Comments Add Comment

वायु प्रदूषण : गर्भको निर्दाेष शिशुलाई दण्ड !

प्रदूषणकै कारण कोही जन्मनै पाउँदैनन् त जन्मिएका पनि शारीरिक रुपमा कमजोर

चिसो मौसम सुरु भएसँगै वायु प्रदूषणको त्रास पनि काठमाडौं उपत्यका लगायत देशभरका विभिन्न शहरहरुमा सुरु हुन थालेको छ । हरेक शहरवासीले फेर्ने सासमा सवारी साधनबाट निस्किएको धुवाँ र उद्योग कलकारखानाबाट निस्किएको धुवाँ मिसिएको छ।

वायु प्रदूषणले सबैभन्दा धेरै असर गर्ने भनेको नै गर्भवती आमा, बच्चा र बुढाबुढीहरुलाई हो । हामीले सास लिने हावामा पाइने २.५ माइक्रोमिटरभन्दा साना परमाणु, नाइट्रोजन डाइअक्साइड, कार्बन मोनोअक्साइड, ओजोन र सल्फर डाइअक्साइड आदिको मात्रा धेरै हुँदा उनीहरुमा गर्भपतनको खतरा धेरै हुन्छ । त्यस्तै, प्रदूषित वातावरणमा बसोबास गर्ने महिलाहरुले मृत बच्चा जन्माउने सम्भावना पनि धेरै हुन्छ । जन्मिएका बच्चाहरु पनि कम वजनको जन्मने, समयभन्दा अगाडि नै जन्मने, बच्चामा जन्मजात विकृतिहरु हुन सक्ने खतरा पनि धेरै हुन्छ ।

डा. बालकृष्ण साह

यी सबै जानकारीहरु पछि एउटा प्रश्न उठ्न सक्छ कि यति धेरै स्वास्थ्य समस्या हुने भनिएपनि काठमाडौंको प्रदूषित हावा लिएका धेरै आमाहरुले पनि सामान्य रुपमा बच्चाहरु जन्माइरहेको देखिन्छ । यो कसरी हुन्छ ?

प्रदूषणको समस्या केवल राजधानी काठमाडौंको मात्रै होइन । यो तमाम विश्वका शहरीय समस्या हो । यो प्रदूषणको असर अहिले केवल शहरको परिधिभित्र मात्रै सीमित छैन । यसको सिधा असर गाउँमा समेत पुगिसकेको छ । तर, शहरको प्रदूषण र गाउँघरको प्रदूषणमा केही भिन्नता पनि छ । गाउँघरतिर खाना पकाउन दाउरा बालिन्छ, त्यो नै प्रमुख प्रदूषणको कारण हो । दाउरा बाल्दा निस्कने धुवाँको तुलनामा शहरमा कार्वन उत्सर्जन भएर निस्किएको धुवाँका कारण शहरको प्रदूषित हावा तुलनात्मक रुपमा बढी जोखिमयुक्त मानिन्छ ।

प्रदूषित वायुले कस्तो गर्छ बच्चालाई ?

प्रदूषित वायुको धेरै असर बालबालिकामा पनि पर्ने गरेको हुन्छ । वायु प्रदूषणले मानिसको श्वासप्रश्वास तथा आँखामा असर गर्छ भन्ने हेक्का पछिल्लो समय धेरैलाई भएको देखिन्छ । त्यही भएर नै बजारमा मास्क र चस्माको प्रयोग बढेको देखिएको छ । तर, अझैपनि बच्चाहरुको स्वास्थ्यको बारेमा भने धेरै मानिसहरु अन्जान देखिन्छन् ।

वायु प्रदूषणका असर आँखा र फोक्सोमा मात्र सिमित छैन । विभिन्न समयमा गरेको अध्ययनहरुले वायु प्रदुषको कारण गर्भको बच्चा तथा प्रजननमा समेत गम्भीर असर गर्ने गरेको देखिएको छ । त्यसैले धेरै तिर यो बहस पनि चल्न थालिसकेको छ कि हामीले गरेको गल्तीको सजाय पेटको बच्चालाई किन दिने ? चीनमा २००८ मा भएको एक अध्ययनले वायुप्रदूषणले गर्भको बच्चाको तौल कम भएको पुष्टि गरेको छ । विभिन्न समयमा गरेको अध्ययनहरुले वायु प्रदूषणको कारण गर्भको बच्चा तथा प्रजननमा समेत गम्भीर असर गर्ने गरेको देखिएको छ ।

बच्चा जन्मिने बित्तिकैको बजन २ किलो ५ सय ग्राम देखि ४ किलोग्रामसम्म हुने गरेकोमा वायुप्रदषणले गर्दा सो तौलमा औषत् कम भएको र वायुमा सामान्य सुधार आउने बित्तिकै २२ देखि २५ ग्राम बृद्धि भएको सो अध्ययनले देखाएको छ । अमेरिकाको न्युयोर्कमा रहेको द स्टोखोलम् ईन्भाईरोमेन्ट इन्स्टिच्युटले प्रकाशन गरेको एक अध्ययनले  १८ प्रतिशत शिशुहरु वायु प्रदूषणका कारण गर्भको अवधि नपुग्दै जन्मिने गरेको र यसैको कारणले ती शिशुहरु शारीरिक रुपमा कमजोर रहने गरेको तर्क अघि सारेका छन् ।

बच्चाको मस्तिस्कमा हुने कमजोरी

अटिज्मका बारेमा धेरैले सुनेको हुनुपर्छ । बच्चाको बृद्धि तथा विकासमा देखापर्ने यो विशेष किसिमको समस्या हो । यो एक प्रकारको मस्तिष्कको विकार हो । झट्ट हेर्दा सामान्य बच्चा जस्तै देखिए तापनि २-३ वर्षको भएका यस्ता बच्चाहरुमा समाजिक र मानसिक विकास राम्ररी भएको हुँदैन र त्यसैले गर्दा अलिक फरक स्वभावका हुन्छ ।

अटिज्म हुने कारणहरु अहिले पनि पूर्णरुपले पहिचान भइसकेका छैनन् । वंशानुगत तथा वातवरणीय कारणहरुले अटिज्म हुनसक्ने विज्ञहरुको धारण छ । पछिल्लो समयमा वायुप्रदूषण पनि यसका सम्भावित कारकको रुपमा रहेको अध्ययनहरुले देखाएको छ ।

गर्भवती महिलाहरु गर्भको अन्तिम ३ महिनाको समयमा सडक छेउ वा गाडीको धुवाँ तथा हावामा पार्टिकुलेट पदार्थ उच्च रहेको स्थानमा बस्नाले सो गर्भको सन्तानमा पछि अटिज्म देखिनसक्ने सम्भावना बढी रहेको अध्ययनहरुले देखाएको छ ।

पेटमै ज्यान जानसक्छ बच्चाहरुको

वायुप्रदूषणले प्रजनन् स्वास्थ्यमा पनि असर गर्ने हुन्छ । धेरै वटा अध्ययनहरुले प्रदूषित वातावरणमा धेरै समय बिताउनाले महिलाको मात्र नभई पुरुषको पनि प्रजनन् क्षमतामा ह्रास आउने देखाएको छ । गर्भवतीहरुमा वायु प्रदूषणले दम वा श्वासप्रश्वासको समस्या बढाउने, गर्भ तुहाउने, उच्चरक्तचाप गराउने तथा गर्भको अवधि नपुग्दै व्यथा लाग्ने र बच्चा जन्मिने जस्ता समस्याहरु गराउन सक्ने हुन्छ । यसरी जन्मिएका बच्चाहरुमा समेत दमको समस्याले पिरोल्न सक्ने सम्भावना रहन्छ ।

भविष्यमा शारीरिक रुपमा असक्त भएर जन्मिएका बच्चाहरुको जिम्मेवार हामी प्रदूषण गर्नेहरु हौं भन्ने थाहा भयो भने के सम्झन्छन् उनीहरुले ? आमाको पेटमा नै रहेको बच्चाले हाम्रो कारण भएको प्रदूषणका कारण दण्डित हुनुपर्ने हामी कस्तो वातावरण तयार पार्दैछौं । यो बहस हुनु जरुरी छ । अहिलेको अवस्थामा प्रदूषणबाट जोगिएर हिँड्नै मुस्किल हुँदै गएको छ । त्यसैले हामी प्रदूषणलाई नै नियन्त्रण गर्ने तर्फ अघि बढ्नुपर्ने हुन्छ ।

कसरी बच्ने प्रदूषणबाट

वायु प्रदूषित हुनुमा हाम्रो मात्र कारण छैन । र, यसको नियन्त्रणमा हाम्रो एकल प्रयास पनि सम्भव छैन । अथवा प्रदूषित वायुबाट बच्नका लागि शहरबाट गाउँतिर बसाईं-सराइर्ं गर्न पनि सम्भव भएन । हाम्रा वरिपरीका हावा स्वस्थ्यकर छैन भनेर आत्तिएर समस्याको समाधान हुँदैन । हाम्रो देश र छिमेकी देशहरुको वायु प्रदूषण धेरै छ । जुन एकल प्रयासबाट तुरुन्त स्वस्थ्यकर बनाउन सम्भव नहोला । तर, हाम्रा आँगनमा रहेका गर्भवती तथा जन्मिने बच्चाहरुमा प्रदूषित हावाको दुष्प्रभाव कम गराउने कोसिस गर्न सकिन्छ ।

विकसित मुलुकहरुमा हावामा हानिकारक तत्वको मात्रा नियमित मापन गर्ने र हावामा रहेका त्यस्ता हानिकारक तत्वहरु छान्ने मेसिन तथा ग्यास (एयर प्युरिफायर) प्रयोग गर्ने गरिन्छ । हाम्रो देशमा त्यस्तो प्रबृद्धिको प्रयोग गर्न नसकिए पनि विभिन्न किसिमका घरभित्र लगाइने फूलका बिरुवाहरु (स्पाईडर तथा स्नेक प्लान्टहरु) लगाउन सकिन्छ । यस्ता बिरुवाहरुले कार्बन डाइअक्साईड, कार्बन मोनोअक्साईड लगायत हावामा भएका हानीकारक ग्यासलाई प्रयोग गरी अक्सिजन दिन मद्दत गर्ने भएकोले घरभित्र तथा घरका कम्पाउण्डमा यस्ता बिरुवाहरु लगाउनु महत्वपूर्ण हुन्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा गर्भवती महिलाले बाहिरी हावामा धेरै बस्नु, सडक छेउ तथा गाडीको धुवामा धेरै समय बिताउनु तथा धेरै कलकारखाना रहेको क्षेत्रमा बसोबास गर्नुभन्दा यस्ता अत्ति प्रदूषित क्षेत्रबाट टाढा बस्नु उत्तम हुन्छ ।

लेखक प्रसुति तथा स्त्रीरोग बिशेषज्ञ हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment