमा प्रगतिशील काम गर्नु  फरक कुरा हो । प्रगतिशील आन्दोलन भनेको त जहिले पनि सत्ताको प्रतिपक्ष भएर काम गर्ने हो । अहिले प्रलेसले त्यसो गर्ने सम्भावना देखिँदैन भन्ने हाम्रो मूल्याङ्कन हो ।

यो पनि पढ्नुहोस भारतविरुद्ध ५३ प्रगतिशील वामपन्थीको संयुक्त विज्ञप्ति

पार्टीका नेताहरुले आँखा छोपिने गरी माला लगाएका छन्, त्यसलाई प्रलेसका लेखकले तपाईले ठीक गर्नुभएछ नभनेसम्म राम्रो व्यवहार हुँदैन । देख्दादेख्दै महराजीको काण्ड  बाहिर आइसक्यो । अब त्यहाँका लेखकहरुले महराजीमाथि षडयन्त्र भयो भन्नुपर्ने होला ।

प्रगतिशील लेखक संघमा भएका साथीहरु बिहान मन्दिरमा जानुहुन्छ र पूजा गर्नुहुन्छ  । धर्मकर्ममा लिप्त हुनुहन्छ । जिम्मेवार मान्छेहरु यदि कम्युनिस्ट हो भने त्यो कतिसम्म गर्ने भनेर भन्नुपर्यो नि ।

ठीक छ, सबैजना प्रगतिशील भएर हिँड्न नसक्लान्, केन्द्रीय कमिटीको  मापडण्ड र आचार संहिंता त हुनुपर्‍यो नि । तर, जातीय विभेद गर्ने पनि छन् धार्मिक विभेद गर्नेहरु पनि छन् । तिनीहरुको सिर्जना कतापट्ट िगइरहेको छ ? सिर्जनाले के भनिरहेको छ ? व्यवहारले के भनिरहेको छ ? पहिला त यसैमा प्रगतिशील लेखक संघको सैद्धान्तिक अवधारण स्पष्ट हुनुपर्‍यो ।  र, सरंचनात्मक, संगठनात्मक सोच पनि नयाँ हुनपर्‍यो ।

हामीले के भनेका छौं भने अहिलेको समाज दलालहरुको नेपाली समाज हो । पुँजीवाद त पुजीँवाद नै हो, तर दलाल पुजीँवाद हो । यो अवस्थामा अबको कला साहित्यले दलालहरुको विरोध गर्नुपर्छ भन्ने हो । तर, अहिलेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नै दलालको पक्षधर हो ।

मैले २०७२ सालमा  पहेंलो घाम उपन्यास लेखेपछि ममाथि माओवादीभित्र चारैतिरबाट हमला भयो । मैले के सोचें भने अब यहाँभित्र दलाल पुँजीवादीको आलोचना गरेर लेख्न सकिँदैन ।  दलाल पुँजीवाद विरोधी नयाँ मोर्चाको  आवश्यकता छ ।

अब के गर्नुहुन्छ त ? प्रलेसको पुनर्गठन गर्नुहुन्छ ?

अब प्रगतिशील लेखक संघको विकल्प चाँडै जन्मिन्छ । समन्वय कमिटीजस्तै बनाएर अहिले काम भइराखेको छ । यो मुभमेन्टलाई पुनर्गठित गर्न हामी लागिराखेका छौं ।

अब प्रसंग बदलौं । पशुपति शर्माको गीतमाथि नेकपा सरकारले लगाएको प्रतिबन्धबारे के भन्नुहुन्छ ? के त्यो गीत पनि ‘अश्लील’ थियो ?

पशुपति शर्माको गीतमा कार्यकर्तालाई कुकुरसँग तुलना गरियो । तर, यतिका आधारमा प्रतिवन्ध लगाउनु हुँदैनथ्यो ।  हो, वास्तवमा पार्टीले जतिसुकै नराम्रो काम गरे पनि कार्यकर्ताहरु पुच्छर हल्लाएर बस्छौं  । त्यो भएको हुनाले त्यो गीतमा प्रयोग भएको शब्द अश्लील  होइन ।

दुर्गेस र भिटेनको गिरफ्तारी नि ?

गिरफ्तारै गर्नुपर्ने त होइन । शिष्ट ढंगले बोलाएर सेन्सर गर्न लगाएको भए हुन्थ्यो । सच्याउनुपर्ने भयो है भनेको भए हुन्थ्यो । तर, कलाकारलाई नित्साहित गर्नेगरी संघीय सरकारले नै गिरफ्तार गर्नुपर्ने जस्तो लाग्दैन । त्यस्तै हो भने त अरु पनि गीतहरु होलान् नि त, तिनीहरुलाई पनि नियम एउटै बन्नुपर्‍यो ।

तर, समाजले नपचाउने शब्दहरु कति प्रयोग गर्ने भन्ने कुरामा कलाकार, सर्जकले पनि आफैं विचार गर्नुपर्छ । पशुपति शर्माको गीतमा अश्लील शब्द थिएनन् । तर,  भिटेनको जुन  सवाल छ, यौनिक शब्दहरुबाट अलि बच्नुपर्छ । र, हामीले यस्ता विषयलाई साम्प्रदायिकतासँग जोडेर हेरिनु पनि उचित हुँदैन । जस्तो- जनजाति भएका नाताले उसले बोल्यो भनेर गइयो भने त्यो सही हुँदैन । कलाकार आफैंले शिष्ट ढंगबाट प्रस्तुत हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment