+
+
Shares

सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारे लेखा समितिले छलफल बोलायो

अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको र यो प्रक्रियासंगत रूपमा त्रुटिपूर्ण रहेको भनेर लेखा समितिमा उजुरी परेको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते १४:०७

६ मंसिर, काठमाडौं । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे संसदीय समितिले चासो देखाएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा यस सम्बन्धमा उजुरी परेको छ ।

टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको र यो प्रक्रियासंगत रूपमा त्रुटिपूर्ण रहेको भनेर उजुरी परेको हो ।

उजुरीकर्ताले ठेक्का रद्द गरेर अगाडि बढ्दा राज्यलाई नै घाटा हुने जिकिर गरेका छन् ।

यस्तो उजुरी प्राप्त भएपछि समितिले उक्त उजुरीउपर छलफल गर्न लागेको हो । यसका लागि यही मंसिर ८ गते(मंगलबार) बिहान समितिको बैठक राखिएको छ ।

मंगलबार बिहान साढे ९ बजेका लागि बोलाइएको समिति बैठकको कार्यसूची ‘सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजना उपर छलफल’ गर्ने रहेको छ ।

साथै, सोही दिन नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्‍चार सञ्‍जाल र स्काडा प्रणाली विस्तार सम्बन्धमा समितिमा प्राप्त उजुरीउपर छलफल गर्ने कार्यसूची पनि छ ।

समिति सभापति भरतबहादुर खड्काले प्राप्त उजुरीका विषयमा छलफल गर्न लागिएको जानकारी दिए ।

सभापति खड्काले अनलाइनखबरसँग भने, ‘प्राप्त उजुरी अध्ययन गर्छौं । तथ्य केलाउँछौं । सरोकारवालासँग छलफल गर्छौं । र, तथ्य हेरेर अगाडि बढ्छौं ।’

आयोजनाले ८ जुन २०२६ मा प्रकाशित सूचनामार्फत सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो ।

तर, कात्तिक दोस्रो साता सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३(२) मा रहेको व्यवस्थाअनुसार उक्त ठेक्का रद्द गरिएको आयोजनाले जनाएको छ ।

ठेक्का रद्द गर्ने निर्णयबारे आयोजना निर्देशकद्वारा जारी सूचनामा बोलपत्रदातालाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरिएको छ ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेका बेला ठेक्का रद्द गरिएको भनेर उजुरी परेपछि संसदीय समितिले चासो व्यक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?