Comments Add Comment

पर्सामा हावाहुरीले ५ सय ९ घरधुरीमा क्षति

१९ चैत, वीरगञ्ज । पर्सामा हावाहुरीले ५ सय ९ घरधुरीमा क्षति पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार जिल्लाका विभिन्न ठाउँमा गरी ५ सय ९ जनाको घरमा क्षति पुगको छ । १ सय २२ वटा घर पूर्ण क्षति भएको छ भने ३ सय ८७ घरमा आंशिक क्षति पुगेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका १८ जगरनाथपुर र वडा नं २२ सुखचैनामा बढी भौतिक क्षति भएको छ । हावाहुरीले जगरनाथपुरमा २ सय ९ र सुखचैनामा १ सय १८ वटा घरधुरीमा क्षति पुर्‍याएको छ ।

पर्सामा क्षतिको विवरण आइसकेकोले राहत र पूर्नस्थापनाका काममा जुट्न सबै सरोकारवाला निकायलाई निर्देशन दिइसकिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

पर्सामा हावाहुरीका कारण मानवीय क्षति भएको छैन । तर बारामा भएको दुर्घटनामा परेर पर्साका तीन जनाको मृत्यु भएको जानकारी जिल्ला प्रशासन कार्यालय पर्साले दिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं १८ भवानीपुर बस्ने १८ बर्षका सरोज रामको मृत्यु भएको छ । उनको बाराको परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरमा हावाहुरीका कारण भएको सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो ।

बारामा ईट्टा भट्टामा काम गर्दै आएका एक परिवारका दुई सदस्यको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका वडा नं ५ का हजुरवुवा नाति रामजित माझी र सुरज माझीको बारामा मृत्यु भएको हो । उनीहरुको परिवारका ४ जना सदस्य गम्भीर विरामी भई थप उपचारका लागि काठमाडौं रिफर गरिएको वडा अध्यक्ष दारा सिंहले बताए ।

दाताहरुको पर्सामा ध्यान कम

बाराको दुईवटा गाउँमा बढी क्षति पुगेका कारण दाता व्यक्ति र समूहहरुको ध्यान उतैतिर तानिएको छ । सञ्चारमाध्यमहरुले पनि बाराको भलुही भरवलिया र पुरैनियालाई नै केन्द्रविन्दुमा राखेर समाचार सार्वजनिक गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले रेडक्रस, वीरगञ्ज उद्योग वाणिज्य संघ लगायतका सरोकारवाला निकायसँग समन्वय गरेर राहत बाँडिरहेको छ । अन्य आवश्यक सहयोग नपुगिरहेको जिल्ला विपद व्यवस्थापन समितिका संयोजकसमेत रहेका पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले नै बताएका छन् ।

‘प्रभावित क्षेत्र वीरगञ्ज महानगरपालिकाको भवानीपुर र सुखचैनामा म आफैं पुगेर आएँ’ उनले भने ‘हामीले खानेकुरा र त्रिपाल दिए पुग्छ होला भन्ने सोचेका थियौं । तर उनीहरुले हुरीले ह््याण्ड पाइपको माथिल्लो भाग उडाएकोले त्यसको व्यवस्था गर्न भनेका छन् । खाना पकाउने भाँडा कुडा, लगाउने कपडा समेत छैन भन्ने गुनासो पीडितहरुको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment