+
+
Shares

धनकुटामा भारी वर्षा र हावाहुरीको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

ईश्वर थापा ईश्वर थापा
२०८३ कात्तिक ११ गते ८:४७
धनकुटा बजार क्षेत्र

११ कात्तिक, धनकुटा । बंगालको खाडीमा विकसित चक्रवात थप शक्तिशाली बनेपछि धनकुटासहित कोशी प्रदेशका जिल्लामा भारी वर्षा र हावाहुरीको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय धनकुटाले जारी गरेको सूचनाअनुसार कात्तिक १२ देखि १४ गतेसम्म चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सम्भावना छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागबाट जारी विशेष बुलेटिनका आधारमा प्रशासनले सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको प्रशासकीय अधिकृत रामजी पौडेलले जानकारी दिए ।

सम्भावित वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने तथा मानवीय र भौतिक क्षति हुन सक्ने भन्दै प्रशासनले जोखिम न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन आग्रह गरेको उनले बताए ।

प्रशासनले कात्तिक १२ गते बिहीबारदेखि धानबाली काट्ने, भित्र्याउनेलगायतका कृषि कार्य नगर्न तथा नगराउन अनुरोध गरेको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्यटक नजान, जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा बस्न र सम्भावित जोखिमबाट जोगिन भनेको छ। भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि प्रशासनले आग्रह गरेको छ। वर्षाको समयमा जोखिमयुक्त स्थानमा सवारीसाधन नचलाउन र परिस्थिति हेरेर मात्र यातायात सञ्चालन गर्न आग्रह गरेको पौडेलले बताए ।

स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा सरोकारवाला निकायलाई सर्वसाधारणलाई जोखिमबारे जानकारी गराउन र विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन प्रशासनले निर्देशन दिएको छ। पूर्वसूचना तथा चेतावनी जारी भएका जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति र परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत आग्रह गरिएको छ।

त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभागलगायत सम्बन्धित निकायबाट जारी हुने अद्यावधिक पूर्वानुमान तथा चेतावनीको पालना गर्न प्रशासनले अनुरोध गरेको छ।

विपद्का घटना घटेमा तत्काल सम्बन्धित निकायमा सम्पर्क गरी जानकारी गराउन पनि प्रशासनले आग्रह गरेको छ। प्रशासनले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सबैलाई पूर्वतयारी अपनाउन र आधिकारिक सूचनाको पालना गर्न अनुरोध गरेको छ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?