काठमाडौंको वायु प्रदूषणलाई समयमै नियन्त्रण नगरे काठमाडौंवासीको स्वास्थ्यमा गम्भीर असर पार्ने विशेषज्ञले बताउँदै आएका छन् । पछिल्लो समयमा वायु प्रदूषणका कारण काठमाडौंका अस्पतालहरूमा श्वास प्रश्वास र मुटुरोगीको संख्या उल्लेख्य रूपमा बढेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार उपत्यकामा बस्ने हरेक मानिस वायु प्रदूषणको सिकार भइरहेका छन् । परिषद्को अध्ययनअनुसार उपत्यकामा घरभित्रै बस्ने मानिसमा पनि फोक्सो, मुटु, आँखा र छाला रोगको जोखिम बढेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

वायु प्रदूषणका कारण लाग्ने विभिन्न रोगबाट विश्वभर बर्सेनि ३५ देखि ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भइरहँदा त्यसबाट बच्न अहिले नै कुनै ठोस प्रयास सुरु नभएकाले सन् २०६० सम्ममा यो संख्या ६० देखि ९० लाखसम्म अर्थात् प्रत्येक चार–पाँच सेकेन्डमा एक व्यक्तिको मृत्यु हुने अनुमान गरिएको छ ।

‘दि इकोनोमिक कन्सेक्वेन्सिज अफ आउटडोर एयर पोलुसन’को आर्थिक सहयोग तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय संगठन (ओईसीडी) को प्रतिवेदनले २०१६ मा वायु प्रदूषणका कारण आगामी ४५ वर्षमा २० करोड मानिसको मृत्यु बताएको छ ।

यस्तै धुलो–धुँवाले काठमाडौंको वायुमण्डल ध्वस्त भइरहेकै बेला विश्व स्वास्थ्य संगठनको ‘इन्टरभेन्सन्स फर हेल्दी इन्भायरोमेन्ट’ विभागका संयोजक डा. कार्लोस डोराले उपत्यकामा धूमपानले (१६ हजार) भन्दा झन्डै दोब्बर मानिसको प्रदूषित हावाले (३० हजार) ज्यान गइरहेको तथ्यांक सार्वजनिक गरेका छन् ।

मानिसले श्वास लिँदा नाक मुखबाट छिरी असर गर्ने प्रदूषणलाई पीएम भनिन्छ । प्रदूषणको मात्रा बढी हुनुको कारण मानव सिर्जित प्रदूषण भएको पाइएकाले त्यसको नियन्त्रणका लागि सरकारले काम थालनी गरेको छ । विभागले दिएको तथ्यांकअनुसार उपत्यकामा सवारीसाधनबाट निस्कने धुँवाले पीएम २.५ को ३८ प्रतिशत भाग लिन्छ ।

यसैगरी सडकको धुलोका कारण २५ प्रतिशत, कृषिका कारण १८ प्रतिशत, इँटाभट्टाका कारण ११ प्रतिशत, घरबाट खाना पकाउँदा वा अन्य कारणले ३ प्रतिशत, डढेलो वा फोहोर जलाउने कारणबाट एक प्रतिशत, उद्योगधन्धाबाट तीन प्रतिशत र अन्य कारणहरूबाट एक प्रतिशत पीएम २.५ को मात्रा वायुमण्डलमा फैलिन्छ । पीएम २ दशमलव ५ ले मानिसलाई विभिन्न रोग लाग्ने र त्यसबाट अन्य रोग सिर्जित भई मृत्युसम्म हुन्छ । गर्मीभन्दा जाडोयाममा धेरै वायु प्रदूषण हुने गरेको विभागका सिनियर डिभिजन केमिस्ट शंकरप्रसाद पौडेलले बताए ।