१२ असोज, पोखरा । आगामी स्थानीय तहको निर्वाचनमा पोखराको मेयरका लागि चर्चा पाइरहेका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापा ‘नरेन’ नेपाली कांग्रेस कास्की–१ ‘क’ को सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् ।
कास्की–१ को क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका थापाले सर्वसम्मतिका लागि भन्दै पछाडि हटेर प्रदेशमा सर्वसम्मत भएका हुन् ।
कास्की–१ ‘क’ मा ध्रुव न्यौपाने, नारायणकुमार श्रेष्ठ, शिवराज अधिकारी र मुराहरि कोइराला आकांक्षी थिए । उनीहरू सबै जना नरेनलाई सभापति बनाउन सहमति भएपछि सर्वसम्मत सभापति निर्वाचित भएका हुन् ।
वडाध्यक्ष हुँदै पोखरा महानगरको पूर्वाधार विकास समिति सभापतिसमेत रहेका थापालाई पोखराको भावी मेयरका रूपमा पोखरामा चर्चा गरिएको छ । थापाले पोखराको नेतृत्व गर्न आफू तयार रहेको बताइरहेका छन् ।
फेवा किनारमा हुन लागेको कोटीहोम प्रकरणमा महानगरको तर्फबाट खरो उत्रनेदेखि फिर्के खोला र बसपार्कका संरचना भत्काउन पनि मेयर धनराज आचार्यलाई साथ दिँदै थापा समन्वयमा उत्रिएका थिए ।
प्रदेश सभापतिमा सर्वसम्मत भए पनि क्षेत्रीय सभापतिमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । क्षेत्रीय सभापतिका लागि नेता सरोज केसी, ओमप्रकाश गुरुङ र अप्सरा श्रेष्ठ प्रतिस्पर्धामा छन् । उनीहरूबीच मंगलबार मतदान हुँदैछ । कास्की–१ ‘ख’ तर्फ पनि अर्जुन गुरुङ र यम गुरुङबीच मतदान हुँदै छ ।
कास्की क्षेत्र नम्बर २ मा ४ जनाबीच प्रतिस्पर्धा भइरहेको छ । कांग्रेस नेता देवकृष्ण पराजुली, नवीन बराल, सुवास सिग्देल देवराज आचार्यबीच प्रतिस्पर्धा भएको छ ।
कास्की– ३ को क्षेत्रीय सभापतिमा सांसद प्रकाश बराल र नेता विष्णुबहादुर क्षेत्रीबीच प्रतिस्पर्धा भएको हो । कास्कीका ३ वटै क्षेत्रमा आज निर्वाचन हुँदैछ ।
आजको निर्वाचनबाट प्रदेश तथा क्षेत्रका पदाधिकारी, सदस्य र महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् ।
प्रतिक्रिया 4