Comments Add Comment
अफ्ताब आलम प्रकरण :

इँटाभट्टा जलाएको भनिएका अख्तर वैदेशिक रोजगारीबाट नफर्किएको पत्नीको दावी

२२ कात्तिक, रौतहट । नेपाली कांग्रेसका सांसद मो. अफताव आलम प्रकरणमा जिल्ला अदालत रौतहटमा थुनछेक बहस भइरहेको छ । शुक्रबार वादी पक्षका वकिलहरुको बहस सकियो ।

आलमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने, धरौटीमा छोड्ने वा तारेखमा छोड्ने भन्नेबारे बहस भइरहेका बेला यो मुद्दामा नयाँ ट्वीस्ट आएको छ ।

राजपुर बम विस्फोटमा घाइते भएर इँटा भट्टामा लगाइएको भनिएका ओसी अख्तरकी पत्नीले उनी वैदेशिक रोजगारीमा गएर नफर्किएको भन्दै अदालतमा निवेदन दिएकी छन् ।

अख्तरकी पत्नी अमना खातुनले ओसीको विस्फोटमा मृत्यु भएको नभई रोजगारीका लागि विदेश गएको र नफर्किएको जिकिर गरेकी छन् । यद्यपि उनको निवेदन दर्ता भएको छैन ।

खातुन सरकारी गवाह हुन् । उनले आफ्ना कुरा राख्नु परे सरकारी वकिलमार्फत आउनुपर्ने हो । तर प्रतिवादी आलमका वकिलमार्फत आएपछि वादी पक्षका वकिलहरुले प्रतिवाद गरेका छन् । न्यायाधीशले भने निवेदनलाई पछि हेर्ने बताएका छन् ।

मुद्दामा वादी पक्षमा रहेका एक अधिवक्ताअनुसार आलमका मानिसहरुले अहिले पनि सरकारी गवाहलाई प्रभावित पार्ने प्रयास गरिरहेका छन् । त्यसकै परिणाम स्वरुप खातुनको निवेदन आएको हो ।

स्रोतका अनुसार आलमका मानिसहरुले खातुन परिवारलाई फकाउने प्रयास गरिरहेको भिडियो समेत प्रहरीले प्राप्त गरेको छ । त्यसमा अलामका मानिसहरुले खातुन परिवारलाई हामी मिल्नुपर्छ भनिएको प्रष्ट सुनिन्छ, तर लेनदेन खुलेको छैन ।

खातुनका बुवा यो मुद्दाका एक बलियो प्रमाण हुन्, जसले बम विस्फोटमा घाइते भएकाहरुलाई इँटा भट्टामा जलाएको गहुँबारीमा लुकेर हेरेको बताएका थिए । उनले नै २०६५ सालमा दिएको लिखित बयानलाई बलियो प्रमाण मानिएको छ । तर उनकी छोरीले नै मृतक भनिएका अख्तर विदेशमा गएर नफर्किएको भन्दै निवेदन दिएका हुन् ।

यद्यपि यसले मुद्दालाई प्रभावित नपार्ने सरकार पक्षीय वकिलहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment