१३ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानले आफ्नो आणविक कार्यक्रमबारे ठोस र लचिलो कदम चालेमा उसमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू हटाउन र रोक्का गरिएका इरानी कोषहरू फुकुवा गर्न तयार भएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
यो सन्देश यस्तो समयमा आएको छ जब कतार र पाकिस्तानका मध्यस्थकर्ताहरूले यी दुई देशबीचको तनाव अन्त्य गर्न न्युयोर्कमा पुनः कूटनीतिक प्रयास तीव्र बनाएका छन्।
हाल दुवै पक्ष मुख्य मुद्दाहरूमा निकै टाढा रहेको देखिन्छन् । इरान वार्ताको मुख्य केन्द्र होर्मुज जलमार्गको आवतजावत र अमेरिकाले लगाएको नाकाबन्दी हटाउने विषयमा केन्द्रित होस् भन्ने चाहन्छ।
ट्रम्प प्रशासन भने इरानले पहिले आणविक सम्झौता (न्युकिल्यर कन्सेसन) जनाउनुपर्ने अडानमा कायम छ।
ट्रम्पले इरानको पछिल्लो युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि पनि यी अप्रत्यक्ष वार्ताहरूले कूटनीतिक सफलताको सानो आशा जगाएका छन्।
मध्यस्थकर्ताहरूले न्युयोर्कमा इरानी विदेश मन्त्री अब्बास अराघचीसँग भेटघाट गरी कतारले अघि सारेको प्रस्तावबारे छलफल गरिरहेका छन्। कतारी मध्यस्थकर्ताहरूले न्युयोर्कमै अमेरिकी अधिकारीहरूसँग पनि भेट्ने कार्यक्रम छ।
वार्ताबारे जानकार अमेरिकी अधिकारीले यस अप्रत्यक्ष वार्तालाई ‘सकारात्मक र रचनात्मक’ भन्दै इरानले आणविक मुद्दामा लचिलोपन देखाउने संकेत गरेको बताएका छन्। तर, उनले अझै पनि ठूलो मतभेद् कायम रहेको र इरानले आणविक विषयमा स्पष्ट कदम नचालेसम्म कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्।
अमेरिकी अधिकारीका अनुसार होर्मुज जलमार्गमा जहाजहरूको आवतजावत बढिरहेको छ भने अमेरिकी नाकाबन्दी र प्रतिबन्धले इरानको स्थिति कमजोर बनाउँदै लगेको छ।
साथै, ह्वाइट हाउसले इरानका आश्वासनहरूमाथि शंक व्यक्त गरेको छ।
गत जुलाईमा होर्मुज जलमार्गमा व्यापारिक जहाजहरूमाथि आक्रमण गरेर इरानले अघिल्लो समझदारी पत्र ( एमओयू ) तोडेको आरोप अमेरिकाले लगाएको छ।
त्यसैले यस पटक इरान साँच्चै गम्भीर छ र यो आफ्नो अप्ठ्यारो स्थितिबाट उम्किने प्रयास मात्र होइन भन्ने कुरामा अमेरिका विश्वस्त हुन चाहन्छ।
यसैबीच, यो रिपोर्ट सार्वजनिक भएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यसको खण्डन गरेका छन्।
ट्रम्पले मिडिया रिपोर्टलाई झुटो भन्दै आफूले इरानलाई प्रतिबन्ध फुकुवा वा रोक्का रकम फिर्ता गर्ने कुनै पनि प्रस्ताव नराखेको दाबी गरेका छन्।
प्रतिक्रिया 4