News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू हिरासतमा हुँदा रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएकामाथि राज्यले दमन गरेको आरोप लगाएका छन्।
- ओलीले घाइतेहरुको उपचार सरकारले गर्नुपर्ने र नगरे पार्टीले गर्ने जानकारी गराएका छन्।
- उनले आफूविरुद्ध मुद्दा चलाउने आधार नभेटिएको र पूर्वाग्रहपूर्ण गिरफ्तारी गरिएको बताएका छन्।
२५ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू हिरासतमा हुँदा रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएकामाथि राज्यले दमन गरेको आरोप लगाएका छन् । १३ दिनपछि रिहा भएका ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो रिहाइको लागि प्रदर्शनमा उत्रिँदा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्दै यस्तो बताएका हुन् ।
उनले घाइतेहरुको उपचार सरकारले गर्नुपर्ने र राज्यले नगरे नेकपा एमालेले गर्ने पनि बताएका छन् । ‘मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ उनले भनेका छन्, ‘उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु।’
त्यस्तै ओलीले सरकारले आफूविरुद्ध मुद्दा चलाउने आधार र प्रमाण नभेटेको बताएका छन् । उनले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरिएको पनि बताएका छन् ।
‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु,’ उनले भनेका छन्, ‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु।’
उनले प्रहरीको नियन्त्रणमा रहँदा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी, प्रशासन तथा स्वास्थ्य उपचारमा खटिएका सबैप्रति कृतज्ञ रहेको पनि उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4