
News Summary
Generated by OK AI. Editorially reviewed.- संघीय सरकारले अनुदान रोकेपछि बनेपामा रहेको शीर मेमोरियल अस्पतालमा आमा सुरक्षा कार्यक्रम स्थगित भएको छ।
- २०६८ देखि संघीय सरकारले बजेट उपलब्ध गराउँदै आएको आमा सुरक्षा कार्यक्रम असोज २७ गते पत्र पठाएपछि कार्तिक १ गतेदेखि स्थगित गर्न लागिएको छ।
- अस्पतालले संघीय अनुदान रोकिए पनि आफ्नै व्यवस्थापनमा 'शीर मदर केयर' सेवा सञ्चालन गर्ने जनाएको छ।
३० असोज, काभ्रेपलाञ्चोक। संघीय सरकारले अनुदान रोकेपछि बनेपामा रहेको शीर मेमोरियल अस्पतालमा आमा सुरक्षा कार्यक्रम स्थगित भएको छ ।
संघीय सरकारले बनेपा नगरपालिका मार्फत २०६८ देखि सुरक्षित सुत्केरी गराउन सहयोग स्वरुप दिँदै आएको सहयोग रोकेपछि आमा सुरक्षा कार्यक्रम स्थगित भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले जानकारी दिए ।
संघीय सरकारले पर्याप्त बजेट नपठाएकाले कार्यक्रमलाई निरन्तरता दिन नसक्ने भन्दै बनेपा नगरपालिकाले गत असोज २७ गते अस्पतालको नाममा पत्र पठाएपछि कार्तिक १ गतेदेखि कार्यक्रम स्थगित गर्न लागिएको उनको भनाइ छ ।
२०६८ सालमा नगरपालिका र शीर मेमोरियल अस्पतालबीच द्वीपक्षीय सम्झौता भई संघीय सरकारको बजेटमा आमा सुरक्षा कार्यक्रम संचालन हुँदै आएको थियो। अस्पतालमा सुत्केरी हुने महिलाहरुका लागि अस्पतालको तर्फबाट ४८ प्रतिशत, संघीय सरकारको तर्फबाट ३२ प्रतिशत र विरामीको तर्फबाट २० प्रतिशत खर्च ब्यहोर्ने सहमति थियो । संघीय सरकारले शल्यक्रिया गर्दा १० हजार र सामान्य अवस्थामा सुत्केरी भए २ हजार ५ सय रुपैया उपलब्ध गराउँदै आएको थियो।
अस्पतालका वित्त प्रमुख सुर्यप्रभा शाक्यका अनुसार, १४ बर्षको अवधीमा २८ हजार जना भन्दा बढी अस्पतालमा सुत्केरी भएका छन् । उनका अनुसार आर्थिक वर्ष २०८१/२०८२ मा मात्र १ हजार ५ सय ४८ जनाले सेवा पाएका छन् । जसमध्ये ७ सय ६७ जनाको सामान्य र ७ सय ७४ जनाको शल्यक्रिया गरिएको थियो । उक्त संख्याको गत आर्थिक बर्षमा ९६ लाख ८५ हजार संघीय सरकारले भुक्तानी उपलब्ध गराएको शाक्यको भनाई छ।
काभ्रेपलाञ्चोकका अलावा रामेछाप, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र भक्तपुरका स्थानीय समेतले सेवा लिँदै आएका थिए । अस्पतालका अनुसार कार्यक्रमका लागि संघीय, प्रदेश तथा स्थानीय सरकार र अन्य निकायबाट समेत बजेट प्राप्त हुने अवस्थामा पुर्ववत अवस्थामा संचालन हुने अस्पतालले जानकारी दिएको छ । वित्त प्रमुख शाक्यका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा सेवा उपलब्ध गराए बापत १३ लाख ९० हजार रुपैया भुक्तानी आउन बाँकी छ ।
संघीय सरकारले अनुदान रोकेपछि अस्पताल आफैले ‘शीर मदर केयर’ सेवा घोषणा गरेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टरका अनुसार, सुत्केरीका लागि जननल वार्डमा ५० प्रतिशत, औषधिको खरिदमा पाँच प्रतिशत छुट दिने उल्लेख छ।
‘ संघीय सरकारले रोकेपनि अस्पतालले आफ्नै ब्यवस्थापनमा विरामीहरुलाई पाउँदै आएको सेवामा केहि सहज महसुस हुने गरी ‘शिर मदर केयर प्रोगाम’ संचालन गर्ने छौं।’– अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टरले भने ।
आमा सुरक्षा कार्यक्रम संचालन भएका बखत पनि आर्थिक वर्ष २०८१/२०८२ मा मात्रै १ करोड ४० लाख रुपैया अस्पतालले छुट दिएको छ भने अन्य सेवामा बार्षिक साढे ३ करोड भन्दा बढी रकम विरामीहरुको लागि छुट दिँदै आएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया 4