+
+
Shares

१४औँ प्रयासमा पृथ्वीको कक्षमा पुग्न सफल भयो स्पेसएक्सको स्टारशिप

२६ स्टारलिंक स्याटेलाइट प्रक्षेपण

इलोन मस्कको कम्पनी स्पेसएक्सले निर्माण गरेको ‘स्टारशिप’ रकेट पहिलोपटक पृथ्वीको कक्षमा प्रवेश गर्न सफल भएको छ । यो परीक्षण उडानका क्रममा २६ वटा नयाँ प्रविधिका स्टारलिंक स्याटेलाइटसमेत अन्तरिक्षमा पठाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते ६:२६

१३ असोज, काठमाडौं । इलोन मस्कको कम्पनी स्पेसएक्सले निर्माण गरेको शक्तिशाली रकेट ‘स्टारशिप’ पहिलोपटक पृथ्वीको कक्ष (अर्बिट) मा पुगेको छ ।

२८ सेप्टेम्बरमा गरिएको स्टारशिपको १४औँ परीक्षण उडानका क्रममा २६ वटा नयाँ प्रविधिका स्टारलिंक स्याटेलाइटसमेत अन्तरिक्षमा पठाइएको छ ।

नेपाली समयअनुसार साँझ साढे ६ बजे टेक्सासस्थित स्टारबेसबाट स्टारशिप प्रक्षेपण गरिएको थियो । यसअघि स्टारशिपका सबै परीक्षण उडानलाई सब–अर्बिटल ट्राजेक्टोरीमा सीमित गरिएको थियो । यसको उद्देश्य सुरक्षा कायम राख्दै रकेटको प्रदर्शनसम्बन्धी बढीभन्दा बढी तथ्यांक संकलन गर्नु थियो ।

यसपटक भने स्टारशिप पहिलोपटक पृथ्वीको कक्षमा प्रवेश गरेको हो ।

योजना गरिएको समयभन्दा अघि नै मिसन समाप्त

सुरुआती योजनाअनुसार स्टारशिपलाई करिब १० घण्टासम्म पृथ्वीको कक्षमा घुमाउने तयारी थियो । तर मिसनका क्रममा गरिएको समीक्षा (रिभ्यु) पछि कन्ट्रोलरहरूले उडान छोट्याउने निर्णय गरेका थिए ।

उडान सुरु भएको करिब २ घण्टा १२ मिनेटपछि स्टारशिपको डी–अर्बिट बर्न पूरा गरिएको थियो । त्यसपछि उडान सुरु भएको करिब तेस्रो घण्टामा स्टारशिपलाई प्रशान्त महासागरमा सफल अवतरण गराइएको थियो ।

स्टारशिप स्पेसक्राफ्ट र सुपर हेभी बुस्टर गरी दुई मुख्य भाग मिलेर बनेको प्रणालीलाई सामूहिक रूपमा ‘स्टारशिप’ भनिन्छ । यसको उचाइ करिब ४०३ फिट अर्थात् १२३ मिटर छ ।

यसरी २०२३ मा पहिलो परीक्षण उडानबाट सुरु भएको स्टारशिपको परीक्षण यात्रा १४औँ उडानसम्म आइपुग्दा पहिलोपटक पृथ्वीको कक्षमा पुग्ने चरणमा पुगेको छ । स्पेसएक्सले स्टारशिपलाई भविष्यमा मानिस र ठूलो परिमाणमा सामग्री अन्तरिक्षमा लैजान तथा पुन: प्रयोग गर्न सकिने रकेटका रूपमा विकास गरिरहेको जनाएको छ ।

पहिलोपटक स्टारलिंकको नयाँ पुस्ताका २६ स्याटेलाइट

यो मिसनमा पहिलोपटक नयाँ प्रविधिमा आधारित २६ वटा ‘स्टारलिंक भी ३’ स्याटेलाइट अन्तरिक्षमा पठाइएको छ ।

यी स्याटेलाइटले विश्वव्यापी स्टारलिंक इन्टरनेट नेटवर्कको क्षमता बढाउने अपेक्षा गरिएको छ । एउटा स्याटेलाइटले करिब १ टेराबिट प्रतिसेकेन्ड (टीबीपीएस) डेटा क्षमता थप्ने दाबी गरिएको छ ।

यस हिसाबले यसपटक प्रक्षेपण गरिएका २६ स्याटेलाइटले कुल करिब २६ टीबीपीएस डेटा क्षमता थप्न सक्ने बताइएको छ । यो स्पेसएक्सको फाल्कन–९ रकेटबाट पठाइने अघिल्लो पुस्ताका साना स्याटेलाइटको तुलनामा उल्लेख्य रूपमा बढी क्षमता हो ।

१३ औँ परीक्षणमा पहिलोपटक पानीमा सुरक्षित अवतरण

स्टारशिपको १३ औँ परीक्षण उडान २५ जुलाई २०२६ मा भएको थियो । उक्त परीक्षणमा माथिल्लो भाग (अपर स्टेज) हिन्द महासागरमा र बुस्टर मेक्सिकोको खाडीमा अवतरण गरिएको थियो । यो स्टारशिपलाई सुरक्षित रूपमा पानीमा अवतरण गराइएको पहिलो अवसर थियो ।अवतरणका क्रममा स्टारशिप ‘बेली–फ्लप’ अवस्थाबाट सीधा हुँदै पानीमा ठाडो रूपमा अवतरण गरेको थियो । त्यसपछि विस्तारै एकातर्फ ढल्किएर समुद्रमा तैरिएको थियो ।

१२औँ परीक्षणमा इन्जिनमा समस्या

स्टारशिपको १२औँ परीक्षणमा पहिलोपटक यसको नयाँ र ठूलो भी–३ संस्करण प्रयोग गरिएको थियो । टेक्सासको दक्षिणी क्षेत्रमा रहेको स्टारबेसबाट उडान भरेपछि इन्जिनमा समस्या आएको थियो । रकेट असफल हुने जोखिम देखिए पनि करिब एक घण्टापछि स्टारशिप स्पेसक्राफ्ट हिन्द महासागरमा सुरक्षित अवतरण गर्न सफल भएको थियो ।

११औँ परीक्षणमा डमी स्याटेलाइट प्रक्षेपण

१४ अक्टोबर २०२५ मा भएको ११औँ परीक्षणमा सुपर हेभी बुस्टरलाई अमेरिकाको खाडीमा र स्टारशिपलाई हिन्द महासागरमा पानीमा अवतरण गराइएको थियो । यस परीक्षणको उद्देश्य भविष्यमा बुस्टर र स्टारशिपलाई प्रक्षेपणस्थलमै फर्काएर पुन: प्रयोग गर्ने प्रविधिसम्बन्धी परीक्षण गर्नु थियो ।

१०औँ परीक्षणमा स्टारलिंक सिमुलेटर अन्तरिक्षमा

२७ अगस्ट २०२५ मा भएको १०औँ परीक्षणमा स्टारलिंकका सिमुलेटर स्याटेलाइट अन्तरिक्षमा पठाइएको थियो । यी वास्तविक स्टारलिंक स्याटेलाइट नभई तिनकै नमुना (डमी) हुन् । तिनको प्रयोग स्टारशिपको स्याटेलाइट प्रक्षेपण क्षमता परीक्षण गर्न गरिएको थियो ।

९औँ परीक्षणमा नियन्त्रण गुम्यो

२८ मे २०२५ मा भएको नवौँ परीक्षणमा प्रक्षेपणको करिब ३० मिनेटपछि स्टारशिपले नियन्त्रण गुमाएको थियो । त्यसपछि वायुमण्डलमा पुन: प्रवेश गर्ने क्रममा यो नष्ट भएको थियो । यद्यपि सुपर हेभी बुस्टरले भने मेक्सिकोको खाडीमा अवतरण गरेको थियो ।

आठौँ परीक्षणमा बुस्टर फर्कियो, स्टारशिप नष्ट

७ मार्च २०२५ मा भएको आठौँ परीक्षणमा प्रक्षेपणको करिब सात मिनेटपछि सुपर हेभी बुस्टर अलग भएर फर्किएको थियो । तर त्यसको करिब आठ मिनेटपछि स्टारशिपको माथिल्लो भागका ६ मध्ये चार इन्जिनले काम गर्न छाडेपछि यसले नियन्त्रण गुमाएको थियो । त्यसपछि स्वचालित अबोर्ट प्रणालीमार्फत स्टारशिपलाई नष्ट गरिएको थियो । स्टारशिपको भग्नावशेष खसेपछि मियामी, ओर्लान्डो, पाम बिच र फोर्ट लडरडेल क्षेत्रका विमानस्थलको उडान सेवासमेत प्रभावित भएको थियो ।

सातौँ परीक्षणमा बुस्टर फर्कियो, स्पेसक्राफ्ट विस्फोट

१७ जनवरी २०२५ मा भएको सातौँ परीक्षणमा पनि बुस्टर सफलतापूर्वक अलग भएर फर्किएको थियो । तर माथिल्लो भागमा अक्सिजन चुहावट भएपछि स्टारशिप आकाशमै विस्फोट भएको थियो । छैटौँ परीक्षणमा ट्रम्प पनि स्टारबेस पुगेका थिए । २० नोभेम्बर २०२४ मा भएको छैटौँ परीक्षण हेर्न तत्कालीन अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प पनि स्टारबेस पुगेका थिए । यस परीक्षणमा सुपर हेभी बुस्टरलाई प्रक्षेपणस्थलमै फर्काएर ‘क्याच’ गर्ने योजना थियो । तर आवश्यक सबै मापदण्ड अनुकूल नभएपछि बुस्टरलाई पानीमा अवतरण गराइएको थियो । यसै परीक्षणमा स्टारशिपको इन्जिन अन्तरिक्षमै पुन: सञ्चालन गरिएको थियो । त्यसपछि स्पेसक्राफ्ट हिन्द महासागरमा अवतरण गरिएको थियो ।

पाँचौँ परीक्षणमा पहिलोपटक बुस्टरलाई ‘क्याच’ गरियो

१३ अक्टोबर २०२४ मा भएको पाँचौँ परीक्षण स्टारशिपको विकासक्रममा महत्वपूर्ण मानिएको थियो । यस परीक्षणमा सुपर हेभी बुस्टरलाई करिब ९६ किलोमिटर उचाइबाट प्रक्षेपणस्थलमा फर्काएर ‘मेकाजिला’ नाम दिइएको संरचनाले समातेको थियो । मेकाजिला दुईवटा ठूला धातुका हातजस्ता संरचना हुन्, जसले बुस्टरलाई ‘चपस्टिक’ जस्तै समात्ने गर्छन् । त्यसैगरी स्टारशिपलाई पृथ्वीको वायुमण्डलमा पुन: प्रवेश गराएर हिन्द महासागरमा नियन्त्रित अवतरण गराइएको थियो । पुन: प्रवेशका क्रममा यसको गति करिब २६ हजार किलोमिटर प्रतिघण्टा र तापक्रम करिब १ हजार ४३० डिग्री सेल्सियससम्म पुगेको थियो ।

चौथो परीक्षणमा अन्तरिक्ष पुगेर पानीमा अवतरण

६ जुन २०२४ मा भएको चौथो परीक्षणमा स्टारशिप अन्तरिक्षसम्म पुगेपछि पृथ्वीमा फर्किएर पानीमा अवतरण गर्न सफल भएको थियो । करिब एक घण्टा पाँच मिनेटको उक्त मिसनको मुख्य उद्देश्य पृथ्वीको वायुमण्डलमा पुन: प्रवेश गर्दा स्टारशिपले उच्च ताप र दबाब सहन सक्छ कि सक्दैन भन्ने परीक्षण गर्नु थियो । स्पेसएक्सका प्रमुख इलन मस्कले त्यसपछि केही टाइलमा क्षति र एउटा फ्ल्यापमा समस्या आए पनि स्टारशिपले समुद्रमा सफ्ट ल्यान्डिङ गरेको बताएका थिए ।

तेस्रो परीक्षणमा पुन: प्रवेशका क्रममा सम्पर्क विच्छेद

१४ मार्च २०२४ मा भएको तेस्रो परीक्षणमा स्टारशिपले कक्षमा पुगेर पेलोड डोर खोल्ने र बन्द गर्ने तथा रकेटभित्र तरल अक्सिजन स्थानान्तरण गर्नेजस्ता परीक्षण सफलतापूर्वक गरेको थियो । तर पृथ्वीको वायुमण्डलमा पुन: प्रवेश गर्ने क्रममा स्टारशिपसँग सम्पर्क विच्छेद भएको थियो । स्पेसएक्सले यसलाई पूर्ण रूपमा सफल नभए पनि महत्वपूर्ण तथ्यांक प्राप्त भएको परीक्षणका रूपमा व्याख्या गरेको थियो ।

दोस्रो परीक्षणमा स्टेज सेपरेसनपछि समस्या

१८ नोभेम्बर २०२३ मा भएको दोस्रो परीक्षणमा प्रक्षेपणको करिब २.४ मिनेटपछि सुपर हेभी बुस्टर र स्टारशिप अलग भएका थिए । बुस्टर पृथ्वीमा फर्किनुपर्ने भए पनि करिब ९० किलोमिटर उचाइमा विस्फोट भएको थियो । स्टारशिप भने केही समय आफ्नो मार्गमा अघि बढेको थियो । करिब आठ मिनेटपछि १४८ किलोमिटर उचाइमा पुगेपछि यसमा पनि समस्या देखिएपछि फ्लाइट टर्मिनेसन सिस्टममार्फत नष्ट गरिएको थियो । यस परीक्षणमा पहिलोपटक ‘हट स्टेजिङ’ प्रविधिबाट बुस्टर र स्टारशिपलाई अलग गरिएको थियो । प्रक्षेपणदेखि स्टेज सेपरेसनसम्म स्टारशिपका ३३ वटै र्‍याप्टर इन्जिनले काम गरेका थिए ।

पहिलो परीक्षणमै चार मिनेटपछि विस्फोट

२० अप्रिल २०२३ मा स्टारशिपको पहिलो परीक्षण उडान भएको थियो । बुस्टर–७ र शिप–२४ प्रयोग गरिएको उक्त परीक्षणमा प्रक्षेपणको करिब चार मिनेटपछि करिब ३० किलोमिटर उचाइमा स्टारशिप विस्फोट भएको थियो । तर प्रक्षेपणस्थलबाट स्टारशिप उड्नु नै स्पेसएक्सका लागि महत्वपूर्ण उपलब्धि मानिएको थियो । त्यतिबेला स्पेसएक्सले परीक्षणबाट प्राप्त तथ्यांकका आधारमा आगामी उडानमा स्टारशिपको विश्वसनीयता सुधार गर्ने जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?