Comments Add Comment

पूरा हुँदै पोखरामा नाटकघरको सपना

pokhara-natakghar

६ माघ, काठमाडौं । दुई दशक अघिसम्म पोखरेली रंगकर्मीहरु जिउँदो-जाग्दो रुपमा सक्रिय भएका थिए । सरुभक्त, प्रकट पगेनी शिव, प्रमिला तुलाचनदेखि प्रकाश घिमिरे, अनुप बराल, माओत्से गुरुङ, विष्णु गौतम जस्ता प्रतिभाहरु पोखराकै रंगमञ्चका उत्पादन हुन् ।

त्यो समय नाट्य समूहहरूले नाटक त तयार पार्थे, तर नाटकघर नहुँदा शहरको कुनै भाडाको हलमा मञ्चन गर्नुपर्ने अवस्था थियो । अहिलेसम्म पनि पोखरामा नाटकघर छैन ।

यही रिक्तता मेटाउन पोखराको युथ क्रिएसन थिएटरले अहिले नाटकघर निर्माण गरिरहेको छ ।

०६९ चैतमा गठन भएको युथ क्रिएसनले त्यसपछि केही नाटक तयार पारेर देखायो पनि । तर, हलमा महँगो भाडा तिरेर धान्नै मुश्किल भएपछि नाटकघर नबनाई नहुने निष्कर्षमा पुगेको समूहका अध्यक्ष कपिल शर्मा बताउँछन् ।

‘यत्रो पर्यटकीय शहरमा एउटा नाटकघर नहुनु चाहिँ दुर्भाग्य नै हो भन्ने सोचेर हामीले अगुवाई गरेका हौं’, उनले भने ।

०७१ सालमा १० वर्षका लागि लिजमा लिएको जग्गामा समूहले नाटकघर धमाधम बनाउँदै छ । ब्लक उठाउने काम भइसक्यो । अब छाना छाउने, प्लाई, साउण्ड र लाइट, प्राविधिक कक्ष लगायतको काम बाँकी रहेको कपिलले बताए ।

नाटकघर निर्माणको विशेषता छ, अहिलेसम्म सहयोगी र दाताहरुबाट पैसा उठाएरै ब्लक उठाइएको छ । त्यसमा पनि फेसबुक र ट्विटरमार्फत सहयोग आह्वान गरेकै आधारमा पैसा संकलन भइरहेको छ ।

यसरी नाटकघर बनाउन सहयोग जुटाउनुको कारण के हो ?

kapil-sharma-1
कपिल शर्मा

‘पहिलो कुरा त हाम्रो प्रयासबाट मात्र सम्भव नभएर सहयोग माग्नुपरेको हो,’ कपिल भन्छन्, ‘अर्को कुरा, सबैसँग सहयोग उठाएर बनाइयो भने नाटकघरको सबैलाई उत्तिकै माया हुन्छ ।’

नाटकघर बनाउन सुरुमा रंगकर्मी युवाहरुबाटै मासिक २-४ हजार रुपैयाँ जम्मा पार्ने काम नभएको होइन । तर, त्यो पर्याप्त नभएपछि सहयोग जुटाउने अभियान थालिएको हो । यस क्रममा अहिलेसम्म करिब ११ लाख रुपैयाँ संकलन भएको छ । खर्च भने १५ लाखको हाराहारीमा भइसकेको छ ।

धेरैले नगद सहयोग गरेका छन् भने कतिपय पोखरेलीले सिमेन्ट जस्ता जिन्सी सामान पनि उपलब्ध गराएका छन् । देशका विभिन्न ठाउँका साथै विदेशमा छरिएर रहेका नेपालीहरुले पनि आर्थिक सहयोग पठाइरहेका छन् ।

कुनै समय नाट्य क्षेत्रमा राम्रो पहिचान बनाएको पोखरा एक दशकयता निस्क्रिय जस्तै रहनुमा नाटकघरकै अभावलाई कारक मान्छन् कपिल । पर्यटकीय शहरभित्रको त्यो सांस्कृतिक पाटो ब्युँताउन युवा रंगकर्मीहरुले सामूहिक प्रयास गरेको उनको भनाइ छ ।

सहयोगी र शुभेच्छुकहरुकै साथबाट उभिँदै गरेको नाटकघरको बाँकी रहेको निर्माण कार्यमा पनि दाताहरुको साथको पर्खाइ छ । अहिलेसम्म भेटेरै व्यक्तिगत र संस्थागत रुपमा सरसहयोग नमागेको थिएटरले अब भने सरकारी-गैरसरकारी निकाय गुहार्ने भएको छ ।

‘ब्लक राखेर यत्तिको उभ्याइयो, अब तपाईंहरु यसमा के सहयोग गर्न सक्नुहुन्छ भनेर नगरपालिका, जिविस, पर्यटन बोर्ड, उद्योगी-व्यवसायीहरुकहाँ जाने विचारमा छौं’, युथ क्रिएसनका कपिलले योजना सुनाए ।

पहिले जम्मा २० लाख रुपैयाँमा नाटकघर तयार पार्ने सोचमा काम थाले पनि भूकम्प र त्यसपछिको नाकाबन्दीले लागत बढेको रंगकर्मीहरुको भनाइ छ ।

नाटकघर बनिसकेपछि नाटकलाई व्यावसायिक बनाउँदै कलाकारलाई पनि गुजारा चलाउने स्थितिमा पुर्‍याउने सपना छ । भविष्यमा स्तरीय कलाकार उत्पादनका लागि एकेडेमीकै स्वरूपमा लैजाने सोच भए पनि सुरुवाती चरणमा कार्यशाला चलाउने, नियमित नाटक देखाउने र काठमाडौंमा राम्रो चलेका नाटकहरू ल्याएर मञ्चन गर्नेसम्मको योजना छ ।

pokhara-natakghar-2पोखरामा पहिले धेरै नाट्य समूह थिए । तीमध्ये पछिल्लो समय धेरै निस्त्रिmय छन् । नाटक गतिविधि सुस्ताउँदै जाँदा पुराना रंगकर्मीहरु लाखापाखा लागेर वैकल्पिक पेशा-व्यवसाय अपनाउन बाध्य भए । पछिल्लो समय युथ क्रिएसनसँगै पञ्चामृत समूह पनि जुर्मुराउँदै छ । युथ क्रिएसन थिएटर हालै युवा सिर्जनशील नाटकघरको नामबाट समाज कल्याण परिषद्मा पनि दर्ता भएको छ ।

पुराना र नयाँ पुस्ता सबैलाई समेटेर एउटा नयाँ नाटक गरौं भन्ने चाहना हो, त्यसले मेसेज पनि राम्रो जान्थ्यो । पहिले एक समय नाटक गरेर अहिले आ-आफ्नै व्यवसाय गरेका बसेका पुरानालाई नाटकमै फर्काउन सकियो भने केही न केही होला भन्ने लागेको छ । उहाँहरुको सीप र कला हामीले जान्ने मौका पाउने थियौं । कसरी काम गर्ने आइडिया पाइन्थ्यो ।

नाटकघर फागुनमा तयार पारिसक्ने लक्ष्यका साथ काम भइरहेको छ । सोचे अनुसार भए काम भएमा मार्च २७ -चैत १४) तारिखमा विश्व रंगमञ्च दिवसको अवसर पारी नाटकघरको उद्घाटन गर्ने सोच छ । उद्घाटनको नाटक पनि विशेष नै गर्ने सोच राखिएको छ ।

‘पोखराका पुराना र नयाँ पुस्ताका रंगकर्मीलाई समेटेर नयाँ नाटक गरौं भन्ने चाहना हो । त्यसले मेसेज त राम्रो जान्थ्यो नै, हामीले पनि उहाँहरुको सीप र कला जान्ने मौका पाउने थियौं’, नयाँ रंगकर्मीहरुको संयुक्त स्वर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment