Comments Add Comment

ललितपुरमा एप्सबाट चल्ने ट्राफिक लाइट

कन्ट्रोल गर्न ट्राफिक प्रहरीलाई दिइयो आईफोन

१९ चैत, काठमाडौं । ललितपुर महानगरपालिकाले ट्राफिक जामलाई न्युनिकरण गर्न मोबाइलबाटै ट्राफिक बत्ती (ट्राफिक लाइट) नियन्त्रण गर्ने अभ्यास थालेको छ ।

निजी क्षेत्रको कम्पनी पावरटेक नेपालसँगको सहकार्यमा महानगरपालिकाले जावलाखेलस्थित अल्का अस्पताल अगाडि मोबाइल नियन्त्रित ट्राफिक बत्तीको परीक्षण गरेको हो ।

महानगरपालिकाकाका प्रमुख चिरिबाबु महर्जनले मंगलबार आफैंले पनि उक्त प्रविधिको स्थलगत निरीक्षण गरे । सवारीको चाप बढी भएको बेला ड्युटीमा खटिएका ट्राफिकले मोबाइलबाटै हरियो र रातो संकेत हेरफेर गर्न सक्ने उनले अनलाइनखबरलाई जानकारी दिए ।

‘सवारी चाप कस्तो छ त्यसैअनुसार ड्युटीमा रहेका ट्राफिक स्वयंले ट्राफिक बत्ती नियन्त्रण गर्न सक्छन्’, महर्जनले भने ।
आईओएस भर्सनको मोबाइल एप्सबाट ट्राफिक प्रहरीले ट्राफिक बत्ती नियन्त्रण गर्दा सडक यात्रुलाई पनि जेब्राक्रसबाट वारपार गर्न सहज हुने महानगरपालिकाको अपेक्षा छ ।

एप्स चलाउन महानगरपालिकाले एप्पलको एउटा आइफोन पनि ट्राफिक प्रहरीलाई उपलब्ध गराएको छ ।  बत्ती जडान र एप्स बनाउने खर्च भने पावरटेकले नै गरेको प्रमुख महर्जन बताउँछन् ।

‘हामीले एउटा लेटेस्ट भर्सनको आईफोन ट्राफिक प्रहरीलाई दिएका छौं, कम्पनीका प्राविधिकले अल्काचोकमा ड्युटीमा खटिने ट्राफिकलाई त्यो एप्स चलाउने तरिका सिकाएका छन्’, उनले भने ।

मोबाइल एप्समा आधारित ट्राफिक बत्ती ललितपुर महानगरपालिका अगाडि र कुपण्डोलको हिमालय होटल अगाडि पनि जडान गरिसकिएको छ । तर, त्यसको परीक्षण हुन बाँकी छ ।

उनका अनुसार सवारी साधनको बढी चाप हुने महानगरपालिकाभित्रका १८ मुख्य मुख्य चोकमा मोबाइल नियन्त्रित ट्राफिक बत्ती जडान गर्ने योजना छ । हाल भीभीआईपीको सवारी हुँदा ट्राफिक बत्ती नै बन्द गर्ने गरिन्छ ।

साथै अन्य सामान्य बेला निर्धारित समय तोकेर (अटोमेटिक) सवारीलाई पास हुने र यात्रुलाई सडक पार गर्ने ग्रिन सिग्नल (हरियो संकेत) दिइन्छ ।

कतिपय स्थानमा ट्राफिक प्रहरीले नै रातो र हरियो संकेत दिने गर्छन् । ललितपुरमा परीक्षण थालिएको ट्राफिक बत्ती भने अटोमेटिक र मेनुअली दुवै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment