५ जेठ, काठमाडौं । सत्ता पक्ष सांसदहरुले प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आजै गर्ने अडान राखेका छन् ।
आज बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकमा विपक्षी दलहरुका सदस्यहरुले समय माग गरे पनि रास्वपातर्फका सदस्यहरुले आजै सुनुवाइ गर्नु पर्ने अडान लिएका हुन् ।
समितिका सदस्य रहेका रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले आजै उजुरी सुन्ने, कार्ययोजना सुन्ने र छलफल गर्नु पर्ने बताए ‘मैले ७ वटा जति उजुरी पढिसकें । सरसर्ती हेर्ने हो । कण्ठस्थ गर्ने होइन । आज उजुरी सुनौं, कार्ययोजना सुनौं । त्यसपछि समय चाहिने जस्तो लागे छलफल गरौंला’, उनले भने ।
समितिका अर्का सदस्य मधु चौलागाईंले उजुरी प्राप्त गरिसकेकोले अब अघि बढ्नु पर्ने बताए । ‘हामी सुनुवाइमा बसेका छौं । सबै डकुमेन्ट पाएका छौं । अगाडि बढौं’, उनले भने ।
यस्तै, सदस्य राजीव खत्रीले अब उजुरी सुन्दै जानेर प्रक्रिया रोक्न नहुने बताए । रास्वपाकै लेखजंग थापाले सिमिति पक्ष र प्रतिपक्ष नभएको बताउँदै आजै सुनुवाइ सक्नु पर्ने बताए ।
समितिका सभापति बोध नारायण श्रेष्ठले उजुरी सुनेपछि प्रस्तावित प्रधानन्यायाधीशलाई प्रश्न गर्न सकिने बताउँदै यसलाई सही रुपमा बुझ्न आग्रह गरे । ‘उजुरी सुनेपछि प्रस्तावित प्रधानन्यायाधीशलाई प्रश्न गर्न सक्छौं । यसलाई नतिजा यही हो भन्दा पनि दुवै सम्भावना छ । रिजेक्ट हुन पनि सक्छ अनुमोदन हुन पनि स्क्छ । अहिले दुइटै कुरा छ’, उनले भने ।
प्रतिक्रिया 4