Comments Add Comment

कविता: आमा र शहर     

आमा, तिमीले झमक्क साँझ पर्दा
पानसमा बालेको साँझबत्तीभन्दा चहकिलो सपना बोकेर
झिसमिसेमा हिँडेकी हुँ म सपनाको शहर
नसोच्नू आमा,
तिम्री छोरी यो शहरको झिलिमिलीमा रमाइरहेकी छे ।

तिमीले नाङ्गो पैंतालाले हिँडेको
त्यो गाउँबेंसीको बाटोभन्दा पनि
निकै कठिन छ यो शहरको यात्रा
आमा, यो शहरमा सबै चिज छ
छैन त केवल तिम्रो न्यानो माया
आजभोलि मलाई यो शहरको झिलिमिली
त्यो गाउँको टुकीभन्दा पनि मधुरो लाग्छ ।

तिम्रो त्यो कलेटी परेको ओठभन्दा
फुस्रो लाग्छ यो शहर मलाई
तिम्रो त्यो आधा फुलेको आधा नफुलेको केशको बीचमा
काटिएको सिउँदोभन्दा उजाड लाग्छ यो शहर मलाई
तिम्रो निधारमा चाउरिएका रेखाभन्दा धेरै गुजुमुज्जिएका
यो शहरका गल्लीहरुमा भौंतारिन्छन् मेरा सपनाहरु ।

कति भौंतारिएँ होला भोकै-प्यासै यो विरानो शहरमा
नसम्झिनू आमा, छोरी यो शहरमा मीठो-मसिनु खाएर बसेकी छे
दिनभरि सयौं रेस्टुराको बाटो भोकै दौडाउने शहर हो यो
तिमीले पकाएको गुन्द्रुक र ढिँडो
यो शहरको कुनै तारे होटलमा भेट्दिनँ म
हो, त्यसैले आजभोलि मलाई मन पर्दैन यो शहर
जहाँ हर रात मेरो सपनाहरु आँखाका डिल हुँदै सिरानीमा खस्छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment