१३ असोज, बेइजिङ । चीनले एकैदिन चार ठूला उच्चगतिका रेलमार्ग सञ्चालनमा ल्याएको छ । सञ्चालनमा आएका नयाँ रेलमार्गहरुमा हेबेई प्रान्तको स्युङआनदेखि हेनानको साङछिउ, शान्सीको सिआनदेखि आनकाङ, हुबेईको यिछाङदेखि सिङसान र हेइलोङजियाङको हार्बिनदेखि यिछुन छन् ।
यी नयाँ रेलमार्गले चीनका विभिन्न क्षेत्रबीचको यातायात सम्पर्क थप सहज बनाउनुका साथै क्षेत्रीय आर्थिक विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
चीन विश्वकै सबैभन्दा ठूलो उच्चगतिको रेल सञ्जाल भएको देश हो ।
उत्तरी चीनमा रहेको स्युङआन–साङछिउ खण्डको मुख्य रेलमार्ग ५५२ किलोमिटर लामो छ । यो रेलमार्ग स्युङआन नयाँ क्षेत्र हुँदै हेबेई, शानडोङ र हेनानका विभिन्न शहर जोड्दै साङछिउ पुग्छ ।
चीन रेलवे बेइजिङ ग्रुपका अनुसार यस खण्डमा रेल सञ्चालन भएपछि स्युङआनदेखि साङछिउसम्मको यात्रा समय घटेर २ घण्टा २७ मिनेटमा सीमित हुनेछ ।
उत्तरपश्चिम चीनमा सञ्चालनमा आएको सिआन–आनकाङ रेलमार्ग १७१ किलोमिटर लामो छ । छिनलिङ पर्वत पार गर्ने क्रममा जटिल भौगोलिक अवस्था र वातावरणीय संरक्षणलाई ध्यान दिँदै निर्माण गरिएको यो रेलमार्गमा रेलको डिजाइन गति प्रतिघण्टा ३५० किलोमिटर रहेको छ । यसमार्फत सिआनदेखि आनकाङसम्मको यात्रा करिब ४५ मिनेटमा पूरा हुनेछ ।
केन्द्रीय चीनमा रहेको यिछाङ–सिङसान खण्ड निर्माणका क्रममा पनि कठिन भौगोलिक चुनौती पार गरिएको थियो । रेलमार्ग दाबा पर्वत हुँदै अघि बढ्छ, जहाँ १६.९ किलोमिटर लामो गहिरो सुरुङ तथा ठूलो उचाइको विशाल पुल निर्माण गरिएको छ ।
यो रेलमार्गले याङ्त्से नदी हुँदै जाने सांघाई–छोङछिङ–छेङ्दु उच्चगति रेलमार्ग र छेङ्दु–छोङछिङ उच्चगति रेलमार्गलाई जोड्नेछ । यसले याङ्त्से नदी आर्थिक क्षेत्रका विभिन्न क्षेत्रमा आर्थिक गतिविधि विस्तार गर्न थप गति दिने चीन रेलवे वुहान ग्रुपले जनाएको छ ।

पर्माफ्रोस्ट क्षेत्रमा पनि रेलमार्ग निर्माण
यसैगरी, उत्तरपूर्वी चीनमा सञ्चालनमा आएको हार्बिन–यिछुन उच्चगति रेलमार्ग ३१८ किलोमिटर लामो छ । यो चीनमा हालसम्म निर्माण भएको सबैभन्दा उत्तरी उच्चगति रेलमार्ग हो ।
यस रेलमार्गको यिछुन वेस्ट स्टेसन समुद्री सतहबाट करिब ४७ डिग्री उत्तरी अक्षांशमा रहेको छ । चीन रेलवे कन्स्ट्रक्सन ग्रुपका अनुसार यो स्थायी रूपमा जमेको भूभाग अर्थात् पर्माफ्रोस्ट क्षेत्रमा निर्माण गरिएको चीनको पहिलो उच्चगति रेल स्टेशन भवन हो ।
हार्बिनलाई यिछुनसँग जोड्ने नयाँ रेलमार्गले दुई शहरबीचको रेल यात्रा समय करिब ७ घण्टाबाट घटाएर २ घण्टामा ल्याउनेछ । यसले चीनको उच्चगति रेल सञ्जाललाई उत्तरी तथा तुलनात्मक रूपमा कम पहुँच भएका क्षेत्रमा समेत विस्तार गरेको छ ।

पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा
चीनको राष्ट्रिय दिवसअघि सञ्चालनमा आएका यी रेलमार्गले पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नयाँ मार्गले प्रमुख शहरहरूलाई यिछाङको थ्री गर्जेज बाँध तथा यिछुनका वन क्षेत्रजस्ता पर्यटकीय गन्तव्यसँग जोड्नेछ ।
चीन स्टेट रेलवे ग्रुपका अनुसार सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चल्ने मध्य–शरद पर्व तथा राष्ट्रिय दिवसको लामो बिदाका क्रममा करिब २८ करोड ४० लाख यात्रु आवतजावत गर्ने अनुमान गरिएको छ ।
चीनले घरेलु बजार तथा उद्योगको बढ्दो आवश्यकतालाई सम्बोधन गर्न उच्चगति रेल सञ्जाल विस्तार र स्तरोन्नतिलाई तीव्रता दिएको छ ।
सन् २०२५ को अन्त्यसम्म चीनमा सञ्चालनमा रहेका कुल रेलमार्गको लम्बाइ १ लाख ६५ हजार किलोमिटर पुगेको छ, जसमा ५० हजार किलोमिटरभन्दा बढी उच्चगतिका रेलमार्ग छन् ।

आठ महिनामा ७५ अर्ब ९० करोड अमेरिकी डलर लगानी
रेल क्षेत्रमा सन् २०२६ को पहिलो आठ महिनामा चीनले ५ खर्ब ११ अर्ब ८० करोड युआन (करिब ७५ अर्ब ९० करोड अमेरिकी डलर) स्थिर सम्पत्ति लगानी गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.५ प्रतिशत बढी हो ।
चीनको राष्ट्रिय योजनाअनुसार सन् २०३५ सम्म उच्चगति रेल सञ्जाल ७० हजार किलोमिटर पुर्याउने लक्ष्य छ । प्रस्तावित सञ्जालमा उत्तर–दक्षिणतर्फ आठवटा मुख्य र पूर्व–पश्चिमतर्फ आठवटा मुख्य रेलमार्ग रहनेछन् ।
पूर्ण रूपमा विस्तार भएपछि यसले चीनका प्रमुख शहर, शहरी समूह तथा महत्वपूर्ण आर्थिक क्षेत्रलाई उच्चगति रेलमार्फत जोड्ने समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
प्रतिक्रिया 4