Comments Add Comment
पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीको एउटै स्वर :

‘मदन भण्डारी राजमार्ग र निजगढ विमानस्थलले चुरे बर्बाद हुने भयो’

२३ कात्तिक, जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुरे क्षेत्र जोगाउन सबैले पहल गर्नुपर्ने बताएका छन् ।

जनकपुरधाममा शुरु भएको साहित्यिक महोत्सवमा शनिबार ‘चुरेको चिन्ता’ सत्रका पूर्वराष्ट्रपति रामवरण यादव र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मदनभण्डारी राजमार्गले चुरे बर्बाद हुने बताए । दुबैले बारास्थित निजगढमा बनाउन लागिएको विमानस्थल पनि केही किलोमिटर दक्षिणतर्फ सार्न सुझाव दिए ।

डा. यादव राष्ट्रपति र नेपाल प्रधानमन्त्री हुँदा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सुरु भएको थियो ।

पार्टीहरुले क्रसर मालिकलाई टिकट दिन्छन्

पूर्वराष्ट्रपति यादवले चुरे संरक्षणको गुरुयोजना बनेपनि कानून नबनेको गुनासो गरे । ‘मैले त राष्ट्रपति चुरे संरक्षण अगाडि बढाएँ, तर कार्यान्वयन गर्ने सरकारले हो’ उनले भने, ‘२० बर्षको गुरुयोजना बनेको छ तर कानून बनाउने कोई माई बाप छैन ।’

‘मलाई लाग्छ मेरो पालाका प्रधानमन्त्री नेपालज्यू पनि अहिले चुरेको कुरा बिर्सिसक्नु भएको छ’, उनले अघि भने, ‘मैले यहाँसम्म ल्याएको छु । तर तपाईं त भोलिका पार्टी अध्यक्ष, प्रधानमन्त्री, राष्ट्रपति बन्नुहुन्छ । चुरेको मुद्दालाई बोक्नुस् ।’

उनले विज्ञहरुसँग गहन छलफल गरेर चुरे संरक्षणका लागि आवश्यक कानून ल्याउन संघीय र प्रदेश सरकारलाई सुझाव दिए । विगतमा चुरे क्षेत्रका रुखहरु कटान भएपनि अहिले गिट्टी, ढुँगा, बालुवा उत्खनन भइरहेको भन्दै उनले भने, ‘यो कार्यमा नेकपा, कांग्रेस, मधेसवादी दलका कार्यकर्ता खुल्लेआम लागेका छन् ।’

पार्टीहरुले पनि क्रसर उद्योगका मालिक र ठेकेदारहरुलाई चुनावको टिकट दिने गरेको उनको गुनासो थियो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता समेत रहेका पूर्वप्रधानमन्त्री नेपालतर्फ इंगित गर्दै यादवले भने, ‘अहिले उहाँहरुकै सरकार छ । उहाँले यस बिषयमा बहस गराउन सक्नुहुन्छ ।’

उनले अघि भने, ‘पहाडमा डोजर आतंक छ, पहाडलाई भत्काउने क्रम जारी छ । यस्तालाई संरक्षण दिइरहने ?’

चुरेलाई बरदानतर्फ उन्मुख गरौंः नेपाल

पूर्वप्रधानमन्त्री नेपालले भने आफ्नो पालामा सगरमाथा आधार शिविरको कालापत्थरमा महत्वपूर्ण मसन्त्रपरिषद् बैठक बसेर वातावरणको भयावह अवस्थाको बिषयमा चर्चा गरिएको स्मरण गरे । सगरमाथादेखि चुरे र चुरेबाट मधेस आउँदासम्म मधेशको अवस्था भयाबह रहेको नेपालले बताए ।

आफ्नो प्रधानमन्त्रीत्वकालमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अगाडि बढाउँदा बृक्षारोपण, तालतलैयाको संरक्षणसहितका काम गरिएको उनले सुनाए । उनले भने, ‘बरदान भएको चुरेलाई अभिशाप बनाउने काम भएको छ । यसलाई बरदानतिर कसरी उन्मुख गराउने त्यसतर्फ सबैलाई लाग्नुपर्छ ।’

उनले गिट्टीबालुवा उत्खनन रोकेर चारकोशे झाडीको जंगल जोगाउनु पर्नेमा समेत जोड दिए । संघ र प्रदेश सरकारले कानून बनाउनुका साथै बजेट छुट्याएर जनसहभागितामुलक अभियान चलाए चुरे बरदान सावित हुने उनको भनाइ छ ।

निजगढ विमानस्थल सारौं, मदनभण्डारी राजमार्ग रोकौं

पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीले निर्माणधीन मदनभण्डारी राजमार्गको विरोध गरेका छन् । ‘चुरेको संरक्षण गर्नुको सट्टा सरकारले नै चुरेको छातीमा डोजर चलाएर चिरिरहेको छ’ पूर्वराष्ट्रपति डा. यादवले भने, ‘चुरेलाई बर्बाद गरी मदनभण्डारी राजमार्ग बनाउने काम भइरहेको छ । यसले चुरेसहित देशको विनाश निश्चित छ ।’

उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सन्दर्भमा पुनः अध्ययन गर्न आग्रह गरे । ‘निजगढमा विमानस्थल निर्माण भए ४ सय बर्ष पुराना रुखहरु काटिने र यसले चुरेको अवस्थालाई कमजोर बनाउनेछ’ पूर्व राष्ट्रपति यादवले भने, ‘विमानस्थल त्यहाँबाट अर्काे ठाउँमा लग्नु जरुरी छ ।’

पूर्वप्रधानमन्त्री नेपालले पनि मेचीदेखि महाकालीसम्म कति वटा राजमार्ग चाहिन्छ ? भनेर प्रश्न गरे ।

‘नेपालको जनसंख्या १० करोडसम्म भयो भने कतिले राजमार्गले धान्छ ? कृषि उत्पादन र कलकारखानाको सामान ओहोरदोहोरका लागि कति सडक चाहिन्छ ? दक्षिण पुग्न, उत्तर पुग्न र मेचीमहाकाली पुग्न कति राजमार्ग चाहिन्छ ?’ उनले भने, ‘त्यसबारे कुनै चिन्तन छैन । लहडमा सडक बनाउने काम भइरहेको छ ।’

पूर्वपश्चिम, हुलाकी र मध्यपहाडी राजमार्ग बनिसकेकाले अर्को राजमार्ग नचाहिने उनले बताए । ‘राजमार्गको हिसाबले तीन वटा भए पुग्छ’ नेकपा वरिष्ठ नेता नेपालले भने, ‘पूर्व पश्चिम राजमार्गको छेउमा रेल्वे लाइन राखे पुग्छ ।’

निगजढ विमानस्थलका सन्दर्भमा भने उनले पूर्वराष्ट्रपति यादवभन्दा फरक मत राखे । अन्तराष्ट्रिय विमानस्थलका लागि आठ स्थानको अध्ययन गर्दा निजगढ नै उत्तम देखिएको उनले बताए । यद्यपि पुराना रुखहरु काटिने र जंगली जनावरहरुलाई समस्या हुने भएकाले केहि दक्षिणतिर सार्नु उपयुक्त हुने बताए । उनले भने, ‘थोरै दक्षिणतिर लानैपर्छ । नभै धेरै पुरानो सालका रुखहरु बर्बाद हुन्छ ।’

फेरि बिरोध गर्‍यो भन्छन्

नेता नेपालले मदनभण्डारी राजमार्ग नचाहिने र निजगढ विमानस्थललाई सार्नुपर्ने धारणा राख्दा फेरि आफ्नै पार्टीको सरकारको विरोध गर्‍यो भन्न सक्ने धारण राखे । राम्रो कुरा बोल्दा पनि विरोध गरेको देख्नेहरु रहेको भन्दै उनले भने, ‘माधवकुमार नेपालले फेरि सरकारको बरोध गर्‍यो भन्छन् । बोल्न पनि गाह्रो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment