News Summary
Generated by OK AI. Editorially reviewed.- ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले संघीय संसद् भवनको काम म्यादभित्र नसकिए हर्जाना तिराउने चेतावनी दिएका छन्।
- संघीय संसद् भवनको पाँचौ पटक थप गरिएको म्याद आगामी पुष १६ गते सकिँदैछ र तीन वर्षमा निर्माण सक्ने सम्झौता भएको थियो।
- मन्त्री घिसिङले दुई सिफ्टमा काम गरेर पनि संसद् भवन निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्।
८ कात्तिक, काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले अन्तिम पटक थप गरिएको म्यादभित्र संघीय संसद् भवनको काम सम्पन्न नभए हर्जाना तिराउने चेतावनी दिएका छन् ।
शनिबार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवनको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले थपिएको समय सीमाभित्र काम सम्पन्न नभए निर्माण कम्पनीलाई नियमानुसार हर्जाना तिराउन बाध्य हुने चेतावनी दिएका हुन् ।
संघीय संसद्को निर्माणाधीन भवनको पाँचौ पटक थप गरिएको म्याद आगामी पुष १६ गते सकिँदैछ । तीन वर्षमा निर्माण सक्ने गरी २०७६ असोज १६ गते निर्माण कम्पनीसँग भवन सम्झौता भएको थियो ।
तर तोकिएको समयमा नै निर्माण हुन नसकेपछि पछिल्लो समय पाँचौ पटकका लागि आउँदो पुष १६ गते सम्पन्न गर्ने गरी म्याद थप गरिएको छ ।
मन्त्री घिसिङले दैनिक कार्यकतालिका बनाएर संसद् भवनको कामलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिए ।
राष्ट्रियसभाका साथै आगामी निर्वाचनपछि प्रतिनिधिसभा बैठक सञ्चालन गर्नुपर्ने अवस्था रहेकाले नयाँ संसद् भवनको निर्माणको काम छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्ने उनले बताए ।
उनले अहिलेको अवस्थामा पुष १६ गते भित्र संसद् भवन निर्माण सम्पन्न हुने नदेखिएकाले दुई सिफ्टमा काम गरेर भएपनि काम सक्न सुझाव दिए ।
संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको नयाँ संसद् भवनको संरचना निर्माण भइरहेको छ ।
संघीय संसद् भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् भवनको रूपमा प्रयोग गर्दै आएको थियो ।
तर जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट बानेश्वरस्थित संसद् भवन ध्वस्त भएपछि सरकारले नयाँ संसद् भवन निर्माणलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया 4