Comments Add Comment

विद्यार्थीका ‘थ्री-एन’ नेता भन्छन्- प्रमाणपत्र धरौटी राखेर ऋण चाहियो (भिडियोसहित)

चुनावी एजेण्डाः विश्वविद्यालय सुधारदेखि राष्ट्रियता र रोजगारीसम्म

संयोग कस्तो परेको छ भने तीनवटै प्रमुख संगठनका केन्द्रीय अध्यक्षहरुको नामको अगाडिको अक्षर ‘न’ बाट सुरु भएको छ । अनेरास्ववियुकी अध्यक्ष नविना लामा हुन् भने अखिल क्रान्तिकारीका अध्यक्ष हुन्- नरेन्द्र न्यौपाने । त्यसैगरी नेवि संघका केन्द्रीय अध्यक्ष पदमा छन्- नैनसिंह महर ।१० फागुन, काठमाडौं । आगामी फागुन १८ गते त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । यो चुनावमा कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु र माओवादीनिकट अखिल क्रान्तिकारीले आ-आफू पहिलो शक्ति हुने दाबी गरिरहेका छन् ।

अनलाइनखबरले यो साता स्ववियु निर्वाचनसम्बन्धी बहस श्रृंखला सञ्चालन गर्ने क्रममा तीनवटै संगठनका ‘थ्री-एन’ नेताहरुलाई आफ्नो स्टुडियोमा बोलाएको छ । यसक्रममा हामीले तीनैजना विद्यार्थी नेतालाई प्रश्न सोध्यौं- तपाईको संगठनका चुनावी एजेण्डाहरु के -के हुन् ? अनलाइनखबर मार्फत् सम्पूर्ण विद्यार्थीहरुलाई प्रष्ट्याइदिनुहोस् । यसको जवाफ ‘थ्री-एन’ नेताले लगभग एकै प्रकारले दिए । उनीहरुको बढी जोड प्रमाणपत्र धितो राखेर शैक्षिक लोनको व्यवस्था गरियोस् र विश्वविद्यालय शिक्षामा सुधार गरियोस् भन्ने रहेको छ ।

नविना लामा, अध्यक्ष, अनेरास्ववियु

अनेरास्ववियुका थुप्रै एजेण्डाहरु छन् । हामीले हाम्रो घोषणापत्र सबै विद्यार्थीहरुको हातमा पुर्‍याइसकेका छौं । हाम्रा एजेण्डाहरुका बारेमा भन्नुपर्दा पहिलो चाहिँ हामी गुणस्तरीय शिक्षा भन्छौं । दोस्रोमा हामी प्रमाणपत्रका आधारमा शैक्षिक लोनको कुरा गर्छौं । तेस्रो चाहिँ संविधानको कार्यान्वयनको कुरा गर्छौं । चौथो चाँहि हामीले विश्वविद्यालयभित्र अस्तव्यस्त राजनीतिक भागवण्डा छ, त्यसलाई हामी मुक्त गर्न चाहन्छौं ।

त्यो भनेको प्राज्ञिक सिस्टमबाट विश्वविद्यालयलाई अगाडि बढाउनुपर्‍यो । पाँचौंमा चाहिँ अहिले स्वतन्त्र विद्यार्थी युनियनको जुन खालको छवि छ, यो छविलाई पुनर्ताजगी दिनका लागि हामीले स्ववियुलाई साझा मञ्च र गतिशील मञ्च बनाउन चाहन्छौं । छैठौंमा हामी के भन्छौं भने यो अहिले राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, स्वाभिमान र पहिचानको पक्षमा अनेरास्ववियु छ ।

सातौं चाहिँ हामीले अहिले भन्नैपर्दा सार्वजनिक स्कुल, कलेज विश्वविद्यालयको अवस्था कमजोर बन्दैछ । यो विश्वविद्यालयको अवस्थालाई हामीले प्रतिस्पर्धी बनाउने, रिसर्च बेसमा बनाउने, विश्व बजारमा प्रतिस्पर्धा गर्ने शिक्षा, ई-लर्निङ, डिजिटल एजुकेशन सबै क्षेत्रमा पहुँच बढाउनका लागि विश्वविद्यालयलाई त्योखालको गरिमामा उठाउन चाहान्छौं ।

आठौंमा के भन्न चाहान्छु भने प्राविधिक र व्यवहारिक शिक्षा असाध्यै कमजोर हुँदैछ । प्राविधिक र व्यवहारिक शिक्षा नै नेपालको विकास र समृद्धिको मूल आधार हो । विश्विद्यालय पढिसकेपछि उसले रोजगारी पाउनुपर्छ भन्ने कुराको ग्यारेन्टीको लागि हामी अघि बढेका छौं ।

रिमोट क्षेत्रमा गएर विद्यार्थीले देश र जनताको लागि भोलेन्टिएरको रुपमा काम गर्नुपर्ने, प्राध्यापक कर्मचारी पनि प्राज्ञिक ढंगले चल्नुपर्ने, त्रिभुवन विश्वविद्यालयको प्राध्यापक हुने, त्यहाँको तलब खाने तर अन्तै पढाउने यो कुराको पनि अन्त्य हुनुपर्छ ।

आज टाइममा रिजल्ट हुने, टाइममा परीक्षा हुने, टाइममा पाठ्यक्रम पुगेको छ कि छैन भन्ने कुरालाई पनि प्राथमिकताका साथ लिएका छौं । यीनै कुराहरुलाई स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा हामीले एजेण्डा बनाएका छौं । विस्तृत अध्ययनका लागि हाम्रो घोषणापत्र पनि पढ्नसक्नुहुन्छ ।

नरेन्द्र न्यौपाने, अध्यक्ष, अखिल क्रन्तिकारी

यसपालिको स्ववियु निर्वाचनमा हामी हाम्रै नीति र हाम्रै नेतृत्वमा चुनावमा जाँदैछौं । २८ वर्षको उमेर हदबन्दी पनि अखिल क्रान्तिकारीले उठाएको मुद्दा हो । र, मिश्रति चुनावी प्रणाली पनि अखिल क्रान्तिकारीले उठाएको मुद्दा हो ।

नेपालको राजनीतिक क्षेत्रमा परिवर्तनका निम्ति उमेर हदबन्दीले खासगरी विद्यार्थी आन्दोलनमा फ्रेस लिडरहरु जन्माउँछ र विद्यार्थी आन्दोलनबाट फेजआउट हुनेवित्तिकै स्वतः पार्टी आन्दोलनमा पनि फ्रेस लिडरशीप जाने र नेपालको समग्र राजनीतिक मुभमेन्टलाई पनि नयाँपन दिने काम गर्छ । त्यसैले यो महत्वपूर्ण कुरा छ ।

अर्कोतिर हामीले अहिले उठाएका छौं, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता मौलिक अधिकारको कार्यान्वयनको ग्यारेन्टीका निम्ति संविधान कार्यान्वयन, समाजवादी शिक्षाका पक्षमा विश्वविद्यालयमा अखिल क्रान्तिकारीलाई मतदान भन्ने हामीले मूल नारा तय गरेका छौं ।

अर्को हामीले शैक्षिक लोनको मुद्दा र पार्ट टाइम रोजगारीको मुद्दालाई अखिल क्रान्तिकारीको मुद्दा बनाएका छौं । विश्वविद्यालयको शिक्षा प्रणालीमा परिवर्तन, आधुनिक शिक्षा प्रणालीका कुरा उठाएका छौं । वैज्ञानिक शिक्षा प्रणालीको कुरा उठाएका छौं । र, विश्व विद्यालयको भौतिक पूर्वाधारदेखि लिएर परिवर्तनको मुद्दालाई पनि उठाएर हामी स्ववियु निर्वाचनमा जाँदैछौं ।

नेपालको उच्च शिक्षा यति महंगो भएको छ कि डाक्टरी पढ्नका निम्ति ५० लाख रुपैयाँ चाहिन्छ । इञ्जिनियरिङ पढ्नका निम्ति १० लाख भन्दा बढी पैसा चाहिन्छ । टेक्निकल शिक्षा अत्यन्तै महंगो छ । जनरल शिक्षा पढिसकेपछि त्यो सर्टिफिकेट बजारमा बिक्री हुँदैन । त्यसैले अहिले हामीले उठाएको कुरा के हो भने उच्च शिक्षा पढ्नका निम्ति निब्यार्जी रुपमा शैक्षिक लोनको व्यवस्था गरिनुपर्‍यो । भोलि रोजगारी प्राप्त गरिसकेपछि उसले आफ्नो तलबबाट स्टलमेन्टमा पैसा तिर्न सकोस् । दोस्रो कुरा सर्टिफिकेट धरौटी राखेर व्यवसायिक लोनको व्यवस्था गर्नुपर्‍यो ।

नैनसिंह महर, अध्यक्ष, नेपाल विद्यार्थी संघ

नेपाल विद्यार्थी संघको मातृ पार्टी नेपाली कांग्रेसले सबैभन्दा पहिले जननिर्वाचित सरकारको नेतृत्व गरेको थियो । बीपी कोइराला नेतृत्वमा २०१६ सालमा बनेको त्यो सरकार यस्तो परिस्थितिमा बनेको थियो जतिबेला जनताको छोराछोरीलाई उच्च शिक्षा पढ्ने वातावरण थिएन । विश्वविद्यालयको शिक्षा निश्चित केही राणाकालीन व्यक्ति र सामन्तवादीको हातमा थियो ।

त्यतिबेला सुवर्णसमशेरलाई पहिलो उपकुलपति बनाएर त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो । त्यसकारण यो विश्वविद्यालयको सुधार, उन्नयन र यसको समृद्धिमा सबभन्दा बढी जोड रहन्छ । आफूले जन्माएको बच्चा हुन्छ नि, त्यसरी ।

अर्को कुरा पञ्चायतकालमा हाम्रा अग्रजहरुले प्रजातान्त्रिक अभ्यास गर्ने थलो स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई बनाएका थिए । पछि २०२६-२७ सालपछि पञ्चायती व्यवस्थाले यो प्रजातान्त्रिक अभ्यास गर्ने ठाउँ हो भनेर यसलाई कोल्याप्स गर्ने प्रयत्न गर्‍योे । लामो समयसम्म स्ववियु भएन । २०३६-३७ सालमा नेपाल विद्यार्थी संघको अगुवाईमा भएको ठूलो आन्दोलनको वेगले तत्कालीन राजाको पञ्चायती शासनलाई समेत घुँडा टेकाएर हरेक एक-एक वर्षमा स्ववियु चुनाव हुने वैधानिक व्यवस्था हाम्रा अग्रजहरुले नेविसंघको झण्डामुनि गरेका हुन् ।

त्यसकारण यी दुईवटा कुरामा हाम्रो रगतको साइनो छ । हाम्रो लिगेसी छ । त्यसैले स्ववियुको वृत्तिविकासमा हाम्रो पहिलो अधिकार छ । हामी यसको संस्थापक हौं भन्ने हाम्रो दावा हुन्छ । त्यसकारण पनि नेविसंघले स्ववियु निर्वाचन जित्नुपर्छ ।

अब कुरा गरौं हाम्रा एजेण्डामा । यति धेरै लामो समय सफर गर्दा पनि धेरै प्रभावकारी हुन सकेको छैन । योसँगसँगै स्थापना भएका विश्वका अरु विश्वविद्यालयले धेरै फड्को मारेका छन् । ग्लोबलाईजेशनको युगमा, प्रविधिमा र विज्ञानमा विश्वका विश्वविद्यालयले जुन फड्को मारेका छन् त्यति तरक्की त्रिविले गर्नसकेको छैन । त्यसकारण यसमा थप योगदान दिनुपर्ने अवस्था आएको छ ।

यसको भौतिक अवस्था, गुणात्मक अवस्था, यो भित्रका प्राध्यापक र कर्मचारीहरुको नियुक्तिको उचित मापदण्डदेखि लिएर विश्वविद्यालय राजनीतिकरणबाट मुक्त गर्नुपर्छ । त्यसैले नेविसंघको पहिलो बैठक र यसपालिको हाम्रो घोषणापत्रको पहिलो एजेण्डा विश्वविद्यालयलाई राजनीतिकरणबाट मुक्त गर्नुपर्छ भन्ने छ । भन्नाले खुल्ला प्रतिस्पर्धाबाट विश्वविद्यालयको पदाधिकारी नियुक्त हुनुपर्छ ।

दुग्धविकास संस्थानको जिएम बनाउनका लागि उसको चार वर्षको कार्ययोजना चाहिन्छ । उसले टेबुल डिफेन्स लिखित पनि दिनुपर्छ । तर, विश्वविद्यालय जस्तो प्राज्ञिक ठाउँ, जसले देश निर्माण गर्ने भोलिका पिँढीहरुलाई भविष्यको दृष्टा बनेर बाटो देखाउने हो, त्यो ठाउँमा बस्ने पदाधिकारीहरु दलीय भागबण्डामा क्षमतावान होस् कि नहोस् त्यसको ख्याल नगरीकन नियुक्ति गर्ने गरिएको छ । त्यसलाई हटाएर विश्वविद्यालयका पदाधिकारीहरुलाई खुला प्रतिस्पर्धाबाट नियुक्त हुने व्यवस्था हुनुपर्छ भन्ने हाम्रो मुख्य एजेण्डा हो ।

समाजमा जुन किसिमको एउटा व्यक्तिवादी चरित्र हावी भइरहेको छ । मेरा लागि भयो भने कानुन परिवर्तन गरेर भए पनि प्राप्ति गर्नुपर्छ तर अरुले कानुन अनुसार

पाउने चिज पनि पाउनुहुन्न भन्ने सेल्फि स सोसाइटी जसरी निर्माण हुँदैछ त्यसमा करिकुलममा समस्या देखिएको छ । त्यसकारण हामीले भनेका छौं विश्वविद्यालयको शिक्षा नैतिकतामा आधारित मानवतावादी हुनुपर्छ जसले अरुका लागि पनि सोच्न सकोस् । एउटा व्यक्तिमात्र सम्पन्न भएर हुँदैन । सम्पन्न एक व्यक्तिलेमात्र समाज चलाउन सक्दैन । सबैको सहयोग चाहिने भएकाले त्यो शिक्षा नैतिकतामा आधारित हुनुपर्छ भनेका हौं हामीले ।

अरु सँगसँगै सबै विद्यार्थी संगठनहरुको जस्तै नेविसंघले सर्टिफिकेट धितो राखेर राज्यले लोन दिनुपर्छ भनेका छौं । उच्च शिक्षाबाट बञ्चित भएका नेपाली जनताका छोराछोरीका लागि प्रयाप्त सुविधायुक्त लोनको प्रवन्ध गर्नुपर्छ भनेका थियौं हामीले । यो सम्पूर्णरुपले कार्यान्वयन भएको छ । अहिले अलिकति बामे सर्दैछ । देशका लाखौं विद्यार्थीहरुमा यसको कार्यान्वयनको यहसास गराउनको लागि नेपाल विद्यार्थी संघले जोड दिन्छ र सम्पूर्णरुपले कार्यान्वयन गराउँछ ।

सँगसँगै विश्वविद्यालय शिक्षालाई उत्पादनसँग जोड्छ नेविसंघले । राज्यले र विश्वविद्यालयले संयुक्तरुपमा लागू गरेका कलकारखानाहरु, हाइड्रोपावरहरु र उद्योग धन्दाको व्यवस्थापन गरेर हरेक वर्ष उत्पादन हुने श्रमशक्तिलाई नेपालको विकाससँग जोड्ने छौं । यसबाट बेरोजगार हुन नदिने प्रवन्ध मिल्नेछ । जसबाट विश्वविजारमा, थुप्रै खाडी मुलुकहरुमा दिनका दिन हजारौं नेपालीहरु जानुपर्ने छैन । नेपालीको पसिना नेपालमै पोख्ने कुरा हामीले उठाएका छौं, त्यसको गति पनि अघि बढेको छ ।

श्रममा विश्वास गर्न सक्ने गुणस्तरीय शिक्षा, प्रविधियुक्त शिक्षा, व्यवहारिक शिक्षामा जोड दिएका छौं । श्रममा विश्वास गर्ने वैज्ञानिक शिक्षालाई बढावा दिनु जरुरी छ । एमएस्सी पास गरेर, बिई पास गरेर कृषिकर्म गर्नै हुन्न भन्ने जुन किसिमको कन्सेप्ट छ, यसलाई अन्त्य गरेर जीबनलाई व्यवहारिकतिर लैजानुपर्छ र समाजलाई मैले योगदान दिनुपर्छ भन्ने शिक्षाको विकास हुनु जरुरी छ । समयमै भर्ना, समयमै परीक्षा र समयमै नतिजा प्रकाशन हुन सकेको छैन । त्रिविको क्यालेण्डर कार्यान्वयनमा पनि जोड दिनुपर्ने छ ।

सँस्कृत विश्वविद्यालयमा पनि स्ववियु चुनाव हुँदैछ । त्यो चुनावमा नेविसंघ नै विजयी हुनुपर्छ । जर्मनमा १६ वटा सँस्कृत विश्विद्यालयहरु चालु छन् । त्यहाँ सँस्कृत शिक्षालाई वैज्ञानिक पद्दतिमा ढालिएको अवस्था छ । तर नेपालमा गुरुकुल पद्दतीको सँस्कृत शिक्षा थियो त्यसको वैज्ञानिक विकास हुन सकेको छैन । त्यसकारण चिन्तन मनन गरेर यसलाई वैज्ञानिक बनाउनुपर्छ र यसको आधारमा समाजलाई विकसित रुप दिनुपर्छ हामीले भनेका छौं । त्यसको कार्यान्वयनका लागि पनि नेपाल विद्यार्थी संघ विजयी हुनुपर्छ ।

स्वतन्त्र विद्यार्थी युनियन राजनीति मात्र गर्ने थलो होइन । स्ववियु भनेको विद्यार्थीको विकास गर्ने थलो हो । यसमा समाहित भएको विद्यार्थी भोलि वकील बन्न सक्छ, डक्टर बन्नसक्छ, इन्जिनियर बन्नसक्छ, राजनीतिज्ञ बन्नसक्छ, पत्रकार बन्न सक्छ । जेसुकै बनोस् यो ट्रेनिङ इन्सिच्युट जहाँबाट क्याम्पसमा पढेको विद्यार्थीले स्ववियुसँग आफ्नो लिगेसी जोडेर आफ्नो व्यक्तित्व विकास गर्ने हो । त्यसकारण नेतृत्व क्षमता विकास गर्ने थलोको रुपमा पनि स्ववियुलाई विकसित गर्नुपर्छ भन्ने हाम्रा प्रमुख एजेण्डा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment