Comments Add Comment

जनकपुर–जयनगर रेल सञ्चालन अझै अलमलमा

२१ कात्तिक, काठमाडौं । जनकपुर–जयनगर रेल पुन सञ्चालनमा ल्याउन अझै दुई महिनाभन्दा बढी समय लाग्ने भएको छ । गत वर्षको पुसबाट नै रेल चलाउने घोषणा गरेको सरकारले आगामी पुससम्ममा पनि चलाउने ठेगान छैन ।

सरकारले रेल सञ्चालनका लागि सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिन लागेको छ । हाल निष्क्रिय रहेको रेल्वे कम्पनीलाई जनशक्ति थपेर ब्यूँताउने सरकारको तयारी हो । यसका लागि करिब २ सय कर्मचारीको दरबन्दी थप गर्ने प्रस्ताव गरिएको छ ।

यसअघि पनि जनकपुर–जयनगर रेल नेपाल रेल्वे कम्पनीले नै चलाउँथ्यो । नेपालमा सन् १९७२ मा नेपाल रेल्वे कम्पनी स्थापना भएको थियो । सन् २०१४ देखि यो कम्पनी सक्रिय छैन ।

कम्पनीमा कर्मचारीको दरबन्दी स्वीकृत नभएकाले मात्रै हैन, रेलमार्ग नै बिग्रिएकाले रेल विभागले सञ्चालनको मिति तय गर्न नसकेको हो । गत वर्ष कमला नदीको बाँध फुटेर रेलमार्गमा ठूलो क्षति पुगेको थियो । रेलमार्ग मर्मतका लागि बुधबारबाट मात्रै भारतीय पक्षले काम थालेको  छ ।  मर्मतको काम सक्न नै डेढ महिनाभन्दा बढी लाग्ने विभागका महानिर्देशक बलराम मिश्रले अनलाइनखबरसँग बताए ।

नेपालले भारतमा अर्डर गरेका दुई वटा रेल भने तयार भइसकेका छन् । भारतको मद्रासमा बनिरहेका दुई रेल परीक्षण गरेर हाल रंग लगाउने काम भइरहेको महानिर्देशक मिश्रले बताए । ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनसँग रेल किन्ने सम्झौता भएको थियो । ५ वटा डिब्बासहितका यी रेलमा एकैपटक १२ सय यात्रुले यात्रा गर्न सक्छन् ।

रेलमार्गको मर्मत र कम्पनीमा कर्मचारीको दरबन्दी स्वीकृत भएर भर्ना प्रक्रिया टुंग्याएपछि रेल चलाउन थालिने विभागले बताएको छ । विभागले दरबन्दी स्वीकृत भएर आएपछि अप्राविधिक कर्मचारी नेपालकै र प्राविधिक कर्मचारी भारतबाट करारमा ल्याइने तयारी गरेको  छ । नेपालीसँग रेल चलाउने खासै अनुभव नभएकाले प्राविधिक जनशक्ति भारतबाट ल्याउनु पर्ने भएको हो ।

कम्पनीको कर्मचारी विनियमावली पनि बनिसकेको छ । हाल करिब १५ जना मात्रै कर्मचारी रहेको कम्पनीमा अहिले रेल्वे इन्जिनियरसहित मेकानिकल इन्जिनियर, रेल चलाउने ड्राइभर, स्टेशन म्यानेजर, टिकट काट्ने, र जाँच्ने लगायतको कर्मचारीको दरबन्दी सिर्जना गर्न लागिएको छ ।

‘केही समय भारतबाट आउने जनशक्तिले हाम्रा जनशक्तिलाई प्रशिक्षित गर्छन्,’ विभागका महानिर्देशक मिश्रले भने, ‘पछि हाम्रो मात्रै प्राविधिकहरु राखेर रेल चलाउन सक्छौं ।’

ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि भारतीय कामदार तयारी गर्नै पर्ने तर्क अधिकारीहरुको छ । यसअघि नेपालमा कोइलाबाट चल्ने रेल चल्थ्यो । अब भने डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधिको रेल चलाउन लागिएको हो । यो रेल डिजेलबाट निस्किने बिजुलीबाट चल्छ ।

कुर्ता–जनकपुर–जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोड गेजका रुपमा विस्तार गरिएको छ । भारतीय निर्माण कम्पनीमार्फत नै यो काम भएको हो । सन् २०१४ बाट यसको सुरुवात भएको थियो । यसै कारण जनकपुर–जयनगर रेल सेवा विगत ५ वर्षदेखि बन्द अवस्थामा छ ।

ब्रोड गेज विस्तारको लागि सिभिलतर्फका सबै काम गत वर्ष नै सकिएको थियो । स्टेशनहरु बनेका छन् । ३५ किलोमिटरको रेलमार्गमा सानो आकारको रेलको लिक हटाएर ठूलो आकारको बनाइएको छ । भारतीय कम्पनीले नयाँ कार्यालय भवन, भन्सार कार्यालय, कर्मचारीको आवास गृहहरु पनि बनाएको  छ ।

कुर्ताबाट महोत्तरीको विजलपुरासम्म रेलमार्ग ल्याउने योजना रेल्वे विभागको छ । जयनगरबाट आउने रेललाई ४ वर्षभित्र बर्दिवासमा पूर्व–पश्चिम रेलमार्गसँग जोडेर निजगढसम्म ल्याउने योजना सरकारको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment