Comments Add Comment

तीन करोडका कारण तीन सांसदको मारामारः राज्यमन्त्री समेत पीडित !

प्रत्यक्ष निर्वाचित सांसदविरुद्ध अदालतमा जाने समानुपातिक सांसदको तयारी

larkel-serbahadur११ माघ,चौतारा । निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रम मार्फत प्रत्यक्ष निर्वाचित सांसदहरुलाई विकासका लागि आउने ३ करोड रुपियाँ एकलौटी रुपमा बाँडफाँड गरेपछि यतिबेला सिन्धुपालचोक जिल्लाका तीन सांसदहरुको मारमार सुरु भएको छ ।

क्षेत्र नम्बर ३ का एमाले सांसद शेरबहादुर तामाङले एकलौटी रुपमा एमाले कार्यकर्ताको सल्लाहमा बजेट बिनियोजन गरेपछि समानुपातिक तर्फका सांसदहरु रमेश लामा र ल्यारक्याल लामा तामाङ विरुद्ध खनिएका छन् । रमेश राप्रपाका सांसद हुने भने ल्हारक्याल माओवादी केन्द्रका ।

जिविसमा झण्डै हानाहान

समानुपातिकबाट निर्वाचीत सांसदहरुसँग सरसल्लाहमा बजेट विनियोवन गर्नु पर्ने प्रावधान भएपनि एमाले सांसद तामाङले पार्टी नेतृत्वसँग समेत छलफल नगरी ‘कमिशन’ आउने योजनाहरुमा मात्रै बजेट हालेको भन्दै एमालेभित्रैबाट पनि आलोचना भइरहेको छ ।

दुवै समानुपातिक सांसदसँग छलिएर हिडिरहेका तामाङलाई केही दिनअघि जिविसले सांसदहरुसँग आयोजना गरेको बैठकमा समानुपातिक सांसदले घेरा हालेका थिए । समानुपातिक सांसदद्धय ल्यारक्याल र रमेश लामा एउटै टेबलुमा भएपछि तामाङसँग झण्डै हातहालाहालको अवस्था समेत भएको थियो ।

बैठकमा सहभागी अरु सांसदहरुले ‘यो विषयमा पछि तपाँइहरु मात्रै छलफल गर्नुहोस अहिले जिविसले राखेको एजेण्डामा छलफल सुरु गरौ’ भनेपछि दुवै समानुपातिक सांसदहरु केही बेर मौन बसेका थिए । जिविसका एजेण्डा सकिन साथ अरु सासंदहरुले यसको समन्वय गर्ने काम स्थानीय विकास अधिकारीको भन्दै हिडेका थिए । अरु सासंद हिडेपछि स्थानीय विकास अधिकारी कृष्णबहादुर शाही र तिन सांसदबिच झण्डै दुइ घण्टा छलफल भएपनि कुरा टुङ्गोमा पुग्न सकेन ।

ल्हारक्यालसँग सवाल जवाफ

प्रत्यक्ष निर्वाचीत सांसद शेरबहादुर तामाङले समानुपातिक सांसद ल्हार्केल लामालाई भने-‘माननीय ज्यु मैले तपाँइलाई धेरै सम्र्पक गर्न खोजे,सम्पर्क नभएपछि यसरी योजना बाँडफाँड गरेको हुँ।’ तामाङको भनाइ सुनेपछि आक्रोशित भएका ल्यारक्याललेे भने-तपाँइ मेरो चार-चार वटा नम्बर लैजाने,सम्र्पक नगर्ने अनि सम्पर्क भएन भनेर पन्छिन मिल्छ ?

प्रत्यक्ष निर्वाचीत सांसदहरुलाई निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्याक्रम मार्फत प्राप्त हुने ३ करोड बजेट समानुपातिक सांसदहरुसँग को समन्वयमा उनीहरुले पेश गरेको योजनामा समेत विनियोजन गर्नुपर्ने व्यवस्था छ । समानुपातिक सांसदलाई निर्वाचन क्षेत्र विकास कोष कार्यक्रमका लागि प्राप्त हुने ५० लाख मध्ये जुन निर्वाचन क्षेत्रमा ५१ प्रतिशत बजेट विनियोजन गर्छ त्यो क्षेत्रमा ३ करोड बजेटबाट ३३ प्रतिशत समानुपातिक सांसदको सिफारिसको योजनामा बजेट विनियोजन गर्नुपर्छ ।

राप्रपाबाट समानुपातिक निर्वाचीत रमेश लामाले आफ्नो क्षेत्रमा ५१ प्रतिशत बजेट नहालेर क्षेत्र नम्बर ३ मा मात्रै ५१ प्रतिशत बजेट हालेका थिए । त्यस्तै सोही क्षेत्रका ल्यारक्यालले त ८५ प्रतिशत भन्दा बढी बजेट क्षेत्र नम्बर ३ कै योजनामा हालेका छन् ।

दुवै समानुपातिक सांसदलाई ३३/३३ प्रतिशत बजेट दिने हो भने प्रत्यक्ष निर्वाचित सांसद शेरबहादुर तामाङले जम्मा ३४ प्रतिशत बजेट मात्रै आफुले भनेका योजनामा हाल्न पाउँने छन् ।

क्षेत्र नम्बर १का प्रत्यक्ष निर्वाचीत सांसद मोहनबहादुर बस्नेतले समानुपातिक सांसद अमृतकुमार बोहरा र रमेश लामाले सिफारिस गरेका योजनाहरुमा समेत बजेट विनियोजन गरेकाले त्यहाँ समस्या छैन । क्षेत्र नम्बर २ का सांसद अग्नि सापकोटलाई अरु समानुपातिक सांसदले बजेटै नहालेपछि उनले एकलौटी रुपमा आफु अनुकुलका योजनामा बजेट विनियोजन गरेका छन् ।

मन्त्रीनै पीडित छन्ःएलडिओले के गर्नु ?

प्रत्यक्ष निर्वाचीत सांसद शेरबहादुरले एकलौटी बजेट विनियोजन गरेको गुनासो लिएर दुवै समानुपातिक सांसदहरु दिनहुजसो स्थानीय विकास मन्त्रीकोमा पुग्ने गरेका छन् । मन्त्रीले पनि सिन्धुपाल्चोकका स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीलाई सो विषयलाई लिएर तिन पटक फोन गरिसकेका छन् ।

‘मन्त्रीज्युले तिन पटक फोन गरिसक्नु भयो,सांसद ज्युहरुको कुरा कसरी मैले मिलाउन सक्नु’ शाहीले भने । तर समस्या सिन्धुपाल्चोकमा मात्रै नभएको भने प्रष्ट भएको छ ।

स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगु समेत यो घटनाबाट प्रत्यक्ष पीडित भएका छन् । उनको जिल्ला पाँचथरमा समेत प्रत्यक्ष निर्वाचीत सांसदले एकलौटी उनकै योजनामा मात्रै बजेट हालेपछि उनी समेत तनावमा रहेको मन्त्रालय स्रोतले बतायो ।

जिल्लाका दुवै समानुपातिक सांसदहरु भने आफुहरुको योजना नसमेटीए सर्बोच अदालत जाने तयारीमा रहेका छन् । अरु सांसदहरुको योजनाको भटाभट सम्झौता सुरु भएपनि सांसद तामाङले पेश गरेका योजना भने सम्झौता हुन नसकेको जिविसले जानकारी दिएको छ । तामाङले पेश गरेका योजना सम्झौता नगर्न भन्दै दुवै समानुपातिक सांसदले जिविसमा उजुरी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment