Comments Add Comment

झरना भन्छिन्–‘छोरीलाई हिट गराउन अनमोललाई लिएकी होइनँ’

सुहानाले मेरो न्यास्रो मेटिदिनेछिन्

दुई दशक भन्दा बढी समयदेखि चलचित्र क्षेत्रमा नायिकाको रुपमा चर्चामा रहेकी झरना थापा अहिले निर्देशक बनेकी छिन् । उनको निर्देशनमा बनेको पहिलो चलचित्र ‘ए मेरो हजुर २’ निकै सफल भएको थियो । उनको निर्देशनमा बनेको दोस्रो चलचित्र ‘ए मेरो हजुर ३’ नयाँ वर्षको अवसर पारेर चैत २९ गतेबाट रिलिज हुदैछ । यो चलचित्रमा नायक अनमोल केसी र नव–नायिका सुहाना थापाको मुख्य भूमिका छ । सुहाना निर्देशक थापाकी छोरी हुन् ।

छोरीलाई चलचित्र क्षेत्रमा किन ल्याउनुभयो ? भन्ने प्रश्नमा झरनाले भनिन्–‘मैले लामो समय बिताएको यो क्षेत्रमा मेरो छोरीले पनि काम गरोस् भन्ने चाहाना थियो । तर, उसले यति चाडै नै आउने रहर गरेकी थिइन ।’ सबै योजना बिना नै भयो ।’ चलचित्रको घोषणा गर्दासम्म पनि सुहानालाई आफू चलचित्रमा काम गर्दैछु भन्ने थाहा थिएन । झरना भन्छिन्–‘हामीले सुहानालाई सरप्राइज दिएका थियौँ ।’

सुहानाको चलचित्रमा काम गर्ने कुनै सोच पलाएको थिएन । चलचित्रमा काम गर्ने भनेपछि सुहानाले झरनालाई प्रश्न गरेकी थिइन्–‘यति छिट्टै किन ?’ झरनाले नै सुहानालाई फकाएर चलचित्रमा काम गर्न राजी गराइन् । सुहानाले चलचित्रमा काम गर्नु अगाडि फोटोसुट पनि गरेकी थिइनन् । झरना अगाडि भन्छिन्–‘चलचित्रका लागि खासमा सुहाना तयार नै थिइनन् । तर, मैले तिम्रो लागि सही समय आएको छ । सायद, यहीबाट नै तिम्रो भाग्य खुल्न पनि सक्छ भनेपछि उनी काम गर्न राजी भइन् ।’ चलचित्रमा सुहानाको जोडी नायक अनमोल केसीसँग जोडिएको छ । अनमोल अहिलेका नम्बर एक कलाकार हुन् । उनको क्रेज दर्शकमा अत्याधिक छ । ‘के आफ्नो छोरीलाई सेफ ल्यान्डिङ गर्न अनमोलसँग जोडी बनाउनु भएको हो ? भन्ने प्रश्नमा झरनाले भनिन्–‘ म त यो कुरालाई सोझै नकार्छु । मैले पहिला सुहानालाई लिएर उसलाई हिट गर्न अनमोललाई लिएकी होइनँ । अनमोल छनोट भएपछि मात्रै सुहाना चलचित्रमा भित्रिएकी हुन् ।’

झरना यो चलचित्रमा सुहानालाई अभिनय गराउनुको मुख्य कारण निर्माता भूवन केसी र वितरक मनोज राठी भएको बताउँछिन् । ‘मैले त सुहानाको पढाई सकियोस् अनि मात्र यो क्षेत्रमा ल्याउने सोच बनाएकी थिएँ । तर, भुवन दाई र मनोजजीले सुहानालाई खेलाउनुपर्छ भनेपछि मात्रै सुहानाले काम गर्न तयार भएकी हुन् ।’ चलचित्रमा अनमोल भएका कारण सुहानालाई धेरै सहयोग भएको भने झरना स्विकार्छिन् । उनी भन्छिन्–‘अहिलेको स्टार कलाकारसँग जोडी हुँदा सुहानालाई धेरै कुरामा प्लस भएको छ । त्यो मान्न म तयार छु ।’

चलचित्रको कथा तथा पटकथा तयार गरिरहँदा भने झरनाले चलचित्रको पात्रमा अनमोल र सुहाना कसैलाई देखेकी थिइनन् । उनको दिमागमा नयाँ कलाकार लिएर काम गर्ने सोच पलाएको थियो । ‘अनमोल र सुहाना त मेरो दिमागमा आएका पनि थिएनन् । तर चलचित्रका लागि उनीहरु नै जुरेको रहेछन् ।’

सुहानाको कामबाट निकै सन्तुष्ट छिन् झरना । उनले भनिन्–‘आफ्नो छोरी हो, राम्रो भन्यो भन्लान् । तर, जब चलचित्र रिलिज हुन्छ नि सबैले उसको कामको तारिफ गर्नेछन् ।’ अहिले चलचित्रको सार्वजनिक टिजर र गीतबाट सुहानाको निकै तारिफ भइरहेको छ । छोरीले पाएको प्रतिक्रियाबाट झरना पनि दंग छिन् । ‘सुहानाले मेरो सफलता भन्दा माथिको सफलता पाउने छिन्’, झरनाको विश्वास बोलिरहेको छ ।

धेरैले गीत र टिजर हेरेर सुहानालाई झरनासँग दाँजिरहेका छन् । सुहाना आफ्नो आमा झरना जस्तै देखिएको प्रतिक्रियाहरु पनि आइरहेका छन् । यसमा पनि खुसी नै छिन् झरना । ‘उहाँहरुले मलाई याद गर्नुभएको रहेछ र त सुहानामा पनि मलाई देख्नुभयो’, झरनाले भनिन्, ‘सुहानाले दर्शकलाई मेरो न्यास्रो मेटाइदिनेछिन् ।’

सुहाना ‘ए मेरो हजुर ३’ को रिलिज पश्चात् पुनस् अमेरिका फर्किनेछिन् । अब भने ब्याचलर सकेर मात्र काम गर्ने सुहानाको चाहाना छ । त्यो चाहानालाई झरनाले पनि स्विकारेकी छिन् । झरना भन्छिन्–‘अब भने उसले पहिले आफ्नो पढाई सक्नेछिन् । त्यसपछि हाम्रो व्यानरमा मात्र काम गर्नु पर्छ भन्ने छैन । राम्रो टिम र राम्रो व्यानरबाट अफर आएको खण्डमा हामी उसलाई रोक्दैनौ ।’ झरना सुनिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment