Comments Add Comment

हृविलचेयर क्रिकेटको पहिलो एसिया कप नेपालमा हुँदै

७ चैत, काठमाडौं । हृविलचेयर क्रिकेटमा पहिलोपटक एसिया कप टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आउँदो अपि्रल अन्तिम साता हुने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान र बंगलादेश सहभागी हुनेछन् ।

त्रिवि मैदान कीर्तिपुरमा हुने खेल चार दिनसम्म चल्ने छ । जसमा समूह चरणका ६ खेलमा शीर्ष रहने दुई टोलीले फाइनल खेल खेल्ने छन् ।

गएको वर्ष कीर्तिपुर मैदानमा नै सफलतापूर्वक नेपाल, भारत र बंगलादेशबीच त्रिदेशीय सिरिज आयोजना गरेको नेपाल हृविलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले पहिलो एसिया कप आयोजना गर्न पाउनु गौरवको क्षण रहेको बताए ।

‘नेपालमा एसिया कप क्रिकेट प्रतियोगिता हुनु खुशीको कुरा हो । गएको वर्ष त्रिदेशीय सिरिज सफल आयोजना गरेकाले नेपालमाथि विश्वास ठूलो छ । उक्त सिरिज नेपालले नै जितेकाले पनि हाम्रो मनोबल उच्च छ,’ बिहीबार प्रतियोगिताको जानकारी गराउन गरिएको पत्रकार सम्मेलनमा उनले भने ।

अन्तर्राष्ट्रिय हृविलचेयर क्रिकेट परिषदका पूर्ण सदस्य राष्ट्रहरु नेपालसहित, पाकिस्तान, भारत, बंगलादेश र इंग्ल्याण्ड साथै दुई एशोसियट सदस्य श्रीलंका र थाइल्याण्डसहितको सहभागितामा नेपालमा नै मंगलबार बसेको बैठकले एसिया कप आयोजनाको योजना अघि सारेको अध्यक्ष छुल्टिम ग्याल्जेनले बताए ।

अन्तर्राष्ट्रिय हृविलचेयर क्रिकेट परिषदका अध्यक्ष तथा पाकिस्तान हृविलचेयर क्रिकेट संघका अध्यक्ष मोहम्मद जिसानले नेपालमा हृविलचेयर क्रिकेटको एसिया कप गर्न पाउँदा खुशी लागेको बताए । उनले भने, ‘यस्तो प्रतियोगिताका लागि नेपाल जति उपयुक्त स्थान अरु छैन । यहाँको सद्भाव र सत्कार ठूलो छ । यहाँका मानिसहरुको सहयोगी भावनाले प्रतियोगिता सफल हुनेमा विश्वस्त छौँ ।’

परिषदका अध्यक्ष जिसानले २०२० मा हृविलचेयर क्रिकेट विश्वकप आयोजना गर्ने तयारीमा आफूहरु रहेको पनि खुलाए । उनले अन्तर्राष्ट्रिय हृविलचेयर क्रिकेट परिषदको सचिवालय नेपालमा नै स्थापना गर्ने तयारी रहेको पनि बताए ।

भारत हृविलचेयर क्रिकेट संघका महासचिव तथा अन्तर्राष्ट्रिय हृविलचेयर क्रिकेट परिषदका उपाध्यक्ष हारुन रसिदले हृविलचेयर क्रिकेटले शारीरिक रुपमा फरक भएका व्यक्तिले पनि केही गरेर देखाउने अवसर पाउने बताए ।

‘अपाङ्गता भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन् भनेर देखाउन सक्नु परिवारमा खुशी दिन सक्नु, नदेखिएको सपना पूरा गर्न सक्नु सानो कुरा होइन । त्यो हृवीलचेयर क्रिकेटले पूरा गरिरहेको छ,’ उनले भने ।

अन्तर्राष्ट्रिय हृविलचेयर क्रिकेट परिषदका सीईओ तथा बंगलादेश हृविलचेयर क्रिकेट संघका टिम म्यानेजर महबुबुर रहमान चौधरीले गएको ६ वर्षदेखि प्रतियोगिता गर्नेबारे कुराकानी र तयारी भइरहे पनि अहिले बल्ल सम्भव हुन लागेको बताए । ‘धेरै मानिसहरुको अझै पनि हृविलचेयरको सहारामा हिँड्नेहरुप्रति सकारात्मक धारणा बनिसकेको छैन । त्यसैले क्रिकेट र खेलको भावनासँगै अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा पनि यस्ता प्रतियोगिताले परिवर्तन गर्छ जस्तो लाग्छ,’ उनले भने ।

अन्तर्राष्ट्रिय हृविलचेयर क्रिकेट परिषदका महासचिव तथा बंगलादेश हृविलचेयर क्रिकेट संघका अध्यक्ष एवं टिम कप्तानसमेत रहेका मोहम्मद मोहसिनले पनि नेपालमा हुने प्रतियोगितामा सबैको सहयोग मिल्नेमा आशावादी रहेको बताए ।

‘हृविलचेयर प्रयोगकर्ताको समस्याहरु विश्वभर नै एकै खाले छन् । दक्षिण एसियामा त हामी सबैको अवस्था उस्तै उस्तै नै छ । त्यसैले क्रिकेटमार्फत हाम्रो अरु क्षेत्रको सुधारमा पनि सहयोग पुग्ने विश्वास लिएको छु,’ उनले भने ।

प्रतियोगिताको पुरस्कार राशी र अरु केही तयारी बाँकी नै रहेको नेपाल हृविलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम ग्याल्जेनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment