Comments Add Comment

प्रदूषण बन्न सक्छ बाँझोपनको कारण

अहिले नेपालमा मात्र नभई छिमेकी मुलुक भारतको नयाँ दिल्लीमा  पनि वायु प्रदूषणका कारण जनजीवन प्रभावित बनेको छ । तिहार सकिए लगत्तै वायु प्रदूषणको चाप बढ्दै गएको हो । दिल्लीमा वायु प्रदूषणको मुख्य कारण पटाका र खेतमा जलाईने पराललाई मानिएको छ । त्यसको विषाणु धुवाँले मानिसको स्वास्थमा गम्भीर असर पारिरहेको छ । दिल्लीसँगै नेपालमा पनि दुई तीन दिनदेखि वायु प्रदूषणको प्रभाव बढेको पाइएको छ । हरेक वर्ष यही समयमा वायु प्रदूषणको प्रभाव हुुने भएतापनि यो वर्ष अलिक बढी प्रभाव भएको पाइन्छ ।

तिहारको समयमा मात्र नभएर अरु समयमा पनि देशको विभिन्न स्थानहरुमा वायु प्रदूषणको नकारात्मक प्रभावले मानिसहरु विभिन्न रोगबाट ग्रसित भइरहेका छन् । आज हामी जुन वातावरणमा बाँचिरहेका छौं, जसमा वायु प्रदूषण चरम स्तरमा पुगेको छ ।

विश्व स्वास्थ्य संगठनद्वारा हालसालै जारी गरिएको आँकडा अनुसार आज विश्वका ९२ प्रतिशत जनसंख्या त्यस्तो क्षेत्रहरुमा बसोबास गरिरहेका छन्, जहाँ वायु प्रदूषण विश्व स्वास्थ संगठनद्वारा निर्धारित सुरक्षा सीमाहरुभन्दा धेरै छ । बढ्दो वायु प्रदूषण गम्भीर स्वास्थ्य समस्याहरु र मृत्युको एक प्रमुख कारणको रुपमा अगाडि आएको छ ।

वायु प्रदूषण र हाम्रो स्वास्थ्य

वायु प्रदूषणको प्रभाव हाम्रो शरीरको प्रत्येक अंग र तिनीहरुको कार्य प्रणालीमा पर्दछ । जसको  कारण मुटु रोग, स्ट्रोक, श्वास सम्वन्धी समस्या, मधुमेह, बाँझोपना जस्ता अनेकौं रोगहरुको आशंका बढ्न थालेको छ ।

हालसालै गरिएको एउटा अध्ययन अनुसार जुन व्यक्तिहरु धेरै ट्राफिक भएको ठाउँमा बसोबास गर्छन्, उनीहरुको प्रजनन क्षमतामा ११ प्रतिशतले कमी आउँछ । आज हामी विषालु हावामा सास फेर्नाले प्रजनन क्षमतामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पर्ने नकारात्मक प्रभावको बारेमा केही जानकारी लिएर आएका छौं ।

वायु प्रदूषणले प्रजनन क्षमतामा पार्ने प्रत्यक्ष प्रभावहरु

अण्डाको गुणस्तर प्रभावित हुनु

पार्टिकुलेट मेटर  (पिएम) ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड, कार्बन मोनो अक्साइड, भारी धातुहरु र हानिकारक रसायनहरुको एक्सपोजरले महिलाहरुमा अण्डाको गुणस्तरलाई प्रभावित गर्छ । अण्डामा हुने खराबी महिलाहरुमा बाँझोपनको एउटा प्रमुख कारण हो ।

मासिक चक्र सम्बन्धी अनियमितता

वातावरणको प्रदूषणले महिलाको अण्डाको गुणस्तर तथा सेक्स हार्मोनहरुलाई नकारात्मक रुपले प्रभावित गर्छ । जसको सिधा प्रभाव मासिक चक्रमा समेत पर्छ । यसले महिनावारी ढिला हुनु अथवा हुँदै नहुनु जस्ता समस्याहरु उत्पन्न हुन्छन् । जसका कारण गर्भधारण गर्न कठिन हुन्छ ।

वीर्य र शुक्राणुहरुको गुणस्तर र मात्रा प्रभावित हुनु

वायुमा समावेश प्रदुषित कणहरुले वीर्यको गुणस्तरलाई प्रभावित गर्छ । शुक्राणुहरुको संख्या कम हुन्छ । तिनीहरुको संरचनामा  परिर्वतन आउँछ र तिनीहरुको गतिशीलता पनि प्रभावित हुन्छ । जसका कारण पुरुषमा पनि बाँझोपनाको खतरा बढ्छ ।

अहिले बढेको वायु प्रदूषणको तुलनामा तीन दशक पहिलाको एक सामान्य पुरुषमा शुक्राणुहरुको संख्या औषत् ६ करोड मिलिलिटर हुन्थ्यो । अहिले यो घटेर दुई करोड मिलिलिटर भएको छ ।

बढ्दो गर्भपतनको खतरा

जुन महिलाहरु त्यस्ता क्षेत्रहरुमा बसोबास गर्छन्, जहाँ वायु प्रदूषण २/५ पिएम, १० पिएम, नाइट्रोजन डाइअक्साइड, कार्बन मोनोअक्साइड, ओजोन र सल्फर डाइअक्साइडको मात्रा धेरै हुन्छ । उनीहरुमा गर्भपतनको खतरा धेरै हुन्छ ।

मृत बच्चा जन्मन सक्ने सम्भावना

प्रदूषित वातावरणमा बसोबास गर्ने महिलाहरुले मृत बच्चा जन्माउने आशंका धेरै हुन्छ । त्यति मात्र नभएर बच्चा जन्मँदा कम वजनको जन्मने,  समयभन्दा अगाडि नै जन्मने, बच्चामा जन्मजात विकृतिहरु हुन सक्ने खतरा पनि अधिक हुन्छ ।

अप्रत्यक्ष प्रभाव

डायबिटीजको कारण प्रजनन क्षमता प्रभावित हुनु

वायु प्रदूषण विशेष गरेर सवारीसाधनबाट निस्कने धुवाँहरु, नाइटोजन डाइअक्साइड, तमाखुबाट निस्केको धुवाँ, पिएम २-५ आदि इन्सुलिन रेजिस्टेन्स र टाइप २ मधुमेहको प्रमुख कारण हो । इन्सुलिन रेजिस्टेन्सको कारण पोलिसिस्टिक ओवेरियन सिन्ड्रोम (पीसीओएस) र मेटाबलिक सिन्ड्रोम एक्स दुवैको आशंका धेरै बढ्छ । जसले महिलाहरुमा बाँझोपन हुनुको सबैभन्दा प्रमुख कारण हो ।

हार्मोनहरुको असन्तुलन र बाँझोपन

इन्सुलिन एउटा हर्मोन हो, जसको असन्तुलनको प्रभाव सेक्स हार्मोनहरु जस्तै एस्ट्रोजन, प्रोजेस्ट्रोन र टेस्टोस्टेरोनको स्तरमा पनि पर्न सक्छ । प्रदूषणले थायराइड गन्थ्रीबाट निस्कने हार्मोनहरुलाई पनि प्रभावित गर्छ । जसले महिलाहरुको प्रजनन क्षमता प्रभावित हुन्छ ।

प्रदूषणबाट बच्नको लागि आवश्यक उपाय

-धेरै प्रदूषण भएको ठाउँमा जानु हुँदैन । यदि जानु नै परेमा मास्कको प्रयोग गर्नुपर्छ ।

-घरलाई सधैं भ्याकुम क्लिनरले सफा गर्नुपर्छ । जसका कारण धुलोका कणहरु जम्मा हुन पाउँदैन ।

-हावालाई सफा राख्न र प्रदूषणबाट बच्नको लागि एयर प्युरिफायर राख्नुपर्छ ।

-धेरै प्रदूषण भएको ठाउँमा बसोबास गर्नु हुन्छ भने घरको झ्याल- ढोका र झ्यालमा मोटो पर्दा राख्नुपर्छ ।

-यदि तपाई रसायनको एक्सपोजर धेरै हुने ठाउँमा काम गर्नु हुन्छ भने धेरै सावधानी राख्नु आवश्यक छ ।

-धुम्रपानबाट बच्नुपर्छ ।

-यदि तपाईं घुमफिर गर्न जाँदै हुनु हुन्छ भने प्रदूषण नभएको ठाउँमा जानुपर्छ ।

-आफ्नो घरमा इनडोर प्लान्टहरु रोप्नुपर्छ । ती इनडोर प्लान्टहरुले प्रदूषण कम गर्न महत्वपूर्ण भूमिका निभाउँछन् ।

-पोषक भोजन र धेरै पानी तथा तरल पदार्थहरुको सेवन गर्नु पर्छ, जसले टक्सिन बढाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment