Comments Add Comment

‘माओवादी’ शब्द हटाउनेबारे विप्लव माओवादीमा विवाद

स्थानीय चुनावको प्रतिकार गर्ने धम्की

९ फागुन, रोल्पा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले स्थानीय तह चुनावको ‘सशक्त प्रतिकार गर्ने’ चेतावनी दिएको छ ।

आठौं महाधिवेशनस्थल रोल्पाको थवाङबाट सोमबार साँझ जारी गरिएको विज्ञप्तिमा विप्लवले भनेका छन्, ‘हाम्रो पार्टीले समानान्तर सत्ता चलाइरहेको अवस्थामा चुनावको औचित्य छैन, चुनावको सशक्त प्रतिरोध गर्नेछौं ।’

सरकारले ०७४ वैशाख ३१ गते स्थानीय तहको चुनाव गर्ने निर्णय गरेकै दिन विप्लवको यस्तो धम्की आएको हो ।

विवादकै वीचमा माओवादी शब्द हटाइयो

सोमबारको बन्दसत्रले राजनीतिक र विधान प्रतिवेदन पारित गरेको छ । पारित प्रतिवेदनमा पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ उल्लेख छ । नयाँ पार्टी गठन भएको दुई वर्षपछि आयोजित महाधिवेशनले ‘माओवादी’ शब्द हटाएको हो ।

यसअघि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट अलग भएर विप्लवले आफ्नो नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी माओवादी नामको नयाँ पार्टी खोलेका थिए ।

बन्दसत्रमा सहभागी कार्यकर्ताहरुलाई राजनीतिक तथा विधान प्रतिवेदनमा छलफल गर्न २० समूहमा विभाजन गरिएको छ । छलफलमा माओवादी शब्द हटाउने कि नहटाउने भन्नेमा विवाद भएको थियो ।

केहीले जनयुद्धको लिगेसी कायम राख्न पनि पार्टीको नामबाट माओवादी शब्द हटाउन नहुने बताएका थिए ।

१४ गते लिवाङमा घोषणासभा

विप्लव माओवादीको आठौं महाधिवेशनको उदघाटन काठमाडौंको खुलामञ्चमा फागुन १ गते भएको थियो । बन्दसत्र भने थवाङको सामुदायीक भवनमा भइरहेको छ ।

मंगलबार नयाँ कार्यसमिति चयन गर्दै महाधिवेशन सकिनेछ । महाधिवेशनले गरेका निर्णयहरु रोल्पा सदरमुकाम लिवाङमा फागुन १४ गते जनसभा गरेर सार्बजनिक गरिने एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment