Comments Add Comment

लोकमानलाई कालोमोसो दल्नेलाई रिहाइको माग गर्दै विद्यालय बन्द

देशैभरिका वालवालिकाको पढाइ प्रभावित

Taplejung-Band
फाइल तस्वीर

२६ पुस, काठमाडौं । आज मंगलबार राजधानी लगायत देशभरिका अधिकांश शैक्षिक संस्थाहरु बन्द छन् । अधिकांश विद्यालयले बालबालिकालाई स्कुल नपठाउन अभिभावकहरुलाई सूचित गरेका छन् । तर, हडताल किन र के का लागि ? यसबारे धेरैलाई थाहा छैन । हल्लाकै भरमा हडताल भइरहेको छ ।

यसैबीच विप्लव निकट माओवादीको विद्यार्थी संगठनले लोकमानसिंह कार्कीमाथि कोलोमोसो दल्ने दुई विद्यार्थीहरुलाई रिहाइको माग गर्दै शैक्षिक हडतालको आयोजना गरेको जनाएको छ । तर, कतिपय ठाउँमा पृथ्वी जयन्तीमा सरकारी विदाको माग गर्दै हडतालको आयोजना भएको प्रचार भइरहेको छ ।

हल्लाकै भरमा शैक्षिक संस्थाहरु बन्द हुँदा लाखौं बालबालिकाको पठन-पाठन अवरुद्ध भएको छ । गत पुस ७ गते लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतको परिसरभित्रै कालोमोसो दल्ने आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गरी रिहा नगरेकाले मंगलबार एक दिन देशव्यापी शैक्षिक हड्तालको आह्वान गरेको सो विद्यार्थी संगठनले बताएको छ ।

आफ्ना कार्यकर्ताले नेपालका भ्रष्टाचारीलाई कालोमोसो दलेर कारवाही गर्दा प्रहरीले दुई विद्यार्थीलाई थुनामा राखेकाले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले जनाएको छ ।

सर्वोच्च अदालतले लोकमानसिंह कार्कीलाई कालो मोसो दल्ने दुईजनालाई अदालतको अवहेलनामा एक महिना जेल सजाय सुनाएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता प्रकाश शाही र चन्द्र बुढाले लोकमानसिंहलाई कालोमोसो दलेका थिए ।

सर्वोच्च अदालतमा बयानका लागि गएका कार्कीमाथि शाही र बुढाले हातपात गर्दै पुस ७ गते कालो मोसो दलेका थिए । उनीहरुलाई प्रहरीले अदालत परिसरबाटै तत्काल नियन्त्रणमा लिएको थियो । उनीहरुले कालोमोसो लगाएपछि नेकपा माओवादी जिन्दाबाद भन्दै नारा समेत लगाएका थिए ।

ताप्लेजुङमा विद्यालय बन्द, तर परीक्षा सुचारु

ताप्लेजुङबाट रविन भट्टराईद्वारा प्रेसित समाचार अनुसार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादी सम्वद्ध विद्यार्थी संगठनले आह्वान गरेको शैक्षिक हड्तालको कारण ताप्लेजुङका शैक्षिक संस्थाहरु ठप्प बनेका छन् ।

तर, शैक्षिक संस्थामा हडतालको आह्वान गरिए पनि ताप्लेजुङमा सञ्चालित निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन आवद्ध विद्यालयको परीक्षा भने सञ्चालन हुने भएको छ ।

परीक्षा रोके शैक्षिक क्यालेण्डरमा असर पर्ने भएकाले प्रहरी प्रशासनसमक्ष सुरक्षाको सहयोग मागेर भए पनि परीक्षा सञ्चालन गर्ने तयारी रहेको निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल ताप्लेजुङका सचिव गणेश सिग्देलले बताए ।

उनले विद्यार्थीलाई विद्यालय आई परीक्षामा सहभागी हुन पनि आग्रह गरेका छन् । ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी रामबहादुरकेशिले समेत परीक्षा सञ्चालन हुने सबै विद्यालयमा सुरक्षा दिने बताउँदै निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीलाई आग्रह गरे ।

यसैवीच सोमबार साँझ ताप्लेजुङ सदरमुकाममा शैक्षिक संस्था बन्दको आवाहान गर्दै माइकिङ गर्ने केही विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरी माइकिङ नगर्ने सर्तमा छाडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment