
News Summary
Generated by OK AI. Editorially reviewed.- राणाकालीन भवनहरू नेपाली कौशल र स्थानीय सामग्रीबाट निर्माण भएका थिए, जसमा युरोपेली डिजाइन र ब्रिटिस प्रभाव स्पष्ट देखिन्छ।
- सिंहदरबार, शीतल निवास, हरिहर भवन, जावलाखेल दरबार लगायत भवनहरूको ऐतिहासिक महत्व ठूलो छ । यसमध्ये केही सरकारी कार्यालय र केही संग्रहालय बनेका छन्।
न त अरबौं धनराशी । न त अत्याधुनिक प्रविधि । न त विदेशी इन्जिनियरहरूको ठूलो सहयोग । न त निर्माण सामग्री ढुवानी गर्ने उन्नत गाडी र यन्त्रहरू नै ।
तैपनि, तत्कालीन राणा शासकहरूले नेपाली कौशल र सीमित स्रोतहरूबाट निर्माण गरेका भवनहरूको कला र वास्तुकला अहिले पनि विश्वमा चर्चित छ ।
नेपाली कालिगढको उच्च सीप र स्थानीय सामग्रीको उपयोगबाट विशाल भवनहरू निर्माण भए । यी दरबारमा युरोपेली डिजाइन पाइन्छ । यसको कारण हो, सुगौली सन्धिपछि नेपालमा ब्रिटिसहरूको प्रभाव ।
अंग्रेज सरकारलाई गोर्खाली सैनिक पठाउने, आपसी मित्रता र कूटनीतिक नजिकताका कारण राणाहरूले ब्रिटिसहरूसँग विशेष विश्वास र सहकार्य कायम गरेका थिए । त्यसै प्रभावले उनीहरूले युरोपेली शैलीका दरबार र भवनहरू बनाउन प्रेरणा पाए ।
आज ती भवन सरकारी कार्यालय, संग्रहालय वा पर्यटकीय स्थल बनेर पनि आफ्नो ऐतिहासिक महत्व कायम राख्छन् ।
दुःखको कुरा, धेरै भवनहरू प्राकृतिक प्रकोप, आन्दोलन वा आगलागीको चपेटामा परे पनि तिनीहरूको ऐतिहासिक महत्व कायम छ।
सन् १९३४ र २०१५ को भूकम्प, १९७३ को आगलागी तथा हालै २०८२ भाद्र २३ र २४ मा भएको जेनजी आन्दोलनमा भएका आगलागीजस्ता घटनाले केही भवनहरू प्रभावित भएका छन् ।
१. सिंहदरबार
काठमाडौंमा अवस्थित सिंहदरबार सन् १९०८ मा चन्द्रशमशेर जंगबहादुर राणाले निर्माण गरेका हुन् । यो दरबारको डिजाइन कुमार नरसिंह राणा र किशोर नरसिंह राणाले गरेका थिए, जुन युरोपेली दरबारहरूबाट प्रेरित थियो ।
युरोपेली शैलीमा बनेको यस दरबारको प्रवेशद्वारमा सिंहका दुई मूर्तिहरू छन्, जसकारण यसको नाम सिंहदरबार रहन गएको हो ।
सिंहदरबारको वास्तुकला पल्लादियन, कोरिन्थियन, नियोक्लासिकल र बारोक जस्ता युरोपेली शैलीहरूबाट प्रभावित छ, जसले यसलाई अत्यन्त भव्य र रोचक बनाएको छ ।
चन्द्रशमशेर शिकार तथा कलाका सौखिन भएकाले पनि यहाँको भित्ताहरू शिकार गरिएका जनावरका चित्र तथा युरोपेली शैलीका चित्रकलाहरूले सजाइएका थिए ।
दरबारमा भव्य हलहरू, अग्ला स्तम्भहरू, फराकिला आँगनहरू छन् । भनिन्छ, यहाँ ८ वटा चोक र १७०० कोठाहरू थिए, जसमा संगमरमरको भुइँ, चित्र कोरिएका छतहरू, चाँदीका फर्निचर र क्रिस्टलका बत्तीहरूले सजाइएको थियो ।
सन् १९७३ को आगलागीमा यो दरबार आंशिक रूपमा नष्ट भएपछि पुनर्निर्माण गरियो । हालै २०८२ भाद्र १७ मा जेनजी आन्दोलनका क्रममा यसमा पुनः आगलागी भयो ।
२. शीतल निवास
शीतल निवास काठमाडौंको महाराजगञ्जमा अवस्थित राणाकालीन भव्य भवन थियो । वि.सं.१९८० मा प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नी जेठी बडामहारानी लोकभक्त लक्ष्मी देवीतर्फ कान्छा छोरा कृष्णशमशेरका लागि यो भवन बनाउन लगाएका थिए ।
सो भवनमा नियोक्लासिकल शैलीमा आधारित वास्तुकला छन् । जसमा फ्रेन्च झ्याल र ग्रीक स्तम्भहरूको स्पष्ट प्रभाव देखिन्छ ।
नियो–क्लासिकल शैली भन्नाले ग्रीस–रोमका पुराना भवनको अनुकरणमा बनेको नयाँ शास्त्रीय शैली हो । यही शैलीमा यो दरबार बनेको छ ।
भवनको डिजाइन कुमार नरसिंह र किशोर नरसिंहले गरेका थिए । बाहिरी भागमा भवनको भव्यता फ्रेन्च झ्याल र स्तम्भहरूको आकार, प्राङ्गणको लेआउट, र विस्तृत बगैंचाबाट झल्किन्छ । छत र छानोका प्लास्टरमा बनाइएका सजावटी आकृतिहरूले भवनलाई युरोपेली शैलीको भव्यता दिएका छन् ।
सिमेन्ट र पत्थरको प्रयोग सँगसँगै, छानो र ढोकामा काठ नेपाली शिल्पकला र स्थानीय सामग्री समावेश गरिएको छ । भित्री भागमा हल्का रङको पलास्टर, सिँढीको रेलिङमा जटिल आकृतिहरू, झ्याल–ढोका र भित्री आँगनको व्यवस्था, सबैले भवनलाई सौन्दर्य र भव्यतामा अनुपम बनाउँछन् ।
सन् १९३४ को भूकम्पले भवनको केही भागलाई क्षति पुर्याएपछि यसलाई पुनर्निर्माण गरिएको थियो । वर्तमानमा यस भवनलाई राष्ट्रपतिको कार्यालयको रूपमा प्रयोग गरिन्छ । जुन भाद्र २३, २४ को जेनजी आन्दोलनमा प्रदर्शनकारीहरूले आगजनी गर्दा क्षतिग्रस्त बनेको छ ।
३.हरिहर भवन
हरिहर भवन ललितपुरमा अवस्थित राणाकालीन भव्य दरबार हो । चन्द्रशमशेरले सन् १९१० को दशकमा आफ्ना छोरा शंकरशमशेरको निवासका लागि यो भवन बनाउन लगाएका थिए ।
यसको डिजाइन पनि कुमार नरसिंह राणा र किशोर नरसिंह राणाले गरेका थिए । भवनमा नियोक्लासिकल र बारोक शैलीको मिश्रण पाइन्छ, जसले यसलाई राणाकालीन अन्य भवनहरूभन्दा भिन्न र कलात्मक बनाएको छ ।
भवनको आँगन युरोपेली नवशास्त्रीय शैलीको छ । ठूला हल, अग्ला स्तम्भ, गोलाकार आर्क र स्तम्भको टुप्पामा गरिएको बारोक शैलीको सजावटले भवनमा भव्यता र आधुनिकताको मिश्रण देखाउँछ ।
बाहिरी सतह सेतो प्लास्टरले ढाकिएको छ र भित्तामा गरिएको सूक्ष्म मोल्डिङहरूले कलात्मक सौन्दर्य थपेको छ । झ्याल–ढोकामा प्रयोग गरिएको नेपाली बुट्टेदार काठले भवनमा स्थानीय मौलिकता कायम राखेको छ । भव्य आँगन र वरिपरिको बगैंचाले भवनलाई खुला र शान्त वातावरण प्रदान गरेको छ ।
शंकरशमशेर सन् १९५० सम्म यही भवनमा बसेका थिए, तर सन् १९५२ मा सरकारले अधिग्रहण गरेपछि यस भवनलाई प्रशासनिक प्रयोजनमा प्रयोग गर्न थालियो । हाल यहाँ कृषि विभाग, राष्ट्रिय पुस्तकालय र मानवअधिकार आयोगका कार्यालयहरू सञ्चालनमा छन्।
४. जावलाखेल दरबार
जावलाखेल दरबार काठमाडौंको जावलाखेल क्षेत्रमा अवस्थित राणाकालीन भव्य निवास हो, जसलाई वीरशमशेर जंगबहादुर राणाले १८९७ मा आफ्ना छोरा जुड्ढशमशेर र उनकी आमा जुँहार कुमारीको लागि निर्माण गराएका थिए ।
यसको डिजाइन जोगबीर स्थापित (भजुमान) द्वारा गरिएको थियो । यसमा नियोक्लासिकल शैलीमा बारोक तथा मुगल कला–कृतिको प्रभाव मिश्रित छ ।
दरबारको लेआउट, विशाल आँगन र सुव्यवस्थित बगैंचाले भवनमा भव्यता र सन्तुलन थपेको छ ।
भित्री र बाहिरी सजावटमा युरोपेली शैली स्पष्ट देखिन्छ, तर निर्माणमा स्थानीय सामग्री र नेपाली शिल्पकला प्रयोग गरिएको छ । खम्बा, झ्याल–ढोका र छतको रंगरोगनले नेपाली परम्परागत मूर्तिकला तथा सजावट स्पष्ट रूपमा झल्किन्छ ।
१९३४ को भूकम्पमा भवनको एउटा तला क्षतिग्रस्त भयो । १९८२ देखि जावलाखेल दरबार नेपाल प्रशासनिक कर्मचारी महाविद्यालयको भवनको रूपमा प्रयोग हुँदै आएको छ ।
यस दरबारले केवल राणाकालीन निवासको प्रतिनिधित्व मात्र गरेको छैन, बरु, युरोपेली वास्तुकला र नेपाली शिल्पकला संयोजनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ ।
५. बबरमहल
बबरमहल दरबार वि.सं. १९७० (सन् १९१०) मा चन्द्रशमशेर जंगबहादुर राणाले आफ्ना छोरा बबर शमशेरलाई उपहार स्वरूप बनाएका थिए । यो दरबार काठमाडौंको बागमती नदीको उत्तरी किनारमा सात हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
यसको डिजाइन लण्डनको बकिङ्गम दरबारको स्वरूपबाट प्रेरित छ, जसले युरोपेली नियोक्लासिकल र इटालियनेट शैलीको संयोजन प्रस्तुत गर्छ ।
कुमार नरसिंह र किशोर नरसिंह राणाले डिजाइन गरेको यो दरबारमा विशाल आँगन, भव्य बगैंचाहरू र सममित संरचना छन्।
यसमा सेतो प्लास्टरले पोतिएका भित्ताहरू, ठूला ग्रीक शैलीका स्तम्भहरू, फ्रेन्च झ्यालहरू र सजावटी फेम सजावट छन् । भवनको बाहिरी संरचनामा बकिङ्गम दरबारको समानान्तर डिजाइन र भव्यताको प्रभाव स्पष्ट छ ।
आँगनहरू खुला, चौडा र ठूला छन् । प्रवेशद्वारमा सजाइएका सजावटी झ्यालहरूले युरोपेली बारोक शैलीको झल्को दिन्छ । आन्तरिक सजावटमा नेपाली शिल्पकारहरूका हस्तकला अत्यन्तै उत्कृष्ट छ ।
भित्ताहरूमा काठको बुट्टेदार कलाहरू, सुनौलो रंगको प्रयोग र छतमा सजाइएका प्लास्टरका फूलहरूले बेलायती र फ्रेन्च शैलीको प्रभाव देखाउँछ । भुइँमा प्रयोग गरिएका सिंगमरमर र टायलहरूले इटालियन शैलीलाई झल्काउँछ । ठूला झुमरहरू, हातले बनाइएका कार्पेट र काठका फर्निचरहरूले दरबारको विलासितालाई उजागर गर्छ ।
वि.सं. १९९० को भूकम्पले क्षति गरेको दरबारलाई बबरशमशेरका नाति जितु राणाले दरबारको मूल स्वरूपको अनुसरण गरी बबरमहल रिभिजिटेड (रेस्टुराँ र सपिङ कम्प्लेक्स) निर्माण गरे ।
हाल यो दरबारमा सडक विभागको कार्यालय बनेको छ । अहिले यो दरबारको सेरोफेरोमा धेरै सरकारी कार्यालयहरू छन् ।
६. थापाथली दरबार
युरोपेली प्रभाव र नेपाली वास्तुकलाको मिश्रणले बनेको अर्को दरबार हो, थापाथली दरबार । जुन सन् १८५४ मा जंगबहादुर राणाले बनाएका थिए ।
थापाथली दरबार नेपाली वास्तुकलामा पश्चिमी शैली प्रवेश गराउने प्रमुख भवन हो । रणासुर बिस्टाको डिजाइनमा निर्माण गराएको यो दरबार नियोक्लासिकल शैली र नेपाली शिल्पको मिश्रण हो ।
यसको भव्य स्वरूप सेतो प्लास्टरले ढाकिएका भित्ताहरू, चार विशाल आँगन, अग्ला स्तम्भ, फ्रेन्च शैलीका झ्याल, ठूला हल र दक्षिणमुखी बालकनीले अझै प्रष्ट हुन्छ । स्थानीय काठमा गरिएको बुट्टेदार कलाले दरबारलाई मौलिकपन दिएको छ ।
थापाथली दरबारबाटै नेपालमा पश्चिमी वास्तुकलाको गोल बैठक शैलीको शुरुवात भएको मानिन्छ, जसले दरबारलाई भव्यता मात्र नभई आधुनिकताको प्रतीक बनायो ।
प्रवेशद्वार टाढाबाट साधारण देखिए पनि नजिकिँदै जाँदा विशाल र गम्भीर देखिने संरचनात्मक विशेषता यस दरबारको कलात्मक मुख्य पक्ष हो ।
७. नारायणहिटी दरबार
नारायणहिटी दरबारको मूल संरचना राणाकालमा नै निर्माण भएको थियो । यो जंगबहादुर राणाले आफ्ना भाइ रणोदीप सिंह कुँवर राणाका लागि सन् १८५० को दशकमा बनाएका थिए ।
यो दरबार पनि अन्य राणाकालीन भवनहरूजस्तै युरोपेली नियोक्लासिकल शैलीमा आधारित थियो, जसमा भव्य स्तम्भहरू, विशाल आँगनहरू, सेतो प्लास्टरका भित्ताहरू र नेपाली काठको बुट्टेदार कामको मिश्रण थियो ।
पछि, वीरशमशेरका छोरीहरूको राजा पृथ्वी वीर विक्रम शाहसँग विवाह भएपछि यो शाह राजाहरूको निवास बन्न पुग्यो ।
ठूला हलहरू, सजावटी झ्याल–ढोकाहरू र स्थानीय शिल्पकलाले यसलाई अनुपम बनाएको थियो ।
सन् १९३४ को भूकम्पमा क्षतिग्रस्त भए पनि पुनर्निर्माण गरियो । पछि राजा महेन्द्रले पुरानो राणाकालीन दरबार भत्काएर नयाँ नारायणहिटी दरबार निर्माण गराए । पुरानो दरबारको साइटमा बनेको नयाँ संरचना अहिले संग्रहालयका रूपमा छ, जसले राणाकालीन वास्तुकलाको छाया बोकेको छ ।
८. केशर महल
कतै सिंहको मुकुट, कतै गोलाकार आकृति, महिला आकृति लगायतले सज्जिएको छ केशर महल । जंगबहादुर राणाका भतिजा जित शमशेरले वीर शमशेरको आदेशमा सो महलको निर्माण गरेका हुन् । यो महलको मध्यभागको सबैभन्दा माथि तीनवटा आँखा आकारको संरचना बनाइएको छ ।
ग्रील्ड विन्डोजको बीचमा राखिएको कलश खजाना राखिएको फूलदानीलाई सम्झाउन राखिएको छ । बिमहरूमा रहेको कलात्मकता, भित्री भागमा युरोपियन शैलीको कलात्मक सामग्री राख्नु आदि यसको महत्वपूर्ण कला शैलीभित्र पर्छन्।
फिल्ड मार्सल केशर शमशेरले नै गार्डेन अफ ड्रिम्सको निर्माण गरे । यो पनि नियोक्लासिकल गार्डेनको रूपमा रहेको छ । उनी बेलायत भ्रमणमा रहँदा त्यहाँका राजा एडवार्ड सातौंको बगैंचा (एड्वार्डियन गार्डेन) बाट प्रभावित भई इ.सं. १९२० मा यो बगैंचाको निर्माण गरेका थिए ।
फर्केपछि चन्द्र शमशेरलाई बेलायती राजाको जस्तै बगैंचा बनाइदिन अनुरोध गर्दा उनले मानेनन् । भनिन्छ, पछि उनैसँग तिहारमा जुवा खेली जितेको एक लाख रुपैयाँबाट यो बगैंचा बनाएका थिए ।
प्रतिक्रिया 4