Comments Add Comment

भारु सटहीमा भारत उदासिन, टोली नै पठाएन


१२ फागुन, काठमाडौं । भारतले गरेको भारु ५ सय र १ हजारको नोट सटहीको लागि गत बुधबारसम्म आइपुग्ने भनेको भारतीय टोलीले फेरी पनि भाका सारेको छ ।

‘वहाहरु फेब्रुअरी २० र २१ सम्म (गत बुधबारसम्म) आउने भन्ने खबर थियो, तर फेरी नेपाल आउँने मिति सार्नु भएको छ,’ राष्ट्र बैंकका विदेशी विनिमय बिभागका प्रमुख तथा कार्यकारी निर्देशक भिष्म ढुंगानाले भने ।

बुधबारको सट्टामा केही समयपछि भारतीय टोली आउँने जानकारी पाएको राष्ट्र बैंकलाई टोली अब कहिले आउँने हो र टोलीमा को–को आउँने भन्ने जानकारी पनि दिइएको छैन् ।

बुधबार आउने भनेको टोलीमा पनि क–कसको सहभागिता रहने थियो भन्ने कुरा यसअघि पनि राष्ट्र बैंकलाई दिइएको थिएन । यता, केही समय अघि भारतको दुई दिने भ्रमणमा रहेको नेपाल राष्ट्र बैंकको टोलीले भारतीय अर्थमन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरु सम्मिलत टोलीलाई नोट सटही प्रणाली सम्बन्धि प्रतिवेदन पनि बुझाएको थियो । तर, भारतले नेपाल आएर यहाको समस्या बुझेपछि नै सटही प्रणाली बारेमा थप छलफल गरिने जानकारी दिएको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकले एक जनाबाट अधिकतम २५ हजार भारु साट्ने मोडालिटी भारतमा पेश गरेको थियो । मोडालिटी स्वीकृत भएमा  १ महिनाभित्रमा भारु सटही गर्न सकिने दाबी राष्ट्र बैंकले गर्दै आएको थियो ।  । भारत सकारात्मक देखिएमा सर्वसाधारणलाई भारु बैंकमा जम्मा गर्न केही साताको अवधि दिइने बताइएको थियो ।

मोडालिटी अनुसार  बैंकहरुले यसरी जम्मा भएको रकम १ देखि २ सातामा राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने र राष्ट्र बैंकले भारतीय रिर्जभ बैंकमा यस्तो रकम बुझाएर त्यहाबाट स्वीकृत हुने नोटको मात्र सटही सुविधा दिइने योजना बनाइएको थियो ।

बैंकहरुले सर्वसाधारणबाट भारु लिँदा नोटमा उल्लेख नम्बर पनि साथै टिप्नुपर्ने व्यवस्था मोडालिटीमा छ ।  भारतीय केन्द्रीय बैंकले जम्मा भएको नोट जाँच बुझ गर्ने र नक्कली भएमा, च्यातिएको भएमा त्यस्तो नोट नसाट्ने उल्लेख गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment