Comments Add Comment

‘काबिल’देखि ‘चेन्नई एक्सप्रेस’सम्म, यसरि बढाउँछन् निर्माता चलचित्रको व्यापार आँकडा

नेपाली चलचित्रको व्यापार कति भयो भन्ने, कि त निर्मातालाई थाहा हुन्छ कि त हल संचालकलाई थाहा हुन्छ । यसैले पनि चलचित्रको एकिन व्यापार भन्दा केहि बढी आँकडा हरेकजसो चलचित्रको निस्कने गर्छ ।

तर, तपाइलाई यो समाचार पढेर अचम्म लाग्न सक्छ । नेपालमा भन्दा बढी व्यापारमा घोटला बलिउड चलचित्रमा हुन्छ । बलिउडमा सय, दुई सय र तिन सय करोड कमाएका भनिएका थुप्रै चलचित्रका निर्माताले मिडियालाई दिएको आँकडा हेर्दा निकै उदेकलाग्दो छ ।

अहिले बलिउडमा कलाकारको स्टारडम बक्स अफिसका आधारमा हुने गर्दछ । जसकाकारण, निर्माताहरु बक्स अफिसमा सफल देखिनका लागि एकिन व्यापार भन्दा बढी रकम मिडियासामु दिइरहेका छन् । यस्तो काम गर्नेमा सलमान खान, साहरुख खानदेखि ऋतिक रोशन जस्ता स्टारहरु पनि छन् । जसले, आफ्नो चलचित्रको व्यापार निकै बढाएर मिडियामा दिएका छन् ।

आज, हामी तपाइलाई बलिउडको यो घोटला व्यापारको आँकडा यहाँ प्रस्तुत गर्दैछौ, जुन पढेर तपाइले बलिउडको बक्स अफिसमा वास्तविकता वुझ्नु हुनेछ ।
कुरा सुरु गरौ, गत साताबाट प्रदर्शनमा आएका २ चलचित्र ‘रइस र काबिल’को । यी दुइ चलचित्रको भिडन्त यति फोहरी खेलमा परिणत भैसकेको छ कि, जसले गर्दा अब ट्रेड पण्डितहरुले यी दुबै चलचित्रको व्यापार लेख्न छाडेका छन् । बलिउडका चर्चित ट्रेड पण्डित तरण आर्दशले ‘काबिल’को व्यापार आँकडा पहिलो साताबाट नै सार्वजनिक गर्न छाडेका थिए भने ‘रइस’को आँकडा पनि उनले सोमबारबाट सार्वजनिक गर्न छाडेका छन् ।

चलचित्र ‘काबिल’का निर्माता राकेश रोशनको अहिले ट्विटरमा चर्को आलोचना भैरहेको छ । कारण, उनले चलचित्र रिलिज भएको पहिलो दिनदेखि हरेक दिन २ देखि ३ करोड धेरै व्यापार देखाइरहेका छन् । ‘रइस’सँगको प्रतिस्पर्धामा पछि परेपछि राकेश रोशनको यस्तो खेल सुरु भएको हो । पहिलो दिन यो चलचित्रले ८.२५ करोडको व्यापार गर्दा राकेशले १०.४३ करोडको आँकडा देखाएका थिए ।

राकेशको यो खेल दैनिक जारी छ । उनले दोश्रो शनिबार चलचित्रले २.०५ करोडको व्यापार गर्दा ९ करोड माथिको आँकडा देखाएका छन् । दोश्रो शनिबारसम्म आइपुग्दा निर्माताले चलचित्रको व्यापार भारतमा १०६.२५ करोड पुर्‍याएका छन् । तर, चलचित्रको वास्तविक व्यापार भने ७८.८ करोडको छ । यसको अर्थ, चलचित्र रिलिज भएको ११ दिनसम्म आइपुग्दा निर्माता र ट्रेडको आँकडामा करिब २८ करोडको फरक देखिएको छ । ११ दिनसम्म निर्माता र बक्स अफिसमा केहि करोड फरक देखिनु नौलो कुरा होइन । तर, रिलिज भएको ११ दिनमै २८ करोड भन्दा बढी फरक देखिनु, आफैमा गम्भिर कुरा हो ।

केहि भारतीय मिडियाले निर्माता राकेश रोशनले दिएको आँकडा सार्वजनिक गरिरहेका छन् भने बक्स अफिस इन्डिया लगायतका केहि मिडियाले वास्तविक व्यापार सार्वजनिक गरिरहेका छन् ।

प्रदर्शनको सुरुवातको ५ दिन साहरुख खान निर्मित तथा अभिनित चलचित्र ‘रइस’को व्यापारमा कुनै फरक देखिएको थिएन । तर, राकेश रोशनले व्यापार गलत सार्वजनिक गर्न थालेपछि ‘रइस’को निर्माण कम्पनी रेड चिल्लीले पनि केहि बढी व्यापार सार्वजनिक गर्न थाल्यो । रिलिजको ११ दिनसम्म आइपुग्दा निर्माताको फिगर र ट्रेड फिगरमा करिब ९ करोड फरक देखिएको छ । दोश्रो शुक्रबारसम्म चलचित्रले ११९ करोडको व्यापार गरेको छ भने, निर्माताको फिगरमा यसको व्यापार १२८ करोड देखाइएको छ । ‘रइस’को शनिबारको व्यापार निर्माताले सार्वजनिक गरेका छैनन् ।

यसरि, बलिउडमा स्टारडम र आफ्नो चलचित्र सफल देखाउनका लागि के सम्मको खेल हुन्छ भन्ने यसले पनि प्रष्ट्याउँछ । निर्माता राकेश रोशनकै निर्माणमा तयार भएको चलचित्र ‘कृष ३’को व्यापारमा पनि निर्माता र ट्रेडविच करिब ४९ करोडको फरक देखिएको थियो । यसको अर्थ, राकेश रोशनले चलचित्र सफल देखाउन करिब ४९ करोड बढी देखाएका थिए । उनको यो खेलको पर्दाफास, पछि मिडियामा सार्वजनिक भएको थियो । राकेशले चलचित्रले २ सय ४४ करोडको व्यापार गरेको आँकडा देखाइरहँदा यो चलचित्र १ सय ९५ करोडको आसपासको व्यापार गरेको थियो ।

सलमान खान अभिनित चलचित्र ‘प्रेम रतन धन पायो’को व्यापारमा पनि ट्रेड र निर्माताविच करिब १५ करोडको फरक छ । यो चलचित्रको लाइफ टाइम कलेक्शन निर्माताले २०६.६३ करोड देखाएका छन् । सलमानको चलचित्रले २ सय करोड माथिको व्यापार गर्‍यो भन्ने देखाउनका लागि यो खेल रचिएको थियो । तर, चलचित्रले १९० करोडको व्यापार मात्र गरेको थियो ।

अक्षय कुमार अभिनित चलचित्र ‘सिंग इज ब्लिङ’को व्यापारमा पनि यस्तै फरक देखिएको थियो । निर्माताले १४ दिनमै चलचित्रले ८८ करोड कमाएको देखाएका छन् । तर, ट्रेडको आँकडामा चलचित्रले २४ दिनमा जम्मा ७४ करोड कमाएको छ । यसको अर्थ, यो चलचित्रको कमाइमा पनि १० करोड माथि निर्माता आफैले बढाइदिएका छन् ।

नायक साहरुख खान अभिनित चलचित्र ‘चेन्नई एक्सप्रेस’को आँकडामा पनि धेरै फरक छ । निर्माण कम्पनी रेड चिल्लीले २२८ करोडको व्यापार देखाएको छ । तर, यसको वास्तविक कमाई २०७ करोड मात्र थियो । अर्थात, रेड चिल्लीले करिब २१ करोड बढी व्यापार आँकडा मिडियालाई उपलब्ध गराएको थियो ।

साहरुख खानकै अर्को चलचित्र ‘ह्याप्पी न्यू इयर’को लाइफ टाइम कलेक्शन २ सय करोड पुगेको थिएन । तर, निर्माण कम्पनीले २०३ करोड लाइफ टाइम कलेक्शन उपलब्ध गराएको थियो ।

गत बर्षको तिहामा रिलिज भएको चलचित्र ‘शिवाय’को व्यापार सय करोड पुगेको थिएन । तर, निर्माता तथा नायक अजय देवगणले लाइफ टाइम कलेक्शन १००.०५ करोड सार्वजनिक गरे । तर, ट्रेड फिगरमा चलचित्रले ८७.२५ करोडको कमाई गरेको छ । अर्थात, करिब १३ करोड बढी व्यापार निर्माताले देखाएका छन् ।

एकसाथ, २ चलचित्रको भिडन्त भएको अवस्थामा निर्माताहरु अझ चलचित्रको व्यापार बढाएर भन्न सिपालु देखिएका छन् । बलिउडमा स्टारडमको लडाई छ । जसले गर्दा, आफूलाई सुपरस्टार देखाउन नायकहरु नै यस्तो खेल खेलिरहेका छन् । अर्कोतिर, चलचित्र चलेको र बक्स अफिसमा सफल भएको देखाउन निर्माण कम्पनीले व्यापारको आँकडा बढाएर देखाउने गरेका छन् ।

माथि हामीले उल्लेख गरेका केहि चलचित्र त उदाहरण मात्र हुन् । अधिकांश चलचित्रको व्यापार वास्तविक भन्दा केहि बढी सार्वजनिक गरेका छन् । तर, केहि निर्माता र कलाकारले हदको सिमा नै पार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment