News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले बुधबार ब्याजदर ०.२५ प्रतिशत विन्दुले कटौती गरी ३.७५ देखि ४ प्रतिशतको सीमामा ल्याएको छ।
- फेडका अध्यक्ष जेरोम एच पावेलले अबको ब्याजदर लक्ष्य तटस्थ रहेको र थप कटौतीको संभावना नदेखिएको उल्लेख गरे।
- ब्याजदर कटौतीले अमेरिकी स्टक, कमोडिटी बजार बढ्ने र विभिन्न कर्जाको ब्याजदर सस्तो हुने अपेक्षा गरिएको छ।
१३ कात्तिक, काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले पुनः ब्याजदर कटौती गरेको छ । फेडले कोषको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको छ । यससँगै बैंकहरूबीच हुने लेनदेनको ब्याजदर ३.७५ देखि ४ प्रतिशतको सीमामा आएको छ ।
यसअघि यस्तो दर ४ देखि ४.२५ प्रतिशतको सीमामा थियो । हालको ब्याजदर करिब ३ वर्षयताकै न्यून रहेको सीएनबीसीले उल्लेख गरेको छ । फेडरल ओपन मार्केट कमिटिको बुधबार बसेको बैठकले बहुमतका आधारमा एक चौथाइले ब्याजदर घटाउने निर्णय गरेको हो ।
उपभोक्ता मूल्यवृद्धिदर अझै पनि लक्षित सीमाभन्दा माथि रहनुका बाबजुत ब्याजदर कटौतीको निर्णय भएको छ । उपभोक्ता मूल्यवृद्धिदर ३ प्रतिशत सीमामा छ, जसलाई २ प्रतिशतको सीमामा राख्ने लक्ष्य तय भएको थियो ।
फेडका अध्यक्ष जेरोम एच पावेलले बैंकको अबको ब्याजदर लक्ष्य तटस्थ स्थानमा रहेको उल्लेख गरेका छन् । अर्थात् थप ब्याजदर घट्ने संभावना हाललाई नदेखिएको उनको भनाइ छ ।
यो ब्याजदर कटौतीसँगै अमेरिकी स्टक तथा कमोडिटी मार्केट बढ्ने अपेक्षा गरिएको छ । अटो, क्रेडिट कार्डसहित विभिन्न किसिमका कर्जाको ब्याजदर सस्तो पर्न मद्दत पुग्छ । जसले बजार चलायमानसँगै लगानीलाई प्रेरित गर्दछ ।
अमेरिकी ब्याजदर घटबढले सुनचाँदी, पेट्रोलियम पदार्थको मूल्यलाई समेत असर पार्ने गर्दछ, जसको अप्रत्येक्ष प्रभाव अरु मुलुकसम्म पर्न जान्छ । सामान्यतः ब्याजदर घट्दा सुनचाँदी र पेट्रोलियम पदार्थको मूल्य बढ्न बल पुग्ने सैद्धान्तिक मान्यता छ ।
प्रतिक्रिया 4