७ चैत, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादमा सर्वोच्च अदालतको पूर्ण इजलासमा बहस सकिएको छ । फैसला भने भोलि मात्र आउने भएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासमा भएको बहसमा डीआईजी जयबहादुर चन्द पक्षका वकिलले बहस गरेनन् । सोमबार सरकारी वकिलको तर्फबाट दुई उपमहान्यायाधिवत्ता टीकेन्द्र दाहाल र रेवती त्रिपाठीले बहस गरेका छन् ।
चन्द पक्षका वकिलहरु अनुपस्थित भएपछि माइकिङ गरेर नाम बोलाइएको थियो । तर, सुशील पन्त, प्रेमबहादुर खड्का, महादेव यादव, सतिश खरेल लगायत वरिष्ठ अधिवक्ताहरु गएनन् ।
रिट निवेदन कपिलदेव ढकाल र डीआईजी नवराज सिलवालका वकिलले आइतबार नै बहस गरेका थिए । सिलवालका तर्फबाट बद्रीबहादुर कार्की, तुलसी भट्ट, भीमार्जुन आचार्य र टिकाराम भट्टराईले बहस गरेका थिए ।
बहस सकिएपनि प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतको बाषिर्क प्रतिवेदन बुझाउन राष्ट्रपति कार्यालय जानु परेका कारण सोमबार फैसला आउन सकेन ।
भोलि फैसला सुनाउने तय भएको रिट निवेदक अधिवक्ता ढकालले जानकारी दिए ।
सरकारले माघ ३० गते डीआईजी चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो ।
तर, ढकालले दायर गरेको रिटमा प्रधानन्यायाधीश कार्कीको एकल इजलासले त्यही दिन निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो ।
प्रहरी प्रमुखका अर्का दावेदार सिलवालले पनि माघ ३० गते नै अर्को रिट दायर गरेका थिए । त्यसमा पनि प्रधानन्यायाधीश कार्कीकै इजलासले सुुनुवाई गर्दै चन्दलाई पदस्थापन नगर्न अर्को आदेश दिएको थियो ।
फागुन १८ गते हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो ।