+
+
Shares

धनकुटामा तास खेलिरहेका १२ जना २ लाख ३६ हजार नगदसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते ९:४३

१३ असोज, धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट नगद २ लाख ३६ हजार २५० रुपैयाँ तथा २१ बुक तास बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मंगलबार बिहान चौबिसे गाउँपालिका वडा नं. २ डाँडागाउँस्थित दीपक सारु मगरको घरमा तास खेल भइरहेको विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली परिचालन गरिएको थियो ।

प्रहरी टोलीले उक्त घरमा पुगेर तास खेलिरहेका ६ जना र खेल हेरिरहेका ६ जना गरी १२ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी, प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार घटनास्थलबाट खोलेको ४ बुङ र नखोलेको १७ बुङ गरी जम्मा २१ बुङ तास बरामद भएको छ । तास खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा चौबिसे गाउँपालिका वडा नं. २ का ३६ वर्षीय इमा मगर, ५३ वर्षीय राजेन्द्र मगर, चौबिसे गाउँपालिका वडा नं. ६ राजारानीका ४५ वर्षीय गुणराज राई, सोही स्थानका ३६ वर्षीय लेखबहादुर लिम्बु (यलेक्स), ४२ वर्षीय योगेन लिम्बु तथा चौबिसे गाउँपालिका वडा नं. ७ मौनाबुधुकका ४० वर्षीय राम चेम्जोङ रहेका छन् ।

त्यस्तै, तासको खेल हेरिरहेको अवस्थामा नियन्त्रणमा लिइएकामा चौबिसे गाउँपालिका वडा नं. २ डाँडागाउँका ३० वर्षीय सुमन मगर, मुढेवासका २१ वर्षीय समिर मगर, लाप्सेका २६ वर्षीय प्रजल मगर, डाँडाटोलका २४ वर्षीय प्रदीप मगर, धारापानीका १९ वर्षीय विशाल मगर तथा चौबिसे गाउँपालिका वडा नं. ६ राजारानीका ३५ वर्षीय धीरेन चेम्जोङ रहेका छन् ।

प्रहरीका अनुसार प्रदीप मगर दीपक सारु मगरको घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए । घटनाबारे जिल्ला प्रहरी कार्यालय धनकुटाले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेकामाथि प्रचलित कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि सोमबार धनकुटाको हिलेबाट तास खेलिरहेका ८ जनालाई नियन्त्रणमा लिएको थियो । हिलेबाट पक्राउ परेका ८ जना सहित प्रहरीले एक लाख १४ हजार ५५० रुपैयाँ नगद, चार बुङ खुला तास तथा विभिन्न अंक लेखिएका १ सय १९ वटा गोटी बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?