Comments Add Comment

दैलेखको ‘धार्मिक ज्वाला’: जसलाई वैज्ञानिकले ‘पेट्रोलियम ग्यास’ भने

१४ पुस, दैलेख । दैलेखका शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका लगायतका क्षेत्रमा अखण्ड दीपहरु बल्छन् । अहिलेसम्म स्थानीय यसलाई दैवी शक्तिको चमत्कार मान्छन् र पुज्दैछन् ।

तर, यी दीपहरु कुनै दैवी चमत्कार नभएर प्राकृतिक ग्यास रहेको पुष्टि भइसकेको छ । चिनियाँ प्राविधिकको टोलीले यो क्षेत्रको अध्ययन गरेर यहाँको पेट्रोलियम ग्यासबारे थप अध्ययन गर्नुपर्ने रिपोर्ट सरकारलाई दिइसकेको छ ।

अनलाइनखबरको टोली दैलेख पुग्दा स्थानीय बालकहरुले खोलाको पानीमाथि पनि आगो बालेर देखाए ।

dailekh-jwala

अहिले यी क्षेत्रका बासिन्दा प्राकृतिक ग्यास उत्खनन् भए स्थानीय क्षेत्र विकास हुनुका साथै देशले पनि ठूलो आर्थिक लाभ लिने कुराले उत्साहित छन् । उनीहरु यहाँको धार्मिक महत्वलाई कायमै राखेर प्राकृतिक सम्पदाको सदुपयोग गर्नुपर्नेमा जोड दिन्छन् ।

धार्मिक हिसावले दैलेख जिल्लामा अवस्थित शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र तल्लो डुंगेश्वर पञ्चकोशी तीर्थस्थलका रुपले प्रख्यात छन् । यो कुरा बैश्वानरपुराणमा समेत उल्लेख छ । चलन चल्तीमा कोटीलालाई समेत पञ्चकोशी तीर्थस्थलका रुपमा समावेश गरिएको छ ।

पञ्चकोशी तीर्थस्थलमध्ये अहिले शीरस्थान र नाभिस्थानमा अखण्ड रुपमा ज्वाला बलिरहेको छ । तर केही दशक अघिसम्म पादुकामा समेत बल्दथ्यो ।

शिरस्थान

यो मन्दिर शिरस्थान खोलाको नजिकै पर्दछ । श्रीस्वस्थानी व्रतकथाअनुसार महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर यत्रतत्र घुम्ने क्रममा यस क्षेत्रमा आइपुग्दा सतीदेवीको शिर पतन भएकाले यस स्थानलाई शिरस्थान भनेर पुज्न थालिएको हो भन्ने जनविश्वास छ ।

यस क्षेत्रमा ज्वालाघर, कालभैरवकालसैनी, बटुकभैरव, शिव लिंग, धर्मशाला छन् । ज्वालाघरमा निरन्तर बलीरहने ज्वालालाई भगवानको रूपमा पुजिँदै आएको छ । यो ज्वालालाई बडीज्वाला भन्ने गरिन्छ ।

dailekh-shirsthan-jwala

जुम्लाको चन्दननाथ र डोटीको बडीमालिकाको मन्दिरमा रहेको अखण्ड दीप निभेमा यहाँको ज्वालाको आगो लगेर अखण्डदीप जलाउने परम्परा हजारौँ वर्षदेखि चलिआएको छ ।

शिरस्थानको दायाँतर्फ शिरस्थान र नाभिस्थान खेालाको दोभान नजिकै काली ज्वाला रहेको छ । विगतमा यो स्थानमा पानीमा समेत ज्वाला बल्ने गरेको थियो ।

हाल मन्दिर निर्माण गरिएका कारण मन्दिर भित्र यत्रतत्र ज्वाला बल्ने गर्दछ ।

शिरस्थान मन्दिर परिसर पुग्नलाई सदरमुकामदेखि दुई घण्टाको पैदल हिँड्नुपर्छ । सवारीसाधनबाट जाँदा तथा आधा घण्टा लाग्छ ।

नाभिस्थान

नाभिस्थान मन्दिर खोला नजिकै छ । श्रीस्वस्थानी व्रत कथाअनुसार महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर यत्रतत्र घुम्ने क्रममा यहाँ सतीदेवीको नाभि पतन भएकाले यस स्थानलाई नाभिस्थान भनेर पुज्न थालिएको हो भन्ने जनविश्वास छ ।

शिरस्थान जस्तै यहाँ पनि दुईवटा ज्वाला छन् । जसलाई ब्रहमज्वाला र ईन्द्रज्वाला भन्ने गरिन्छ । यस क्षेत्रमा भैरव मन्दिर, शिव मन्दिर, मन्साथ मन्दिरका साथै प्रसिद्ध समीको रुख छ ।
एक सय वर्षभन्दा पनि जेठो समीको रुख नाभिस्थानको आकर्षण मध्य एक हो ।

सदरमुकामबाट साढे दुई घण्टाको पैदल हिँड्दा यहाँ पुग्न सकिन्छ । पौने घण्टामा गाडीबाटै पुगिन्छ ।

dailekh gas akhnda deep
पादुका

पादुका क्षेत्रमा केही दशकअघिसम्म अनवरत रुपमा ज्वाला बल्थ्यो । पादुका खोलामा बाढी आएर बगाएपछि ज्वाला बलेको छैन । खुल्ला आकाशमा यत्रतत्र छरिएर रहेका मूर्तिहरु घाम र पानीबाट बचाउन मुस्किल छ ।

पादुका क्षेत्रमा मन्दिर छैन भने मूर्तिहरु खुल्ला रुपमा छन् । मन्दिर क्षेत्रमा शिव, भैरव, गोरखनाथ, बुद्ध, जैन, लक्ष्मीनाराण, गणेश, मच्छेन्द्रनाथ, शिव लिंग लगायतका मूर्तिहरु छन् ।

जेठ महिनाको पहिलो मंगलबार र दशैंमा भैरव मन्दिरमा बलिसहित पूजा गर्ने र श्रावण पूर्णिमामा शिवजीलाई खीर चढाउने प्रचलन छ । दशैंको घटस्थापनादेखि दशमीसम्म अखण्ड धुनी बाल्ने माघ पूर्णिमाका दिनमा लिंगो फेर्ने तथा शिवरात्रिको दिनमा बिशेष पूजाआजा गर्ने चलन छ ।

पादुकामा रहेको अशोकचल्ल कालिका सउना कार्की र कक्र्यानीको देवल दैलेखमा भएका अभिलेखहरु मध्य सबैभन्दा पुरानो अभिलेख मानिन्छ ।

सिजा साम्राज्यका सम्राट अशोक चल्लको समयमा यस स्थानमा भगवान बुद्धको पूजा प्रार्थना तथा बन्दना गरी सउना कार्की र साउनका कक्र्यानीले धर्मस्तम्भ राख्न लगाएका थिए । सम्राट अशोक चल्लको समेत नाम उल्लेख गरिएको स्तम्भको स्थपना वि.सं. १३१२ देखि १३४५ को बीचमा भएको देखिन्छ ।

यिनै क्षेत्रमा अहिले प्राकृतिक ग्यास रहेको पुष्टी भएको छ । तर, यसको ब्यवसायिक उत्पादन गर्न सकिन्छ कि सकिन्न भनेर अर्को अध्ययन आवश्यक छ । स्थानीयहरु आवश्यक अध्ययन गरेर ग्यास उत्खनन् हुनेमा आशावादी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment