Comments Add Comment

भारतीय हस्तक्षेपको प्रतिरोध गर्दै दशगजामा ढुंगा हानाहान (भिडियोसहित)

कञ्चनपुरको आनन्दबजारमा एसएसबीको दादागिरी

२६ फागुन, कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरुले कञ्चनपुरस्थित नेपाल-भारत सीमा क्षेत्र आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीइबासीहरु प्रतिरोधमा उत्रिएका छन् ।

सीमा क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेपाली र भारतीयबीच झडप भएको छ । घटनाका कारण सीमाक्षेत्रमा तनाव बढेको छ ।

आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको हो ।

यो विवादले उग्र रुप लिँदा बुधबार साँझ एसएसबीका जवानले नेपाली भूमिमा छिरेर नेपालीहरुलाई कुटपिट गरी घाइते बनाएका थिए ।

भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा बिहीबार बिहान ९ बजे स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका छन् । उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

लगत्तै एसएसवीका जवानहरु नेपालपट्टि आएर प्रदर्शन गरिरहेका केही नेपालीलाई कुटपिट गरेपछि तनाव झनै बढेको छ । त्यसपछि आनन्द बजारका स्थानीयहरुले दशगजामा ढुंगामुढा सुरु गरेका छन् ।

अहिले भारतीय र नेपाली पक्षबीच सीमा वारिपारी ढुंगामुढा भइरहेको र दुवैपक्षका सुरक्षा अघिकारीहरु समन्वयको प्रयासमा रहेका छन् । नेपालीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयमता अपनाउन भनिरहेका छन् ।

आनन्दबजार क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका इन्सपेक्टरको नेतृत्वमा सुरक्षाकर्मी परिचालित छन् । उनीहरुलाई सहयोगका लागि महेन्द्रनगरबाट थप प्रहरी पठाइएको सुदूरपश्चिमका डीआइजी रोवेन्द्रसिंह देउजाले जानकारी दिए । उनले दुवै पक्षका सुरक्षाकर्मीबीच समन्वय भइरहेको र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment