Comments Add Comment

नारायणी पुलमा तारबार लगाउन दबाब

२४ कात्तिक, चितवन । पश्चिम नेपाललाई जोड्ने नारायणी नदीमाथिको पुलमा तारबार गर्न दबाव बढेकाे छ । पुलबाट हाम्फालेर आत्महत्या गर्ने क्रम बढेपछि  तारबार लगाउन दबाव बढेको हो ।

भरतपुरका युवाहरूले हालै पुलमा तारजालीको छेकबार लगाउनुपर्ने माग गरेका हुन् । भरतपुर महानगर युवा सञ्जालका संयोजक सन्देश वाग्लेको नेतृत्वमा गएको टोलीले कात्तिक १८ गते भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । उनीहरुले पुलको दायाँ–बायाँतर्फ सुरक्षित रेलिङ र तरबार लगाउनुपर्ने माग गरेका छन् ।

चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले सुरक्षाका लागि पुलमा बार लगाउनुपर्ने बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका पूर्वप्रमुख सन्तोष पन्तले पुलका दुवैतर्फ पैदलयात्रीहरुका लागि लगाइएको रेलिङ होचो र मानिस छिर्न मिल्नेसमेत भएकाले तत्कालै पुलको सतहदेखि कम्तीमा पनि ३ मिटर अग्लो तारजाली लगाउनु बताउँछन् । उनले सम्भव भएसम्म जालीमाथिको एक मिटर भागमा कसैले छुँदा साइरन बज्ने प्रविधि जडान गर्नुपर्ने बताए । घटना भए तत्काल उद्धारका लागि मोटरवोटसमेत राखिनुपर्ने पन्तको भनाइ छ । भरतपुर महानगरपालिकाले प्राविधिकहरुको सल्लाहमा सुरक्षाका लागि उपयुक्त काम गर्ने जनाउँदै आएको छ ।

मानसिक रोग विशेषज्ञ डा. सुनीलकुमार शाहले पुलमा जाली लगाउनु नराम्रो नभए पनि यसले नै आत्महत्या घटाउन सकिन्छ भन्ने कुरा सही नभएको बताए । ‘समस्या एकातिर छ, उपचार अर्कातिर खोजेर हुँदैन, एकातिर छेके अर्को बाटो रोज्छ’, चिकित्सक डा. शाहले भने, ‘नारायणी पुलले आत्महत्या गर्न तान्ने होइन, पुलतिर धकेल्ने के के कारण हुन् भन्ने खोजी हुनपर्दछ ।’ खाना खानुअघि साबुन पानीले हात धुनपर्दछ भनेर सिकाएजस्तै स्थानीय तहले मानसिक रोग र समस्याका बारेमा सचेतना फैलाउनुपर्ने तर्क डा. शाहको छ ।

‘पुलमा जाली त लगाउला, पुलमुनि के गर्ने, डुंगामा चढ्दा हाम फाल्न सक्छ’, काफ्लेले भने, ‘जनचेतना फैलाउनुपर्दछ, मानसिक समस्या लुकाउनु हुँदैन । यो पागलपन होइन, भन्ने सन्देश दिनुपर्दछ ।’

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार, पछिल्लो सात महिनामा ६ जनाले पुलबाट हाम्फालेर आत्महत्या गरेका छन् । आत्महत्या गर्ने र नदीमा डुबेर मर्नेको संख्या भने १२ छ । नदीमा हाम्फालेर आत्महत्या गर्नेमा पुरूष चार जना र महिला दुई जना छन् ।

सम्वत् ०३६ मा बनेको नारायणी नदीमाथिको पुल दुई लेनेको छ । होचो रेलिङसहितको फुटपाथ भएको पुल करिब ४०२ मिटर लम्बाइको छ । पश्चिमतर्फ गैंडाकोट र पूर्व नारायणगढ बजार भएकोले पुलमा अधिक चाप हुने गर्दछ । पुल जीर्ण पनि बन्दैछ । नारायणगढ आइपुग्ने मानिसहरु यो पुलमा जाने, फोटो खिच्ने रमाउने पनि गर्छन् । गर्मीको बेलामा पुलमा शीतलता खान आउनेहरुको संख्या अधीक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment