८ कात्तिक, काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा विधान सभा निर्वाचन अन्तिम चरणमा पुगेको छ । दुई सय ४३ सिटका लागि हुन गइरहेको निर्वाचन दुई चरणमा सम्पन्न हुने छ ।
६ नोभेम्बर (२० कात्तिक) र ११ नोभेम्बर (२५ कात्तिक) मा गरी दुई चरणमा मतदान हुने निर्वाचन कार्यतालिका रहेको छ । भारतीय सञ्चारमाध्यमहरूले १४ नोभेम्बर (२८ कात्तिक) मा चुनावी परिणाम सार्वजनिक भइसक्ने जनाएका छन् ।
बिहारमा मुख्य रूपले राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) र महागठबन्धनबीच प्रतिष्पर्धा हुने छ । यसपल्ट विधान सभा निर्वाचनमा प्रशान्त किशोरको पार्टी जन सुराजको उपस्थिति चर्चामा छ ।
एनडीएमा भारतीय जनता पार्टी (भाजपा), जनता दल (युनाइटेड), लोक जनशक्ति पार्टी (रामविलास), हिन्दुस्तानी अवाम मोर्चा र राष्ट्रिय लोक मोर्चाआवद्ध छन् ।
राष्ट्रिय जनता दल (राजद), भारतीय राष्ट्रिय कांग्रेस, विकासशील इन्सान पार्टी, कम्युनिष्ट पार्टी अफ इन्डिया (मार्क्सवादी–लेनिनवादी), कम्युनिस्ट पार्टी अफ इन्डिया र कम्युनिष्ट पार्टी अफ इण्डिया (मार्क्सवादी) महागठबन्धनमा छन् ।
एनडीए गठबन्धन वर्तमान सत्तारुढ गठबन्धन हो । यसको नेतृत्व मुख्य रूपमा भाजपा र जनता दल (युनाइटेड)ले गरिरहेका छन् । महागठबन्धन विपक्षी गठबन्धन हो । यसको नेतृत्व राष्ट्रिय जनता दलले गर्दैछ । महागठबन्धनले तेजस्वी यादवलाई मुख्यमन्त्री पदको उम्मेदवार घोषणा गरेको छ ।
बिहार विधान सभा निर्वाचनका लागि कुल पञ्जीकृत मतदाताको संख्या सात करोड, ४३ लाख ५५ हजार ९७६ रहेको छ । जसमध्ये झण्डै तीन करोड ९२ लाख ७० हजार ८०४ पुरूष र करिब तीन करोड ४९ लाख ८२ हजार ८२८ महिला मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।
बिहारमा ८५ वर्षभन्दा माथिका चार लाख तीन हजार ९८५ ले कमितमा पनि दोहोर्याएर र १४ लाख एक हजार ५० जना १८ देखि १९ वर्षका मतदाताले पहिलोपल्ट मतदान गर्न लागेका छन् ।
दुई चरणमा सम्पन्न हुने मतदानमा सात लाख २० हजार ७०९ दिव्याङ्ग (अपाङ्गता भएका) र १७ सय बढी तेस्रो लिङ्गी मतदाताहरू निर्वाचनमा सहभागी हुने बताइएको छ । विहारमा मतदाता नामावलीमा समावेश नभएका नागरिकको संख्या ६५ लाख ६४ हजार ७५ रहेको नवभारत टाइम्सले जनाएको छ ।
बिहार विधान सभा निर्वाचनमा मुख्य मुद्दाका रूपमा रोजगार, बिहारबाट हुने पलायन, अपराध, भ्रष्टाचार, शिक्षा, स्वास्थ्य, बिजुली–सडक–पानी, महिला आरक्षण, लोकप्रिय कल्याणकारी योजनाहरू रहेका छन् ।
विधान सभा निर्वाचन बिहारको राजनीतिक दिशा तय गर्ने एक उपलब्धि हो । यो निर्वाचनमा प्रमुख दलहरू राष्ट्रिय जनता दल (राजद), जनता दल (युनाइटेड), भारतीय जनता पार्टी (भाजपा), कांग्रेस र अन्य क्षेत्रीय पार्टीहरू आमनेसामने छन् ।
प्रतिक्रिया 4