Comments Add Comment

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई दुई करोड

रासस


२७ माघ, बेनी (म्याग्दी) । सामाजिक अभियन्ता महावीर पुनले सुरु गरेको राष्ट्रिय आविष्कार केन्द्र खोल्ने अभियानमा ६ महिनाको अवधिमा दुई करोड सङ्कलन भएको छ ।

राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि ५० करोड उठाउने लक्ष्यका साथ गत साउनदेखि सुरु गरेको ‘महादान अभियान’ अन्तर्गत सरकारी सहयोगबाहेक नै देश–विदेशमा रहेका नेपालीबाट ६ महिनाको अवधिमा सो रकम सङ्कलन भएको हो ।

अहिलेसम्म आफूले कसैलाई पनि सहयोगका लागि पत्राचार वा आग्रह नगरेको र स्वतःस्फूर्त रुपमा सो रकम सङ्कलन भएको बताउने सामाजिक अभियन्ता पुनले अब भने देश–विदेशमा रहेका नेपालीलाई पत्राचार नै गर्ने जानकारी दिए

“सार्वजनिकरुपमा गरिएको आह्वानबाट नै दुई करोड सहयोग प्राप्त भयो, अब पत्राचार गरेर औपचारिकरुपमा नै सहयोगको आग्रह गर्छु”, पुनले भने ।

सामाजिक अभियन्ता पुनका अनुसार प्राप्त रकममध्ये धेरै रकम विदेशमा बस्ने नेपालीबाट सङ्कलन भएको छ । सबैभन्दा बढी प्रवासी नेपाली सङ्घ (मोना), हङकङले एकमुष्ट ५७ लाख ४९ हजार दुईसय ९६ सहयोग गरेको पुनले जानकारी दिए ।

रकम हिमालयन र एभरेस्ट बैंकमा रहेको खातामा जम्मा भइरहेको छ । अब भने एक वर्ष भित्रमा  ५० करोड सङ्कलन गर्न पुनले अभियानलाई व्यापक बनाउन सुरु गरेको बताए ।

“अब हामी घरघरमा जान्छौँ, ढोका–ढोकामा पुग्छौँ,” पुनले भने, “विदेशमा पनि बोलाएको ठाउँमा जाने योजना बनाइरहेको छु ।”

५० करोड जुटाएर जलविद्युत्मा लगानी गर्ने र जलविद्युत्बाट हुने आम्दानीलाई राष्ट्रिय आविष्कार केन्द्रका लागि प्रयोग गर्ने योजना पुनको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment