+
+
Shares

भीम मल्लको इतिहास र केपी ओलीको वर्तमान उस्तै हो ?

इतिहासमा भएको भीम मल्लको घटनासँग जोडेर केपी ओलीले अहिलेको आफ्नो दैनन्दिनको शासकीय अक्षमतालाई ढाक्न खोजेका छन् । जेनजी आन्दोलनलाई ‘राष्ट्रियताविरुद्धको आक्रमण र षड्यन्त्र’ को लेप लगाएर विषयान्तर गर्न खोजेको देखिन्छ ।

दुर्गा खनाल दुर्गा खनाल
२०८२ असोज ३ गते २१:२०

३ असोज, काठमाडौं । जेनजी आन्दोलनले सत्ता ढलेपछि चुपचाप बसेका निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० दिनपछि शुक्रबार मुख खोलेका छन् ।

सत्ता ढल्नुमा उनले आफ्नो शासकीय असक्षमता थियो भन्ने कुनै महसुस गरेका छैनन् । बरु यसभित्र देशी विदेशी षड्यन्त्र देखेका छन् ।

संविधान दिवसको अवसरमा उनले जारी गरेको वक्तव्यमा ‘श्रद्धाञ्जली र स्वास्थ्यलाभ’ का दुई शब्दबाहेक जेनजी आन्दोलनका युवाहरूले के माग राखेका थिए ? सरकारी दमनमा कलिला युवाहरूले कसरी मृत्युवरण गरे ?

पढ्नका लागि विद्यालय पठाएका छोराछोरी गोली खाएर ढल्दा विक्षिप्त भएका बाबुआमाको हालत कस्तो होला ? अस्पतालको कोमामा जीवन र मृत्युसँग संघर्ष गरिरहेका घाइतेहरूको अवस्था के छ ? कुनै उल्लेख छैन ।

बरु, नेपालको इतिहासका एक चर्चित पात्र काजी ‘भीम मल्ल’ मारिएको प्रसंगबारे युवाहरूलाई स्मरण गराएका छन् ।

‘हाम्रा युवाहरूले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो’, ओलीले भनेका छन् ।

यथार्थभन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरू पछुताउन मात्र काम लाग्छन् भन्दै ओलीले ‘त्यस पछुतोले नै बनिरहेको देशको झन्-झन् गाढा सम्झना गराउने छ’ भनेका छन् ।

इतिहासको एउटा महत्त्वपूर्ण घटना र त्यसका पात्रसँग जोडेर उनले अहिलेको आफ्नो दैनन्दिनको शासकीय अक्षमतालाई ढाक्न खोजेका छन् ।

उनको वक्तव्यमा ‘राष्ट्रियता र षड्यन्त्र’को लेप लगाएर तत्कालको घटनालाई विषयान्तर गर्न खोजेको देखिन्छ ।

के इतिहासका ती पात्र काजी भीम मल्ल र वर्तमानका केपी ओलीको नियति एकै हो ?

१७ औं शताब्दीको भीम मल्लको प्रसंग र अहिलेको प्रसंग कुनै तुलना र मूल्यांकन नै हुँदैन । इतिहासको मूल्यांकन पछि हुन्छ । अहिलेको अहिल्यै कसरी तुलना हुन्छ ?– प्राध्यापक डा. तीर्थप्रसाद मिश्र ।

‘१७ औं शताब्दीको भीम मल्लको प्रसंग र अहिलेको प्रसंग कुनै तुलना र मूल्यांकन नै हुँदैन,’ इतिहासका प्राध्यापक डा. तीर्थप्रसाद मिश्रले अनलाइनखबरसँग भने, ‘इतिहासको मूल्यांकन पछि हुन्छ । अहिलेको अहिल्यै कसरी तुलना हुन्छ ?’

प्राध्यापक मिश्रका अनुसार अहिले कसले कहाँ के गरिरहेको छ सबैले थाहा पाइरहेको अवस्था छ । ‘तथ्यहरू नै बोलिरहेको बेला षड्यन्त्र भयो भन्ने कुरा कति विश्वासयोग्य हुन्छ ?,’ प्राध्यापक मिश्रको प्रश्न छ ।

भीम मल्ल कसरी मारिए ?

प्रसंग १७ शताब्दीको अन्त्यतिरको हो । तत्कालीन कान्तिपुर राज्यका राजा प्रताप मल्लले लिच्छवीकालदेखि नै व्यापारबाट मुख्य आयस्रोत बनेको तिब्बत भोटमा आक्रमण गरी कुती, खासा केरुङ्ग लगायत क्षेत्र आफ्नो हातमा पारे । यो अभियानमा खटिएका थिए- काजी भीम मल्ल ।

इतिहासकार ज्ञानमणि नेपालको एक आलेखअनुसार, राजाको आदेश अनुसार काजी मल्ल जित्दै सिगात्से (डिगर्चा) सम्म पुगे । त्यति बेला उनलाई भोटका सैनिकहरूले रोक्न सकेनन् । आत्मसमर्पण गर्न बाध्य भए ।

त्यसपछि कान्तिपुर र भोटबीच सहमति भयो ।

उक्त सहमतिमा नेपालका व्यापारीले ३२ कोठी (पसल) थाप्न पाउने, कुतीमा कान्तिपुरको आधिपत्य हुने, ल्हासामा कान्तिपुरको स्वार्थरक्षाका लागि नायो (नायक) नियुक्त गर्न पाउने व्यवस्था थियो ।

त्यस्तै भोटमा नेपाली व्यापारीलाई भोट सरकारबाट कुनै भन्सार तथा महसुललगायत अन्य कर दस्तुर लगाउन नपाउने पनि उल्लेख थियो ।

कान्तिपुरले आफ्ना राजाको नाममा टक छापी भोटको बजारमा पठाउने र त्यस बराबरको सुनचाँदी आदि भोटले नेपाललाई उपलब्ध गराउने लगायतका सहमति थिए ।

भोटलाई जितेर यति सहमति गरेपछि नून, सुन र ऊन लगायतका भारी सामान लिएर विजयोत्सव मनाउँदै भीम मल्ल स्वदेश आउँदै थिए ।

इतिहासअनुसार मल्लको विजयबाट यता दरबारका केही व्यक्तिहरूलाई डाहा भइरहेको थियो । उनीहरूले ‘अब भीम मल्ल आफैं राजा बन्न सक्छन्’ भन्दै राजाको कान फुके ।

चुच्चे नक्सा जारी गरेको कुरा र अहिले जेनजी आन्दोलन कहिँ जोडिन्न । यो आफ्ना कमजोरीहरूमाथि पर्दा हाल्ने कोसिस मात्र हो– झलक सुवेदी, राजनीतिक विष्लेषक ।

भोटसँग भएको सम्झौताको राजालाई गलत व्याख्या गरिदिए । राष्ट्रघाती, राजद्रोही काम भयो भनिदिए ।

हल्लाको पछि लागेर राजा पनि त्यही पत्याउँदै बसे ।

जब काजी कान्तिपुर आइपुगे आफ्नो घर नगइ सुरुमै दरबारको प्रांगणमा रहेको तलेजु भवानीको मन्दिर दर्शन गरे । त्यसपछि बसन्तपुर दरबारको ढोकाभित्र छिर्ने बित्तिकै राजाले सोधखोजै नगरी काजी मल्ललाई काटेर हत्या गरिदिए ।

केपी ओली र भीम मल्ल उस्तै हुन् ?

राष्ट्रका लागि काम गरेर फर्केका व्यक्ति षड्यन्त्रको भरमा मारिनु परेको इतिहास भीम मल्लको हो । यो इतिहास के ओलीको शासकीय अक्षमताका कारण सुरु भएको जेनजी आन्दोलनमा युवाहरूले मृत्युवरण गर्नुपरेको वर्तमानसँग मिल्छ ?

ओलीले भीम मल्लसँग आफ्नो तुलना गर्नका लागि अघि सारेका केही तर्क यस्ता छन् :

-नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो ।

– संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरु बनाइरहेका थियौं ।

-उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौं।

हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौं। हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौं । अर्थतन्त्र तंग्रदै थियो ।

यस्तो अवस्थामा आफूमाथि प्रहार भएको भन्ने उनको तर्क छ । उनले आन्दोलनकै क्रममा आफूले राजीनामा दिएपछि विध्वंस भएको र त्यसमा षड्यन्त्र रहेको दाबी गरेका छन् । उनले भनेका छन् :

-प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ ।

– नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ ।

-जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ।

ओलीले नेपालको चुच्चे नक्सा जारी हुनु र नेपालले आफ्नो भूमिको दाबी गर्दाको परिणामको रुपमा यी घटनाक्रमहरू भएको देखाउन खोजेका छन् ।

नक्सा जारी गर्ने विषयमा लिएको अडान, भारतीय नाकाबन्दीमा गरेको सामनाप्रति ओलीको प्रसंशा नै भएको हो । इतिहासले यो विषयमा उनको मूल्यांकन नै गरेको हो ।

जेनजी आन्दोलनमा युवाहरूले कतै पनि यसको विरोध गरेका थिएनन् ।

जम्माजम्मी सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध उनीहरूले आवाज उठाएका थिए । तर जेनजीहरूले उठाएका यी विषयलाई ओलीले चुच्चे नक्सादेखि नाकाबन्दीका प्रसंग समेतमा लगेर जोडेका छन् ।

‘भीम मल्लको इतिहास नेपालको भूमि विस्तार नेपाललाई आर्थिक रुपमा सबल बनाउनेसँग जोडिन्छ,’ राजनीतिक विष्लेषक झलक सुवेदी भन्छन्, ‘चुच्चे नक्सा जारी गरेको कुरा र अहिले जेनजी आन्दोलन कहिँ जोडिन्न । यो आफ्ना कमजोरीहरूमाथि पर्दा हाल्ने कोसिस मात्र हो ।’

लिपुलेक र जीएसआईको कनेक्सन छ ?

नेपालमा एउटा ठूलो राष्ट्रवादी कित्ता छ, जो हरेक घटनामा विदेशीहरूको संलग्नता रहेको ठान्छ । त्यो कित्तालाई झन् विश्वस्त पार्न ओलीको शुक्रबारको वक्तव्यले काम गरेको छ ।

भदौ २३ गते भएको जेनजी युवाहरूको आन्दोलन विशुद्ध मुद्दामा आधारित थियो । १९ जना मारिएपछिको आक्रोशमा भदौ २४ गते उठेको प्रदर्शनमा चाहिँ घुसपैठ भएको आशंका एउटा तप्काले गरिरहेको छ ।

जुन आशंकालाई मलजल पुग्ने गरी ओलीले आफ्नो राजीनामा आइसकेपछि नेपालको नक्सादेखि सिंहदरबार जलाउनेसम्मको काम भएको दाबी गरेका छन् ।

यसको कनेक्सन चाहिँ गत भदौ १४ देखि १८ गते सम्म ओलीले गरेको चीन भ्रमण, त्यहाँ भएको गतिविधि र सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएलगत्तै भारतीय पक्षबाट भएको स्वागतसम्मका घटनामा जोडेर हेरिँदै छ ।

संघाई सहयोग संगठन (एससीओ) को बैठकमा गएका बेला ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग नेपालको भूमि लिपुलेकबाट व्यापार गर्ने भारत र चीनबीचको हालै भएको सहमतिमा आपत्ति जनाएका थिए ।

तर, यो विषय चीनतर्फको वक्तव्यमा आएन । चीनको वक्तव्यमा नेपालले चीनको सुरक्षा रणनीतिमा ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ’ जीएसआईमा सहमति जनायो भन्ने शब्द राखियो ।

नेपाल चीनको सुरक्षा रणनीतिमा सामेल भएको र लिपुलेकबारे सी चिनफिङसँग कुरा राखेको भारतमा पनि चर्चाको विषय बन्यो । जीएसआईमा सामेल नभएको भन्ने नेपालका अधिकारीहरूले बारम्बार स्पष्टीकरण दिए । तर चीनले यसबारे थप प्रस्ट नपार्दा केही शंका जिवितै थियो ।

त्यस्तै, अर्को विषय पनि जोडियो रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेट र जापानविरुद्ध चीनले गरेको भिक्ट्री परेडमा संलग्नता । धेरैवटा कम्युनिष्ट मुलकका सरकार र राष्ट्र प्रमुखहरूसँगको लाममा ओलीको एकाकार ।

अहिलेको जेनजी आन्दोलन नितान्त सरकारको आन्तरिक कमजोरीले भएको हो । यसमा धेरै विदेशी षड्यन्त्र र राष्ट्रियताविरुद्धको कदमको रुपमा बुझ्नु हुन्न– भूराजनीतिक मामिला जानकार चन्द्रदेव भट्ट ।

ओली सरकार ढलेपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बन्यो । सरकार बन्ने बित्तिकै तिब्बती धर्मगुरु दलाई लामाले बधाई दिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई मात्र दिएनन् मणिपुरको सभामा महिला सशक्तिकरणको नमुना भन्दै सुशीला कार्कीको प्रशंसा गरे । त्यस्तै आन्दोलनपछि सरसफाइ गरेको भन्दै नेपाली युवाहरूको प्रश‌ंसा गरे ।

बिहीबार मात्रै मोदीले कार्कीसँग भर्चुअल संवाद गरी नेपाललाई साथ सहयोग गर्ने वचन दिए । नेपालमा आन्दोलन चर्केको दिन भदौ २४ गते मोदीले नेपाल विशेष मन्त्रिपरिषद्को बैठक पनि राखेका थिए ।

ओलीविरुद्ध देशी विदेशी षड्यन्त्र भएको र यसकै कारण जेनजी आन्दोलन उठेको भन्नेहरूले अहिले यी विषयलाई सन्दर्भमा जोडेर हेरिरहेका छन् ।

जुन कुराको खास सन्दर्भ र अर्थ नरहेको भूराजनीतिक मामिला जानकार चन्द्रदेव भट्ट बताउँछन् ।

‘अहिलेको जेनजी आन्दोलन नितान्त सरकारको आन्तरिक कमजोरीले भएको हो । यसमा धेरै विदेशी षड्यन्त्र र राष्ट्रियताविरुद्धको कदमको रुपमा बुझ्नु हुन्न,’ उनी भन्छन् ।

उनका अनुसार, ओलीले भीम मल्लको प्रसंग जोडेर यो आन्दोलनलाई हेर्नु गलत हो ।

‘नेपालको असंलग्न परराष्ट्र नीति हो । यो मामिलामा ओली कसरी चल्नुभयो समीक्षाको विषय छ,’ उनले भने, ‘नितान्त युवाहरूको फ्रस्टेसनले आन्दोलनको अवस्था आएको हो । जुन कुरा पहिले नै बुझ्न नसक्नु कमजोरी हो ।’

तर, ओली सत्ता ढलेर मुलुक खरानी भएको अवस्थामा पनि आफ्नो कमजोरीलाई बुझ्न र मान्न तयार छैनन् । उनले आन्दोनललाई नै समग्र षड्यन्त्रको एउटा अंशको रुपमा चित्रण गर्दै शुक्रबार युवाहरूलाई उल्टै पाठ पढाउन खोजेका छन् ।

‘यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, समयले आफैं बयान दिनेछ,’ ‌ओलीले भनेका छन्, ‘हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने छ।’

लेखक
दुर्गा खनाल

खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?