Comments Add Comment

टेलिकमको फोर-जी सेवा आइतबारदेखि, तत्काल आइफोनमा नचल्ने

4g-internet

काठमाडौं । नेपाल टेलिकमले आगामी आइतबार अर्थात् जनवरी १ तारिखबाट काठमाण्डौमा चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) सुरु गर्ने भएको छ ।

तर, आइफोन र आइप्याड प्रयोगकर्ताले भने तत्कालै नेपाल टेलिकमको फोरजी सेवा प्रयोग गर्न पाउनेछैनन् । नेपाल टेलिकमले एप्पलसँग टेलिकम नेटवर्क कोड इनेबल सम्झौता बेलैमा नगर्दा यस्तो समस्या आउन लागेको हो ।

हाल फोरजी सेवाको परिक्षण गरिरहेको नेपाल टेलिकमको सो क्रममा आइफोनमा फोरजी सेवा नचल्ने जानकारी पाएको हो ।

हाल नेपाल टेलिकमका झण्डै दुई लाख प्रयोगकर्ताले एप्पलले उत्पादन गरेका आइफोन प्रयोग गर्छन् । जसमध्ये करिव १ लाख ७० हजार आइफोनमा फोरजी चलाउन सकिन्छ ।

डिभाइसको सुरक्षाप्रति संबेदनशील एप्पलले आफ्ना सेटमा सम्बन्धित सेवा प्रदायकको लोकेसन इनेबल नगर्दासम्म फोरजी नचल्ने बनाएको छ । जसका कारण संसारभरिका सवैजसो टेलिकम सेवा प्रदायकले फोरजी सेवा सञ्चालनका लागि एप्पलसँग बेग्लै सम्झौता गर्नुपर्छ र त्यस्तो सम्झौतापछि एप्पलले सेवा प्रदायकको लोकेसन इनेबल गर्छ ।

एप्पल बाहेकका अन्य स्मार्टफोन ब्राण्डमा भने फोरजी सेवा स्वतः चल्छ । एप्पलसँग जस्तै कोड इनेबल गर्ने सम्झौता गरिराख्नु पर्दैन् ।

नेपालका लागि आइफोनका आधिकारिक वितरक जेनरेसन नेक्स्ट कम्युनिकेसनका प्रबन्ध निर्देशक पवन भिमसरियाले नेपाल टेलिकमबाट लोकेसन इनेबलका लागि अनुरोध आएको र सोहीअनुसार आफुले एप्पलको सिंगापुरस्थित कार्यालयलाई पत्र पठाएको जानकारी दिए ।

‘त्यस्तो समस्या आएको थाहा पाएपछि टेलिकमले गत बिहीबारमात्र हामीलाई अनुरोध गरेको थियो’ भिमसरियाले अनलाइनखबरसँग भने-‘अहिले त्यहाँ क्रिसमस र नयाँ बर्षको लामो बिदा छ, रेस्पान्स आउन कम्तीमा एक साता कुर्नुपर्छ होला ।’

टेलिकमका सहप्रवक्ता शोभन अधिकारी आइतबार नै फोर-जीबारेको सबै विवरणहरु सार्वजनिक गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment